
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीको महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय कमिटी र पदाधिकारीहरुको अन्तिम टुंगो लगाउने तयारी गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच बुँदे सर्कुलर जारी गर्दै माघ २७ गते केन्द्रीय कमिटीको बैठक बस्ने र सोही बैठकबाट बाँकी केन्द्रीय कमिटी थप गर्दै पदाधिकारी र पोलिटव्यूरो टुंग्याउने जानकारी दिएका छन्।
प्रचण्डले जारी गरेको सर्कुलरमा बैठक २७ माघबाट काठमाडौंमा बस्ने उल्लेख छ।
'उक्त बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरुको निर्वाचन गर्नेछ,' सर्कुलरमा भनिएको छ, 'सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजन सहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्नेछ र तात्कालीन परिस्थितिको सन्दर्भमा अन्य आवश्यक निर्णय लिनेछ।'
प्रचण्डले केन्द्रीय समितिको आगामी बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यस अघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुले नै यथावत् इन्चार्जको जिम्मेवारी सम्हाल्ने जनाएका छन्।
त्यस्तै, प्रदेश समितिहरूले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीध सम्पन्न समेत गर्न प्रचण्डले जारी गरेको सर्कुलरमा निर्देशन दिइएको छ।
त्यस्तै, पार्टी पङ्क्तिलाई प्रचण्डले निर्वाचनको तयारीमा जुट्नसमेत निर्देशन दिएका छन्।
'आगामी वर्ष २०७२ निवाचन वर्ष हुने कुरा स्पष्ट नै छ। त्यसैले यसका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माणको कार्यका लागि पहल शुरू गर्न निर्देशन दिइन्छ,' सर्कुलरमा भनिएको छ।
उनले माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी बनाउन समन्वयात्मक ढंगले परिचालित हुन र गर्न निर्देशनसमेत दिएका छन्।
माओवादी केन्द्रको महाधिवेशन पुस ११ देखि सुरु भई १८ गते सकिएको थियो। १९ गते नवनिर्वाचित केन्द्रीय कमिटीले सपथ लिँदै प्रचण्डलाई अध्यक्षमा निर्वाचित गर्दै सकिएको थियो। केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि तय भएको थियो। २५ गतेका लागि तय भएको बैठक पार्टीका केन्द्रीय सदस्य तथा प्रचण्ड लगायतका केन्द्रीय कमिटीका सदस्यहरुमा संक्रमण देखिएपछि स्थगित भएको थियो। बैठक पुन: माघ ८ गतेका लागि बोलाइएको थियो। माघ ८ गतेको बैठक पनि कोभिड-१९ को संक्रमणकै कारण स्थगित भएको थियो।
पुस १९ गतेको केन्द्रीय कमिटीको बैठकमा महासचिवका आकांक्षी चीनमा उपचाररत वर्षमान पुन 'अनन्त' फर्किएपछि बाँकी पदाधिकारी टुंग्याउने जनाएका बताइएको थियो। अनन्त सोमवार नेपाल फर्किँदै छन्।