PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के वर्षमान पुन विमान चार्टर गरेर नेपाल आएका हुन्? कसरी पाए उनले विशेष सुविधा?



विधुर ढकाल

के वर्षमान पुन विमान चार्टर गरेर नेपाल आएका हुन्? कसरी पाए उनले विशेष सुविधा?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन 'अनन्त' चार महिना लामो उपचारपछि मुलुक फर्किए। उनी फर्किनुअघि देखि एउटा विषयले नेपालमा चर्चा पायो - पूर्व अर्थमन्त्री विमान चार्टर गरेर नेपाल आउँदैछन्। 

असोजको दोस्रो साता उपचारका लागि बैंकक पुगेका पुनलाई थप उपचारका लागि चीन लगिएको थियो। कार्त्तिकदेखि चीनको सन्चेन स्थित थर्ड पिपल्स अस्पतालमा उनको उपचार भएको हो। सोमवार नेपाल उत्रिँदासम्म उनी फर्किने विमानको विषयले सोसल मिडिया तरङ्गित भइसकेको थियो। 

विशेष विमान चार्टर्ड गरेर नेपाल आएको भन्दै समाचार समेत प्रकाशित भए। उनको आलोचना चाहिँ यसरकारण भयो कि - जनयुद्धबाट आएको एक नेता कसरी विमान चार्टर गर्ने हैसियतामा पुग्यो? जनताको जीवनस्तर जहीँको तहीँ हुँदा नेताको सवारीमाथि प्रश्न उठ्नु स्वभाविक थियो। त्यसैले यो विषयले चर्चा पनि बटुल्यो।

सोमवार हिमालय एयरलाइन्सको विमानबाट अनन्त, उनकी श्रीमती एवं पूर्व सभामुख ओनसरी घर्ती र छोरीसहित तीन जना नेपाल आएका थिए। यो विमानमा अरु कोही यात्रु थिएनन्। त्यसैले उनीहरुको उडानलाई लिएर प्रश्न उठिरह्यो।

काठमाडौं ओर्लिएसँगै नेपालको राजनीतिक अवस्थाको बारेमा पत्रकारमाझ पुनले टिप्पणी गरे। पार्टीको महाधिवेशनमा सहभागी हुन नसकेको भन्दै दु:ख मनाउ पनि गरे। त्यसपछि पार्टीमा महासचिवको दावेदारी रहेको पनि दोहोर्‍याए। अन्त्यमा उनले कुरा टुंग्याउँदै गर्दा श्रीमती ओनसरी घर्तीले भनिन् - 'चार्टर्ड विमानको बारेमा पनि भन्दिनुस् न।' 

'यो नियमित हो, चार्टर होइन। हिमालय एयरलाइन्सको विमान सातामा दुई पटक जाँदो रहेछ। त्यसैमा आएको हो। थाइल्याण्ड जाँदा पनि त्यसै गरी गएका हौँ,' अनन्तले भने। 

सोसल मिडियामा चर्को आलोचना भएका कारण अनन्तले झुटो बोलेका हुन् त? 

हामीले उनी आएको विमान कम्पनी हिमालय एयरलाइन्सलाई सोध्यौं - नेताजी चार्टर गरेर नेपाल आउनु भएको हो?

'चार्टर भन्ने सब हल्ला हुन्। उहाँ टिकट काटेर आउनु भएको हो,' हिमालय एयरलाइन्सको ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले पहिलोपोस्टको जिज्ञासामा भनिन्।

उनका अनुसार नेपालबाट चीनका लागि नियमति उडान बन्द छ। तर, सामान आयात-निर्यातका लागि कार्गो उडान भने जारी छ। जनवरी २४ अर्थात् हिजोसम्म हिमालय एयरलाइन्सले चीनमा १८ वटा कार्गो उडान गरिसकेको उनले दावी गरिन्।

'उहाँ त्यही कार्गो उडानबाट श्रीमती र छोरीसहित टिकट काटेर नेपाल आउनुभएको हो,' दलीले भनिन्, 'विशेष अवस्थामा, मेडिकल केसहरुमा कार्गो उडानमा यात्रु पनि लैजान सकिन्छ। उहाँ मेडिकल केसमा आउनु भएको हो।'

हिमालय एयरलाइन्सको विमान सोमवार कुन्मिङबाट काठमाडौं आएको हो।

कार्गोमा सहजै कसरी यात्रा?

मुलत: कार्गो सामान ओसारपसारका लागि मात्र हुने गर्छ। अन्य अवस्थामा जसरी यात्रु ल्याउन वा  लैजान मिल्दैन। तर, विशेष परिस्थितिमा सीमित यात्रुलाई कार्गो नै भए पनि ल्याउन/लैजान पाउने व्यवस्था रहेको दलीले बताइन्।

अनन्तसहित उनको परिवारलाई हिमालय एयरलाइन्सबाट नेपाल आउनका लागि चीनको उड्ययन प्राधिकरणले अनुमति दिएको थियो। 'नेपालको परराष्ट्र मन्त्रालयको आग्रह अनुसार यहाँ (नेपाल नागरिक उड्ययन प्राधिकरण)ले तीन जना ल्याउन अनुमति दिएको हो। चीनमा त्यहाँ स्थित नेपाली दूतावासले त्यहाँको अथुरिटीसँग पत्राचार गरी अनुमति मागेको हो। अनुमति पाएपछि मात्रै हामीले उहाँहरुलाई ल्याएका हौँ,' उनले भनिन्।

नेपाल आउन सहजीकरण गरिदिएको भन्दै पुनले विमानस्थलमै परराष्ट्र मन्त्रालय र दूतावासलाई धन्यवाद दिएका थिए।

नियमित कार्गो उडान भएकाले विमानमा कसको समान थियो भन्ने एकीनका साथ भन्न नसक्ने दलीले बताइन्। 'सरकारको पनि हुन्छ। निजी क्षेत्रको पनि हुन सक्छ। ज-जसले बुक गरेको छ उनीहरुको समान आउने हो। कुनै एउटा व्यक्ति वा संस्थाको मात्र ल्याइएको होइन,' उनले भनिन्।

'चाइना बाट आउने सेड्युल फ्लाइट भइरहेको छैन। हिमालय एयरलाइन्स अरु जुन कम्पनीले उडान गरिरहेका छन्। सबै चार्टर उडान हुन्। यी उडान सबै उडानहरु कार्गोका लागि चार्टर गरिएका हुन्,' नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले भने। उनका अनुसार यात्रुका लागि भनेर चीनका लागि चार्टर गरिएका उडानहरु छैनन्।

कतिपय विशेष अवस्थामा कार्गो उडान मार्फत पनि यात्रु लैजान ल्याउन सकिने उनले बताए। 'कार्गो उडानबाट यात्रु ल्याउनै नमिल्ने होइन भन्ने होइन्। कार्गोका लागि छुट्टै स्पेस हुन्छ। यात्रुका लागि छुट्टै। हाम्रा नियमित उडानहरुमा पनि त कार्गो आउँछन,' उनले भने, 'हरेक उडान अगाडि विमान कम्पनीले सेड्युल प्यासेन्जर एण्ड कार्गो मेनिफेस्ट बुझाउनुपर्छ। त्यसमा को-को आउने भन्ने हुन्छ। त्यस्तै सेफ्टी प्रोटोकल पालना गरेर ल्याउन सकिन्छ।'

सोमवार पुन आएको उडान पनि कार्गोका लागि चार्टर भएकै उडान हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell