PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फरार हुनुअघि अग्रवाल परिवारले उठाएको थियो करोडौं रुपैयाँ, लामो योजनाअनुसार भएका हुन् फरार



सविन ढकाल

फरार हुनुअघि अग्रवाल परिवारले उठाएको थियो करोडौं रुपैयाँ, लामो योजनाअनुसार भएका हुन् फरार

'कुनै अप्रिय घटना त भएको होइन?'

करिब तीन सातादेखि परिवार नै सम्पर्क विहीन भएपछि प्रहरीले संशयपूर्ण रुपमा प्रश्न गरेको थियो रजनीलाई।

'त्यस्तो केही भएको हुनु नपर्ने हो।'

प्रश्न झर्न नपाउँदै हत्तपत्त उनको उत्तर आएको थियो। रजनी उनै हुन् जसले उनीहरु हराएको भन्दै प्रहरीकहाँ उजुरी गरेकी थिइन्।

ओमप्रकाश अग्रवालको परिवारका दुई छोरा अमित र अभिषेकसँगै भारती, उषा, रुचिका गायव रहे। सँगै हराए ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय नाति अनव अग्रवाल। त्यसपछि हो, ओमप्रकाशकी छोरी रजनीले परिवार खोज्न भन्दै प्रहरीमा उजुरी दिएकी।

गएको पुस २२ गतेदेखि हराएका परिवार खोज्न उजुरी परेपछि प्रहरीले रजनीलाई बोलाएर यसरी नै सामान्य सोधपुछ गरेको थियो। २२ गते अग्रवाल परिवारले ऋणको कारणले सम्पर्कविहीन हुन परेको आशयको पत्र छोडेर गएका थिए। त्यसैले, प्रहरी अग्रवाल परिवार सम्पर्कविहीन हुनुमा अन्य कारण नदेखिनेमा विश्वस्त देखियो।

पहिलो पटक रजनीसँगको सामान्य सोधपुछपछि नै प्रहरीले अग्रवालको सिंगो परिवार जानकारी गराएरै फरार भएको आँकलन गरेको थियो।

'ठ्याकै यही त भन्न मिल्दैन। तर छोरीले हामीसँगको कुराकानी हेर्दा ऋणले नै कतै गएको बुझिन्थ्यो,' रजनीसँग बयान लिएका एक प्रहरी अधिकृतले सुनाए। महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै रजनीले पुस २३ गते उजुरी दिएकी थिइन्। प्रहरीले अहिले सम्पर्क विहीन भएका अग्रवाल परिवारको खोजी गरिरहेको छ। तर, उनीहरू कहाँ गए भन्ने औपचारिक जवाफ प्रहरीले भेटाएको छैन।

अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइन सञ्चालन गर्दै आएको थियो। त्यही व्यापारका लागि उनीहरूले बैंक र व्यक्तिबाट करोडौँ रुपैयाँ ऋणसमेत लिएको देखिएको छ। ऋण तिर्न नसक्ने अवस्था आएपछि उनीहरू बेपत्ता भएका छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। उनीहरुको मदिरा पसलमा कार्यरत कर्मचारीलगायत अन्य आफन्तहरूसँग पनि प्रहरीले सोधपुछ गरेर अनुसन्धान जारी राखेको छ।

'हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ। अहिले नै उहाँहरू कहाँ हुनुहुन्छ भन्ने अवस्था देखिएन,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने उनीहरू भारततिर गएको देखिएको छ। उनीहरूले प्रयोग गर्दै आएको मोबाइल भने काठमाडौँमै स्वीच अफ गरिएको देखिएको छ। उनीहरूसँग अरु केही मानिस पनि काठमाडौं बाहिर गएको प्रहरीको अनुसन्धानमा देखिएको छ। प्रहरीले तिनै मानिसलाई आधार बनाएर अनुसन्धान गर्दा पहिचान गरेको छ - उनीहरू वीरगंज हुँदै रक्सौल पुगे। भारतमा उनीहरूको आफन्त भएकाले त्यतै हुनसक्ने प्रहरीको आशङ्का छ।

'उहाँहरूसँग अरु पनि मानिस हुनुहुन्छ भन्ने हो। त्यसैलाई आधार बनाएर हेर्दा वीरगंजसम्म पुगेको देखिन्छ। भारत भएको हो भन्ने हाम्रो बुझाइ हो,' एक अनुसन्धान अधिकृतले भने। प्रहरीले अग्रवाल परिवारको बारेमा बुझ्न छोरी रजनीलाई दोस्रो पटक पनि सम्पर्क गरेको थियो। तर, उनी स्वास्थ्य अवस्था खराब भएको भन्दै ४/५ दिनमा प्रहरीको सम्पर्कमा आउने बताएकी छिन्।

अग्रवाल परिवारले घरमा दुई वटा गाडी प्रयोग गर्दै आएको थियो। उनीहरू हराएसँगै गाडी पनि घरमा छैन। प्रहरीले उनीहरू नागढुंगा नाका हुँदै वीरगन्ज गएको हुनसक्ने भन्दै अनुसन्धानसमेत गरेको देखियो। तर, नागढुंगामा प्रहरीले राख्ने रेकर्डमा अग्रवालले प्रयोग गर्दै आएका गाडी बाहिरिएको देखिँदैन। त्यसैले गाडी काठमाडौंमा नै हुनुपर्ने वा अन्य नाकाबाट गएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

जग्गा प्लटिङ भन्दै उठाए बैना!

पछिल्लो समय अग्रवाल परिवार ज्ञानेश्वरमा बस्दै आएको थियो। उनीहरूको कालीमाटी, टंगाललगायत अन्य ठाउँमा घरजग्गा रहेको छ। ज्ञानेश्वरमा १८ आनाभन्दा बढी जग्गा रहेको छ। अग्रवाल परिवारले ज्ञानेश्वरमा रहेको जग्गा बिक्री गर्न बैना रकमसमेत लिएको देखिएको छ। प्रहरीमा अहिले अनौपचारिक रूपमा मानिसहरु उनीको विषयलाई लिएर आउन थालेका छन्। बैना दिएको दावी गर्दै ती व्यक्ति प्रहरी सम्पर्कमा आएका हुन्।

ज्ञानेश्वरको जग्गा प्लटिङ गर्ने योजनामा अग्रवाल परिवार रहेको देखिन्छ।

'केही मानिसलाई ज्ञानेश्वरको जग्गा प्लटिङ गरेर बिक्री गर्ने भनेर पैसा उठाएको पनि देखियो,' ती अनुसन्धान अधिकृतले भने। अग्रवाल परिवारले बैंक तथा व्यक्तिसँग मिटर ब्याजमा ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको देखिन्छ। केही बैङ्कहरूले अग्रवाल परिवार सम्पर्कविहीन भएपछि ऋण उठाउने प्रक्रियासमेत सुरु गरिसकेका छन्।

त्यस्तै, अग्रवाल परिवारले सम्पर्कविहीन हुनुभन्दा केही समय अगाडि विभिन्न मानिससँग फरक फरक कारण देखाएर रकमसमेत उठाएको देखिएको छ। प्रहरीको सम्पर्कमा पुगेका मानिससँग सोधपुछ गर्दा १० करोड रुपैयाँभन्दा बढी नगद उनीहरु फरार हुनुअघि जम्मा गरेको देखिएको छ। जग्गा बैनादेखि व्यापारसम्म भन्दै उनीहरुले रकम उठाएका छन्। यति हुँदाहुँदै पनि अहिलेसम्म कोही पनि ठगिएँ भन्दै रकम उठाउन आग्रहसहित प्रहरीमा उजुरी दिन नआएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले बताए।

ओमप्रकाशकी छोरी रजनीले पनि काम पर्‍यो भन्दै उनका बुवाले ८/१० लाग रुपैयाँ मागेको प्रहरीसँग बताएकी थिइन्।

स्रोतका अनुसार, एभरेस्ट बैङ्कको करिब २२ करोड, नेपाल इन्भेस्टमेन्ट बैङ्कको करिब ३२ करोड, ग्लोबल आईएमई बैङ्कको करिब १८ करोड र मेगा बैङ्कको करिब २५ करोड उनीहरुमाथि ऋण लगानी छ।

मेगा बैङ्कले एलायन्स डिस्ट्रिब्युटर्स प्रालिका नाममा रहेको कलङ्की मालपोत कार्यालय अन्तर्गतको घरजग्गा लिलाम गर्ने तयारी गरेको छ। त्यहाँ उनीहरुको चार कित्तामा १०३ वर्ग मिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा छन्। त्यहाँ घर पनि छ उनीहरुको।

बैङ्कले अग्रवाल दाजुभाइसहित अन्य जमानीकर्ता रजनी अग्रवाल, ओमप्रकाश अग्रवाल र उषा अग्रवालको नाम ऋण नतिर्नेको सूचीमा निकालेको छ। अग्रवाल परिवारले स्थापना गरेको सागर डिस्टिलरीलाई यसघि नै हाइ प्रोफाइल व्यापारीले किनेको देखिएको छ। उक्त डिस्टिलरी पटकपटक विभिन्न व्यापारिक घरानाले किन्दै बेच्दै गरेको कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा देखिन्छ। अहिले उक्त डिस्टिलरी सीजी होल्डिङका चेयरम्यान अरुणकुमार चौधरी र सेल्वेजका सञ्चालक सुशील प्रधानांगले किनेको उक्त अभिलेखमा छ।

अहिलेसम्मको प्रहरी अनुसन्धान र कोठामा भेटिएको पत्रअनुसार ऋण तिर्न नसकेपछि अग्रवाल परिवारले केही महिनादेखिको योजना बनाएको देखिन्छ नेपालबाट पलायन हुन। उनीहरूले पूर्व योजनाअनुसार भारतमा गएको खुले पनि प्रहरीले यसलाई पुष्टि गर्न भने सकिरहेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell