PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चैत १० गतेदेखि सुरु हुने निफको पाँचौँ संस्करणमा ३८ देशका ८९ फिल्म छनोट



पहिलोपोस्ट

चैत १० गतेदेखि सुरु हुने निफको पाँचौँ संस्करणमा ३८ देशका ८९ फिल्म छनोट

काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १० गतेदेखि हुने भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौँ संस्करण चैत १० गतेदेखि १४ गतेसम्म हुने जानकारी दिएको हो।

यस वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर र सर्ट फिल्म लागि आवेदन खुलाइएको थियो। जसमा ५५ देशका ४०० बढी फिल्महरुले आवेदन भरेका थिए। तर फेस्टिभलमा ३८ देशका ८९ फिल्म मात्रै छनोट गरिएको संस्थाका अध्यक्ष केपी पाठकले बताए।

‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ।

यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचार हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड दिइने छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान गरिनेछ।

फेस्टिभलमा उत्कृष्ट हुने वृत्तचित्रलाई एक हजार डलरसहित माउण्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु फिल्माई ५ सय राशीसहित बाग्मती अवार्ड दिइने बताइएको छ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत भने उत्कृष्ट फिचर फिल्मलाई ट्रफीसहित १ लाख नगद, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ। त्यस्तै, फिचर फिल्मबाट भने उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell