PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव



पहिलोपोस्ट

मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औँ विजय उत्सव मनाइएको छ। २ सय ५९ वर्ष अघि आजैका दिन (माघ १० गते) गोरखा सैनिकले मुगल सेनालाई पराजित गरेको थियो।

२ सय ५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबिच युद्ध भएको थियो। पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयं गढीमा उपस्थित थिए।

मुगल सेनाका फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण शाह उत्सवमा सहभागी हुन मकवानपुरगढी पुगेका थिए। गुरगिन खाँको नेतृत्वमा आएको करिब २५ सय मुगल सेनाका फौजलाई गोर्खाली सेनाले परास्त गरेका थिए।

उक्त लडाइँमा मुगलका करिब सत्र सय फौज र गोर्खाली फौज तर्फ करिब ३० जनाको मृत्यु भएको थियो। उक्त युद्धमा गौर्खाली सेनाले ५ सय भन्दा धेरै आधुनिक हातहतियार र शक्तिशाली तोप २ थान हात पारेको थियो।

सोही दिनको स्मरणमा हरेक वर्षको माघ १० गते मनाउँदै आइएको विजय उत्सव यस वर्ष भने कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामान्य ढङ्गले मनाइएको छ।

ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालले मकवानपुरगढी दरबारको संरक्षण गर्न आवश्यक बजेटको लागि पहल गरिने बताए। उनले मकवानपुरगढीको ऐतिहासिक महत्व रहेको भन्दै संरक्षणको आवश्यकता रहेको बताए। मकवानपुरगढीबाट शुरु भएको विजय अभियानको नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे।

सो क्रममा गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेना सम्बन्ध अङ्कित शिलालेख बोर्ड तथा दरबार परिसरमा झन्डोत्तोलन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell