PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ए डिभिजनमा चम्किएका हेन्जनलाई चिन्ता चोटकै, 'रिकभर' भएर छिट्टै मैदान फर्कने विश्वास



मुकुन्द घिमिरे

ए डिभिजनमा चम्किएका हेन्जनलाई चिन्ता चोटकै, 'रिकभर' भएर छिट्टै मैदान फर्कने विश्वास

काठमाडौं : उपाधिको दाबेदार मानिने त्रिभुवन आर्मी फुटबल क्लबका लागि यसपालाको शहीद स्मारक ए डिभिजन लिग सुखद भएन। नवयुग श्रेष्ठ, सुदिल राई, विकास खवासलगायतका खेलाडीले चोट बोक्नुपर्दा दबाव टिममा पर्न गयो। लिगमा प्रशिक्षक नवीन न्यौपानेले भनिरहे: हामीसँग ब्याकअपमा अन्य खेलाडी छन् उनीहरुलाई अवसर दिन्छौं। उसो त कप्तान भरत खवास पनि पूर्ण फिट रहन सकेनन् ताकी सबै खेलमा पूरा समय मैदानमा रहुन्। त्यसैले पनि आर्मीका पुराना र नयाँ खेलाडी सबैलाई चुनौती र अवसर दुबै रह्यो।

जित निकाल्न संघर्ष गरे पनि आर्मीले लिगमा पराजय भने ब्यहोरेको छैन। नवौं चरणको समाप्तिमा ५ खेलमा बराबरी र ४ खेलमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ। नवौं चरणको समाप्तिमा अपराजित रहने टोली शीर्ष स्थानको मछिन्द्र क्लब र तेस्रो स्थानको आर्मीमात्र बाँकी रहे। समस्यामा परेको आर्मीलाई जितको लयमा फर्काउन जारी सिजन आर्मीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी रहे दिनेश हेन्जन।

उसो त उनी पनि चोटको पीडालाई नजिकबाट भोगेका खेलाडी हुन्। तर नवौं चरणसम्म आइपुग्दा उनले ३ गोल गरे।

न्युरोड क्लब एनआरटीविरुद्धको खेलमा आर्मीलाई जिताउन हेन्जनले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे। त्यस्तै फ्रेन्ड्स क्लबविरुद्ध हेन्जनले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए। उक्त खेल आर्मीले ३-१ ले आफ्नो पक्षमा पार्‍यो। त्यस्तै सातदोबाटो युथ क्लबविरुद्ध उनले १० औं मिनेटमा गोल गर्दा खेल १-१ गोलको बराबरीमा रोकिएको थियो।

+++

हेन्जनको प्रदर्शनलाई नियाली रहेका राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाए। पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाउँदा दिनेशको खुशीको सीमा नै रहेन। तर, उनको खुशी धेरै टिक्न पनि सकेन। जसको कारण थियो : चोट।

'राम्रै भएको थियो लिग। राष्ट्रिय टोलीमा समेत बोलाएको थियो। म इन्ज्युरीका कारण जान पाइनँ,' उनले भने, 'यसपटक जान नपाए पनि यहीमात्र होइन मेरो समय अझै बाँकी छ। पहिलो पटक जान नपाउँदा अलि नरमाइलो चाहीँ लाग्यो, तर आफ्नो इन्ज्युरीको कारण हो भनेर चित्त बुझाएँ।'

उमेरले २१ वर्ष पुगेका उनलाई चोटले सताइरहन्छ। आइतवारमात्र उनले ढाडको अपरेसन गरे। उनलाई आशा छ, छिटै फिट हुनेछन् र राष्ट्रिय टोलीमा स्थान बनाउने छन्।

'ब्याक सर्जरी पहिल्यै गरेको थियो। ब्याकमा रड राखेको थियो। खेलका क्रममा दुखाइ भयो। त्यसपछि डाक्टर कहाँ देखाउन जाँदा चाहीँ रडको स्क्रु भाँचिएको रहेछ भनेर थाह भयो,' उनले भने।

उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका उनी सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन कडा मिहिनेत गर्न बताउँछन्। उनी आफ्नो खेल जीवनको टर्निङ प्वाइन्ट २०७४ सालमा सम्पन्न साफ यू १८ प्रतियोगितालाई मान्छन्। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई २–० ले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको थियो। उक्त फाइनल खेलमा नेपालका लागि दुबै गोल हेन्जनले गरेका थिए।

+++

उनको घर धनुषा। पृष्ठभूमिमा उनको परिवारबाट खेलकुदमा टाढाटाढासम्म कोही छन्। सानैबाट शोखले फुटबल खेले। 'फुटबल खेलेर केटो बिग्रियो' भन्नेले भनिरहे, उनले फुटबल खेलिरहे।

'परिवारमा फुटबल खेल्ने कोही हुनुहुन्न। म नै हो सुरुमा। सानैदेखि फुटबल मनपर्ने। एकदमै रुचि थियो,' दिनेशले पहिलोपोस्टसँग भने, 'दाइहरु हुनुहुन्थ्यो गाउँमा। स्कुलमै हुँदादेखि नै खेलियो। एभरेज खालको विद्यार्थी थिएँ। परिवारमा फुटबल, फुटबल भनेर कुद्छ पढाइ बिगार्ने भयो भनेर गाली गर्नु हुन्थ्यो।'

ललितस्मृतिबाट छनोटकर्ताहरुको नजरमा परेका उनले एन्फा एकेडेमी आए। उमेर समूहहरुमा पनि खेले। चार वर्ष भयो उनले आर्मीबाट खेल्न थालेको। मुख्य गरि मिडफिल्डमा खेल्ने उनी फर्वाडका रुपमा पनि खेल्ने बताउँछन्।

उनले अब अगाडि धेरै सोचेका छैनन्। चाँडो फिट भएर मैदानमा फर्कने लक्ष्य उनको छ। 

'पहिला त फिट भएर मैदान उत्रने हो। अगाडि के हुन्छ हेरौं,' हेन्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell