PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र' एवं 'राजसंस्था' हटाउन आयोगले दिएको निर्देशनलाई राप्रपाले भन्यो पूर्वाग्रही



पहिलोपोस्ट

पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र' एवं 'राजसंस्था' हटाउन आयोगले दिएको निर्देशनलाई राप्रपाले भन्यो पूर्वाग्रही
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचन आयोगले पूर्वाग्रही भएर पार्टीको विधान संशोधन गर्न निर्देशन दिएको आरोप लगाएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको बैठकले आयोगले माघ २ गते पठाएको पत्रको सम्बन्धमा निर्णय गर्दै यस्तो बताएको हो।

आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धि ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्न भन्दै पत्र पठाएको थियो। राप्रपाले सो पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ।

त्यस्तै,  आयोगको पत्रको दफा ४ मा उल्लेख भएको राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचिमा समेत उल्लेख गर्न भनि आयोगले पठाएको पत्र राप्रपाको मूल्य र मान्यता विपरीत रहेको बैठकले ठहर गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पार्टीले प्रयोग गर्दै आएको, निर्वाचन आयोगले समेत मान्यता प्रदान गरेको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हको रुपमा समेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ।’

निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समेत निर्णय बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell