PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'डिजिटल वालेट' लेखेर यसरी भित्रिँदै थियो विमानस्थलबाट क्रिप्टोमा प्रयोग हुने डिभाइस



पहिलोपोस्ट

'डिजिटल वालेट' लेखेर यसरी भित्रिँदै थियो विमानस्थलबाट क्रिप्टोमा प्रयोग हुने डिभाइस

काठमाडौं : एउटा सानो कार्टुनको बट्टा। बाहिरपट्टी लेखिएको थियो- डिजिट वालेट। हेर्दा पेनड्राइभ जस्तो लाग्ने। तर, के होला यो? काम के गर्छ यसले? कसैलाई प्रष्ट थिएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई शंका लाग्यो।

भन्सारमा कार्गो हुँदै आएको उक्त कार्टुनको सामान लिन कोही पनि आएका थिएनन्। त्यसपछि भन्सार कार्यालयले राष्ट्र बैक र सम्बन्धित मन्त्रालयलाई संदेहपूर्ण सामानबारे जानकारी गरायो। त्यसपछि अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्रचार पनि।

'हामीलाई पनि त्यसको त्यति जानकारी भएन। त्यसपछि हामीले अनुसन्धान गर्न सीआईवीलाई दिएका थियौं,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने।

बट्टामा धेरै समान भने थिएन। ३० वटा पेन ड्राइभ जस्तो देखिने सामग्री थियो। व्यूरोले सामानको अनुसन्धान गर्‍यो। त्यसपछि रहस्य खुल्यो पेनड्राइभ जस्तो बस्तु त क्रिप्टोकरेन्सीमा प्रयोग हुने डिभाइस रहेछ। केन्द्रीय अनुसन्धान व्यूरोले भन्सार कार्यालयलाई क्रिप्टोमा प्रयोग हुने डिभाइस भएको खुलाउँदै पत्र पठायो।

'क्रिप्टोमा प्रयोग हुने डिभाइस थियो त्यो। प्रयोग गर्न सकिने तर प्रयोग नभएको डिभाइस,' व्यूरोका डीआईजी धीरजप्रताप सिंहले भने।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सो डिभाइस पुनः भन्सार कार्यालयलाई नै पठाएको छ। भन्सारले बरामद गरेको डिभाइस कम्युटरमा प्रयोग गरेर क्रिप्टोको कारोबार गराइन्छ। अनलाइनमा हुने कारोबार प्रणालीलाई सुरक्षित बनाउन यस्तो डिभाइस प्रयोग हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

भन्सारले बरामद गरेको सामग्री नेपाली मुलका अष्ट्रेलियन नागरिकले पठाएको देखिएको छ। पठाएका सामानमा सेन्डरमा पोखरेल थर उल्लेख गरिएको छ। यसरी नेपाल आएको सामग्रीको भुक्तानी अनलाइन माध्यमबाट नै भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

'सामाग्री कसलाई पठाएको भन्ने खुलेको छैन। थप अनुसन्धान हुँदैछ,' भन्सार कार्यालयका प्रमुख भट्टराइले भने। यसरी बरामद गरेको सामाग्री नष्ट गर्ने प्रकृया सुरु भइसकेको छ।

नेपालमा ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको खुलेको छ। राजश्व अनुसन्धान विभागले मंगलवार मात्र चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ यस विषयमा।

क्रिप्टो कारोबार गर्ने मुख्य व्यक्‍तिका रुपमा कैलालीका दिनेश खड्का रहेका छन्। विभागले अनुसन्धान गर्दा ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिएको छ।

खड्काले उनकी महिला साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेको भेटिएको छ। यस्तै खड्काकी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार भएको भेटिएको विभागले जनाएको छ। यस्तै खड्काका बुबा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको छ।

विभागको अनुसन्धानमा खड्काले करिब २ सय ५० जनाको नेटवर्क बनाएर विदेशबाट रकम ल्याउने र विविध प्रयोजनमा प्रयोग गर्ने गरेको खुलेको छ। उनले मोबाइल भुक्तानी प्लाटफर्म (वालेट) इ-स्क्रिल र क्रिप्टोकरेन्सी (अभौतिक/विद्युतीय मुद्रा) कारोबार प्लाटफर्म 'बिनान्स' मार्फत् कारोबार गर्ने गरेको विभागको अनुसन्धानबाट फेला परेको छ। क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ।

यससँगै विभागले खड्काविरुद्ध ३७ करोड ६४ लाख बिगो माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टोकरेन्सी गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो। राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थियो। राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म २ लाख ६० हजारको कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको  खुलेको थियो।

'विमानस्थलमा भेटिएको डिभाइस र अन्य समातिएका व्यक्तिको आधारमा नेपालमा ठूलो सङख्यामा क्रिप्टो कारोबार भएको देखिन्छ। यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं,' व्यूरोका डीआईजी सिंहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell