
काठमाडौं: नेपाल र मरिससबीच हुन गइरहेको मैत्रीपूर्ण खेलमा रंगशालाको रंगशालाको क्षमताको एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। कोभिड १९ बाट सुरक्षाका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने एन्फाले जनाएको हो। खेलका लागि अन्य सबै तयारी पुरा भएको एन्फाले जनाएको छ।
नेपाल र मरिसस माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल खेल्दैछन्। खेलका लागि मरिससको टोली हिजो नेपाल आइपुगेको थियो।
स्टेडियममा प्रवेशका लागि भिआईपीतर्फ एक हजार र सामान्य प्यारापिट तर्फ ५ सय रुपैया शुल्क एन्फाले तोकेको छ। खेल साँझ पौने पाँच बजेबाट सुरु हुनेछ। मरिसससँगको खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ।
फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।
पछिल्लो समय २०२० मा बंगबन्धु गोल्डकपमा सहभागी भएको मरिससको पछिल्ला प्रदर्शनहरु खासै उत्कृष्ट छैन। बंगबन्धु २०२० को समूह बी मा रहेको मरिससले बुरुन्डीसँग १-४ गोलअन्तरको पराजय र सेनेगलसँग २-२ को बराबरी खेलेको थियो। मरिसस जितको खडेरी तोड्न चाहन्छ।
अर्कोतर्फ पछिल्लो समय नेपालले घरेलु मैदानमा सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो।नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो। जसमा पहिलो पटक साफको उपविजेता बनेको थियो।