PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नर्वेमा तालिवानी प्रतिनिधिहरु, युरोपसँगको वार्तामा के होला?



पहिलोपोस्ट

नर्वेमा तालिवानी प्रतिनिधिहरु, युरोपसँगको वार्तामा के होला?
EPA

अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेपछि पहिलो पटक युरोपेली अधिकारीहरुसँग तालिवानीले संवाद अगाडि बढाएका छन्। तालिवानी सदस्यहरु यतिखेर नर्बेमा छन्।

वार्ता तीन दिनको हुँदैछ जसमा अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटको विषयले ठाउँ पाउने बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्रसंघले ९५ प्रतिशत अफगानीसँग पर्याप्त खाना समेत नरहेको सार्वजनिक गरिसकेको छ। 

युरोपमा एकथरी समूह भने तालिवानीसँग छलफल हुन लागेको भन्दै विरोधमा उत्रिएको छ। अफगानिस्तानामा मानवीय संकट गहिरिएको भन्दैमा तालिवानीसँग छलफलमा बस्नु गलत रहेको उनीहरुको टिप्पणी छ।

आइतवार तालिवानी प्रतिनिधिमण्डलले नर्वेका मानव अधिकार अभियन्तासँग छलफल गरेका छन्। तर, के के विषयमा कुराकानी भयो भन्ने अझै खुलाइएको छैन।

एक महिलावादी अभियन्ता जामिला अफगानीले संवाद सकारात्मक रहेको समाचार संस्था एएफपीलाई जानकारी दिएकी छिन्। 'हेर्दै जाउँ व्यवहारमा उनीहरुको गतिविधि कसरी अगाडी बढ्छ, उनीहरुको वचनको परीक्षण हुन बाँकी छ,' उनले भनेकी छिन्।

सोमवार तालिवानी र पश्चिमा मुलुकका अधिकारीबिच महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। तालिवानी प्रतिनिधिमण्डलले अमेरिकी बैंकमा फ्रिज गरिएको अर्बौं डलर खुला गराउन उनीहरुले प्रस्ताव गर्ने अपेक्षा गरिएको छ। 

अफगानिस्तानमा यतिखेर बेरोजगारी र खाद्यान्नको मूल्य नराम्रोसँग चुलिएको छ। मुद्रा अवमूल्यन भएसँगै बैंकले नगद निकाल्न सीमित गराएको छ। 

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरीमा ५५ प्रतिशत जनता पर्ने चेतावनी दिइसकेको छ। 

'हामी अफगान सम्पत्ति रोक्का हटाउन अनुरोध गर्दैछौं ता कि राजनीतिका कारण सामान्य अफगानी नगारिक दण्डित नहुन्,' वार्ता टोलीका सदस्य शेफुल्लाह अजमलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएको छ।

पश्चिमा प्रतिनिधिहरुले तालिवानी सरकारमा समावेशी र मानव अधिकारको विषयलाई उठाउन अपेक्षा गरिएको छ।

शक्तिमा आएसँगै तालिवानीले अफगान महिलालाई काममा नजान र घरमै बस्न निर्देशन दिएको छ। मानव अधिकारवादी र पत्रकारहरु पनि अफगानिस्तानमा तालिवानको निसानामा पर्दै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell