काठमाडौँ : लामो समय देखि काठमाडौंको ठमेलस्थित एक होटेलबाट अनलाइन जुवा खेलाउने गरिएको खुलासा भएको छ।
महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले मंगलवार उक्त होटलको पाँचौं तल्लमा रहेको २०४ नम्बर कोठामा छापा मार्दा दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा फेला परेको हो।
प्रहरीले जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका क्षेत्री ४/५ वर्षदेखि अनलाइन जुवामा सक्रिय रहेको खुलेको छ। प्रहरीले गत वर्ष उनलाई जुवा खेलाएको अभियोगमा नियन्त्रणमा लिएको थियो। २०७७ कार्तिक २७ गते प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो। कारागारबाट छुटेपछि फेरि उनी अनलाइन जुवा खेलाउन सक्रिय रहेको पुष्टि भएको हो।
क्षेत्रीको कोठाबाट प्रहरीले जुवा खेलाउन प्रयोग हुने क्वाइन, विभिन्न बैङ्कको चेक, नगद लगायत अन्य जुवाको हिसाब किताब राखिएको लक बुक समेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले बरामद गरेको नगद र अन्य सामाग्री
प्रहरीले क्षेत्रीको कोठाबाट १ लाख १५ हजार नगद समेत बरामद गरेको थियो। त्यस्तै, २५ लाख रुपैयाँभन्दा बढीको विभिन्न बैंकका चेक तथा भौचर समेत बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिक पनि लामो समयदेखि यहीँ बसेर अनलाइन जुवा खेलाउन सक्रिय रहेको खुलेको छ। उनले अनलाइन जुवा खेलाउन ग्राहकहरू खोज्ने गरेका थिए। यसरी ग्राहक खोजेबापत क्षेत्रीले उनलाई कमिसन दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पैसा भएका मानिसलाई उनले जुवाको लतमा पार्ने गरेका थिए। यसरी जुवा खेल्नेहरुमा विद्यार्थीदेखि व्यापारीसम्म रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।
उनीहरुले जुवा खेल्न अनलाइनमा युजर आइडी बनाउने गरेका थिए। हार जितको रकम विभिन्न अनलाइन माध्यम प्रयोग गरेर पठाउने गरेको समेत अनुसन्धानमा देखिएको हो।
उनीहरूले विभिन्न खेलदेखि आज पानी पर्छ वा पर्दैन भन्नेसम्मको सट्टेबाजी गर्ने गरेको खुलेको छ। प्रहरीले अनलाइन जुवामा संलग्न अन्यहरूको पनि खोजी गरिरहेको छ।
माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनलाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाईज अनलाईन मार्फत जुवा खेलाउन कर्मचारीहरु समेत राखेको देखिएको थियो।