PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डसँग जसको मिल्छ 'वेभ लेन्थ' उही बन्छ माओवादीको महासचिव!



प्रकाश भण्डारी

प्रचण्डसँग जसको मिल्छ 'वेभ लेन्थ' उही बन्छ माओवादीको महासचिव!

काठमाडौँ: नेकपा (माओवादी) केन्द्रको महासचिव को हुने? रस्साकस्सी सुरु भएको ८औँ महाधिवेशनभन्दा निकै अघिदेखि हो। तर, महाधिवेशनको झन्डै महिना दिनसम्म पनि टुङ्गो लागेको छैन।

केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुस १९ मा चुन्यो। त्यसबाहेक पदाधिकारी छान्न सकेन। माओवादीको विधान अनुसार प्रचण्डले महाधिवेशनको हलबाट अनुमोदन गराएका केन्द्रीय कमिटी सदस्यले नै पदाधिकारी छान्नेछन्।

पुस २५ र माघ ८ गतेको लागि बोलाइएको बैठकलाई माओवादी केन्द्रले कोभिड-१९ संक्रमणलाई देखाएर स्थगित गरेको थियो। फेरि माघ २७ गतेका लागि प्रचण्डले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

उक्त बैठकमा सहमतिबाटै पदाधिकारी टुङ्गो लगाउने गृहकार्य भइरहेको माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए।

'२७ गतेका लागि बोलाइएको बैठक पदाधिकारी छान्नका लागि हो। सकेसम्म सहमति हुन्छ। त्यसका लागि प्रयास भइरहेको छ,' उनले भने।

बैठक आह्वान गर्दै जारी गरिएको ५ बुँदे सर्कुलरमा केन्द्रीय कमिटीलाई पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्यूरो गठनको विषय उल्लेख छ। यसअघि माओवादी केन्द्रले नेता वर्षमान पुन उपचारका क्रममा विदेशमा रहेकाले उनी स्वदेश नफर्केसम्म पदाधिकारी टुङ्गो नलाग्ने जनाएको थियो।

पुस १९ गते अध्यक्षमा निर्वाचित भएसँगै प्रचण्डले पुन चीनमा रहेकाले बैठक स्थगित गरिएको जानकारी दिएका थिए। सोमबार नेता पुन स्वदेश फिर्ता भएका छन्। काठमाडौँ उत्रिनासाथ उनले महासचिवमा आफ्नो दाबेदारी रहेको प्रस्ट्याइसकेका छन्।

महासचिव छान्न प्रचण्डलाई सकस

माओवादी केन्द्रमा अरू पदमा भन्दा महासचिवमा आकर्षण छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदहरूमा कम प्रतिस्पर्धा भए पनि महासचिवका लागि भने अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेता पुनसँगै ऊर्जामन्त्री पम्फा भुसाल, नेताहरू देव गुरुङ र शक्ति बस्नेतले पनि दाबी गरिरहेका छन्।

'सचिव भएर काम गरेकाले मैले महासचिवमा दाबी गरेकै हो नेताहरूसँग/साथीहरूसँग। सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ। मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ,' पुनले विमानस्थलमा भनेका थिए।

पुन मंगलबार बिहानै प्रचण्डलाई भेट्न निवास खुमलटार समेत पुगे।

अर्थमन्त्री शर्मा पनि महासचिवका लागि योग्य पात्र भएको भन्दै प्रचण्डसँग लबिङ गरिरहेका छन्। माओवादीमा पुन र शर्माबीचको प्रतिस्पर्धाका कारण महाधिवेशनका बेलामा पदाधिकारी चयन हुन नसकेको चर्चा माओवादी वृत्तमा स्थापित छ। दुवै नेता प्रचण्ड निकट मानिन्छन् भने माओवादी जनयुद्धको पृष्ठभूमिबाटै आएकाले कसलाई छान्ने भन्नेमा प्रचण्डलाई सकस परिरहेको छ। दुई जनाबीच प्रतिस्पर्धा हुने देखिएपछि अरू नेताहरूले पनि महासचिवका लागि दाबी गरेको बताइन्छ।

माओवादी केन्द्रमा कति जना पदाधिकारी हुने भन्नेबारे यकिन छैन। महाधिवेशनअघि १५ जना पदाधिकारी रहने विधानमा व्यवस्था गरिएको थियो। तर, केन्द्रीय कमिटीले आवश्यकता अनुसार बनाउन सक्ने व्यवस्था माओवादीले गरेको छ। महासचिवका अरू उम्मेदवारलाई महासचिव बाहेकको शक्तिशाली पद दिएर शर्मा र पुनमध्ये एकलाई प्रचण्डले महासचिव बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। हाल भने माओवादी केन्द्र तदर्थ कमिटीबाट चल्दै आएको छ। महाधिवेशनपछि पूर्व स्थायी कमिटीको बैठक बसेको थियो भने प्रदेशमा पनि तदर्थ संरचना नै अहिले कायम रहेको छ।

को हुन्छ त महासचिव?

केन्द्रीय सदस्य चयन सर्वसम्मत गराएका प्रचण्ड महासचिव पनि सर्वसम्मत छान्ने गृहकार्यमा छन्। अरू पदाधिकारीमा पनि चुनाव हुने सम्भावना कम भएको माओवादी केन्द्रका नेताहरू बताउँछन्। प्रचण्डले पार्टीका भातृ संगठनमा समेत हस्तक्षेप गरेर नेतृत्व छानेको आरोप लाग्दै आएको छ। भातृ संगठनमा समेत अध्यक्ष बाहेकको पूर्ण पदाधिकारीको टिम छैन।

पार्टी पदाधिकारीमा आकांक्षी नेताहरू सहमतिमा नेतृत्व चयन गर्न सहमत भए पनि हस्तक्षेपका आधारमा चयन गर्न नहुने बताइरहेका छन्। तर, प्रचण्डले चाहेको व्यक्तिबाहेकलाई माओवादीको पदाधिकारीमा छानिन मुस्किल छ।

अर्कोतिर माओवादीमा नेतृत्वको लागि रस्साकस्सी हुन थालेपछि प्रचण्डले सार्वजनिक रूपमा नै आफू कसैलाई पनि उत्तराधिकारीका रूपमा अघि बढाउन नचाहेको बताउने गरेका छन्।

'यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए सबभन्दा खुसी हुन्थेँ। त्यसो भन्ने साथीहरूलाई म सहृदयतापूर्वक तपाईँहरू विचार योजना र कार्यक्रमसहित आउनुस्,' प्रचण्डले असोज १४ मा अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, 'तपाईँको राम्रो भयो र पार्टीले पास गर्‍यो भने तपाईँलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिँड्छु म चाहिँ। तर, माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहिँ म गर्दिनँ।'

प्रचण्डले महासचिव लगायतका पदाधिकारीमा आफू निकट नेतालाई सर्वसम्मत नेतृत्व दिन चाहेको बताइन्छ।

'चुनाव त हाम्रो पार्टीमा हुँदैन। सर्वसम्मत नै छान्ने हो। प्रचण्डले चुनाव गराउनकै लागि गरे मात्रै हुने हो,' प्रचण्डनिकट एक नेताले भने।

उनका अनुसार माओवादी केन्द्रमा नेता शर्मा र पुन दुवै महासचिवका लागि बराबर सम्भावना भएका नेता हुन्।

'दुई वटैको पल्ला उस्तै-उस्तै हो। कहिले कसको बलियो र कहिले कसको बलियो हुन्छ। कहिलेकाहीँ दुई जनाको लडाईंका कारण तेस्रो आउने सम्भावना पनि हुन्छ,' उनले भने।

प्रचण्डले मन पराएको नेता नै महासचिव हुने ती नेताको भनाइ छ। उनका अनुसार वर्षमान पुनले महाधिवेशनका बेलामा महासचिवका लागि चुनाव भएमा समेत नतिजा आफ्नो पक्षमा पार्नका लागि तयारी गरेका थिए।

शर्मा र पुनको भीडन्तमा प्रचण्डको भूमिका के?

पार्टीका बैठकहरूमा समेत आफूलाई महासचिवमा सघाउन शर्माले अनुरोध गर्ने गरेका थिए। पछिल्लो समय पुनलाई प्रचण्डले अघि बढाउन खोजेको माओवादी नेताहरूको भनाई छ।

'प्रचण्डसँग वेभ-लेन्थ नमिलेको पदमा पुगे पनि के नै गर्न सक्छ। त्यसैले जसको बढी वेभ लेन्थ मिल्छ उही होला। अहिले वर्षमानको बढी मिलेको देखिन्छ,' प्रचण्ड निकट ती नेताले भने।

यता नेता शर्मालाई माओवादी केन्द्रको संगठनभित्र बलियो नेताको रूपमा लिइन्छ। महासचिव बनाइएमा आउने चुनावमा समेत पार्टीका लागि उनले जनमत सिर्जना गर्न सक्ने बताइन्छ।

यद्यपि, तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको २०७५ जेठ ३ गतेको एकताको सुत्राधारको रूपमा शर्मालाई लिने गरेकोमा एकता असफल भएपछि पार्टीभित्र शर्माको आलोचना हुने गरेको छ। उनी पछिल्लो समय प्रचण्डलाई नै चुनौती दिन सकिने गरी आफ्नो गुट बलियो बनाउन लागेको आरोप लाग्ने गरेको छ। उनलाई महासचिवमा रोक्नका लागि प्रचण्डले नै अरू नेताहरूलाई अघि सारेको चर्चा पनि माओवादी वृत्तमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell