PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'श्याम सिंह रोय' अर्थात् विद्रोहको एउटा झिल्‍का [समीक्षा]



सहयोग रञ्जित

'श्याम सिंह रोय' अर्थात् विद्रोहको एउटा झिल्‍का [समीक्षा]

चित्रकलामा रङ्गिन चाहने युवतीको कथामा सर्ट मुभी बनाइरहेका वासु (नानी) यसरी सफल हुन्छन् कि ठूलो पर्दाका निर्माता उनका पछि लाग्न थाल्छन्। र, त्यसैबिच उनको करिअरमा ब्रेक लाग्नेगरी आरोप लाग्छ - प्लेगारिज्मको। अर्थात्, बौद्धिक चोरी। उनीविरुद्ध मुद्दा चल्छ। वासु अचम्मित हुन्छन् - ती लेखकका कुनै पनि कृति उनले पढेका छैनन् जसको कथा चोरीको आरोप लागिरहेको छ। श्याम सिंह रोय, बंगाली लेखकका कथा उनका फिल्म दुरुस्त आएपछि पुस्तकका प्रकाशकले उनीविरुद्ध मुद्दा दायर गरेका हुन्छन्।

फिल्म निर्देशनमा करिअर बनाउन लागेका युवक र वामपन्थी विचारधाराबाट प्रभावित लेखक/अभियन्ताको संघर्षलाई समानान्तर रुपमा पेश गरेका छन् निर्देशक राहुल साङ्कार्त्येनले। तेलगु भाषाको फिल्म 'श्याम सिंह रोय'ले दुई कालखण्डलाई जोडेका छन् मनोवैज्ञानिक रोमान्टिक फिल्मबाट। तर, फिल्मको केन्द्रीय कथा भने सन् १९७० को दशकमा आधारित छ। जातीय विभेद, धर्मका नाममा चलेका आडम्बर र त्यसविरुद्धको विद्रोह गराउन कथामा श्याम सिंह रोयको जन्म हुन्छ। दक्षिण भारतबाट विद्रोह गरेर पूर्वी भारतमा आएपछि जन्मिएको हो श्याम सिंह रोय का कथा जसको 'अनर किलिङ' हुन्छ आफ्नै दाजु र भाइबाट। त्यतिखेरको कथा भनिए पनि भारत र नेपालमै पनि धर्म, सम्प्रदाय, जात जातिको विभेद यतिखेर पनि उही रुपमा छ। दलितका लागि र गैर दलितका लागि अलग अलग धारो सरकारी स्तरमा नै बनेका छन् नेपालमा। फिल्मले त्यही सन्दर्भलाई प्रस्तुत गर्दा आधा शताब्दी अघिको कथा भन्नुपर्ने स्थिति छैन।

पुनर्जन्ममा आधारित भएर भारतीय फिल्म उद्योगले धेरैखाले सफल फिल्म बनाइसकेको छ। तर, ती फिल्मको तुलनामा अलग देखिन्छ - श्याम सिंह रोय। दुई युगलाई गजबले प्रतिनिधित्व गराएका छन् निर्देशक साङ्कार्त्येनले - छापा युग र डिजिटल। पहिलो जन्मका पात्र अखबार कम्पोजिटरदेखि प्रिन्टर र पुस्तक लेखकका रुपमा स्थापित हुन्छन् भने दोस्रो जन्मका पात्र सर्ट मुभीबाट फिचर फिल्ममा। रोचक यो पनि हो कि कार्ल मार्क्सबाट प्रेरित मुल पात्रको पुनर्जन्म गराइन्छ। कतै विरोधाभास छ त यहीँ। कम्युनिस्ट नेताको पूजापाठ र धार्मिक राजनीति नेपालमा स्थापित नै भएकाले, अनौठो नलाग्न पनि सक्छ। 'पुनर्जन्म' आफैँमा विवादित विषय भए पनि त्यसलाई स्थापित गर्न कथाकारले नयाँ शैली अपनाएका छन्। फिल्मको यही 'सस्पेन्स' नै वासुको मुद्दालाई पल्ट्याउने आधार बन्छ।   

तेलगुका चर्चित अभिनेता नानी (घण्टा नविन बाबु) फिल्ममा दोहोरो भूमिकामा छन् भने, साइ पल्लवी, कीर्ति सेट्टी लिड रोलमा छन्। २४ डिसेम्बर २०२१ मा थिएटर रिलिज भएको फिल्म नेटफ्लिक्समा २१ जनवरी २०२२ मा अपलोड भएको छ।

पर्याप्त प्रेम र द्वन्द्व समेटिएको भए पनि फिल्ममा 'दक्षिण भारतीय' फिल्मको 'मसलेदार फाइट' हेर्नुपर्ने झन्झट छैन। फिल्मका प्लटहरु सहज रुपमा बगेको छ। सन् १९९० को दशकमा बलिउडका स्थापित रोमान्टिक फिल्मले नयाँ अवतार लिएको अनुभूति हुनसक्छ श्याम सिंह रोय हेर्दा। सन् १९९० का बलिउड फिल्म रुचाउनु हुन्छ? हुन्छ भने तपाईँका लागि यो फिल्म खास लाग्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell