
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले रेलिगेशन जोनमा संघर्ष गरिरहेको घरेलु टोलीमाथि १-० गोलअन्तरको साँघुरो जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रान्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको ८७ औं मिनेटमा नेदरल्याण्डका मिडफिल्डर फेरान टोरेसको पासमा गोल गरे।
गएराति नै सम्पन्न अर्को खेलमा रियल मड्रिडले एल्चेसँग संघर्षपूर्ण बराबरी गर्यो। खेलमा दुई गोलले पछि सकेको अवस्थाबाट पुनरागमन गर्दै एल्चेसँग अंक बाँडेको हो।
सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली २-२ को बराबरीमा रोकिएको हो। खेलको ४२ औं मिनेटमा लुकास बोयेको गोलमा अग्रता बनाएको एल्चे पहिलो हाफमा एक गोलले अघि रह्यो। पहिलो हाफमा रियलका करिम बेन्जेमा पेनाल्टीमा पाएको अवसरमा चुकेका थिए।
दोस्रो हाफमा पेरे मिल्लाले गोल थप्दै अग्रता दोब्बर बनाए। यता दवाबमा आएको घरेलु टोलीले ८२ औं मिनेटमा पेनाल्टीको अवसर पायो। जसलाई सदुपयोग गर्दै लुका मोड्रिचले गोल गरे। त्यस्तै इन्ज्युरी समयमा इडर मिलिटाओलो गोल थप्दा खेल २-२ को बराबरीमा रोकिएको हो।
बराबरीका वाबजुत रियल लिगको शीर्षस्थानमा कायम छ। रियलको २२ खेलबाट ५० अंक छ भने दोस्रो स्थानको सेभियाको समान खेलबाट ४६ अंक छ। जितसँगै बार्सिलोना भने २१ खेलबाट ३५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ।