PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एक सय ६० रुपैयाँ पर्ने एप्रोन १ हजार ६० रुपैयाँमा किनियो : ४० लाख अनियमितता गरेको सार्वजनिक लेखा समितिको ठहर



एम बम

एक सय ६० रुपैयाँ पर्ने एप्रोन १ हजार ६० रुपैयाँमा किनियो : ४० लाख अनियमितता गरेको सार्वजनिक लेखा समितिको ठहर

कैलाली : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशु चिकित्सकका लागि आवश्यक पर्ने एप्रोन खरिदमा झन्डै ४० लाख रकम भ्रष्टाचार गरेको सार्वजनिक लेखा समितिले ठहर गरेको छ। गत आर्थिक वर्षको बजेटबाट मन्त्रालयले ४ हजार ५ सय थान पशु चिकित्सकले प्रयोग गर्ने डिस्पोजल एप्रोन खरिद गरेको थियो।

बजार मूल्य १ सय ६० रुपैयाँ पर्ने डिस्पोजल एप्रोन मन्त्रालयले १ हजार ३८ का दरले खरिद गरेको पाइएको सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले जनाएको छ। कृषि मन्त्रालयले सार्वजनिक खरिद ऐनलाई समेत मिचेर एप्रोनका लागि ४६ लाख ७१ हजार रुपैयाँ जीएच मेडिहेल्थ कन्सर्न प्रालि, भक्तपुरलाई भुक्तानी दिएको कागजात समितिले फेला पारेको छ। उक्त एप्रोनको बजार मूल्य सात लाख २० हजारमात्र हुन जाने समितिको ठहर छ।

‘मन्त्रालयले सार्वजनिक खरिद ऐनलाई समेत मिचेको छ,’ सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले भनिन्, ‘त्यो त प्रक्रियागत कुरा भयो, मन्त्रालयले ऐन मिचिसकेपछि आर्थिक अनियमितता समेत गरेको पाइयो। बजारमा बढीमा १ सय ६० रुपैयाँमा पाइने एप्रोनलाई १ हजार ३८ रुपैयाँका दरले खरिद गरेको हाम्रो लामो अनुसन्धानबाट देखिन आएको छ।’

मन्त्रालयलाई जवाफ माग गर्दा समेत चित्तबुझ्दो जवाफ नआएकाले कारबाहीका लागि प्रदेश सरकार र अख्तियारलाई लेखी पठाउने समितिले निर्णय गरेको छ।

प्रदेश सरकार मातहतका अन्य मन्त्रालयमा समेत यस्ता थुप्रै अनियमितता भइरहेकाले दोषीले उन्मुक्ति पाउन नहुने प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सदस्य पठानसिंह बोहराको भनाइ छ।

‘यो त एउटा उदाहरण मात्रै हामीले देखाएका हौँ,' उनले भने, ‘यसरी अनुसन्धान गर्ने हो भने यस्ता अनियमितताका घटना धेरै छन्, त्यसैले जनताको करमाथि यसरी अनियमितता गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ भनेर प्रदेश सभा सदस्यको हैसियतले म माग गर्न चाहन्छु।’

तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने प्रक्रिया पुर्‍याएर नै एप्रोन खरिद गरिएको दाबी गर्दै एक विज्ञप्ति जारी गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत खर्च शीर्षक नम्बर २२५२२ मा चार करोड रुपैयाँ बजेट राखेको थियो।

जसमध्ये कृषि मन्त्रालयले जीएच मेडिहेल्थ कन्सर्न प्रालिसँग एप्रोनसहित अन्य सामग्री समेत गरी जम्मा १ करोड ११ लाखका सामग्री खरिद गरेको छ। मन्त्रालयको विज्ञप्तिमा एप्रोनमा मात्रै भ्याटसहित ५२ लाख ७८ हजार रकम खर्च भएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell