PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

लीला विष्टको राष्ट्रिय सभा मतदान संयोग : पहिलो निर्वाचनमा छोरी, अहिले काखमा छोरो

लीला विष्टको राष्ट्रिय सभा मतदान संयोग : पहिलो निर्वाचनमा छोरी, अहिले काखमा छोरो

एम बम/पहिलोपोस्ट


कैलाली : कोरोना संक्रमणको त्रासकै बिच आज राष्ट्रिय सभाको निर्वाचन जारी छ। सुदूर पश्चिम प्रदेशको धनगढीमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मतदानका लागि निश्चित दुरी सहित लाइनको व्यवस्थापन गरिएको छ। प्रदेश र स्थानीय तह तर्फका गरी जनप्रतिनिधिका दुई निर्वाचन केन्द्रमा ४ लाइन बनाइएको छ। त्यसैमध्येको एक लाइनमा लामवद्ध थिइन् लीलाकुमारी विष्ट। काखमा ९ महिनाको छोरो बोकेर बैतडीबाट मतदान गर्न आएकी हुन् उनी। लीला बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष हुन्।

उनका लागि काखमा सन्तान बोकेर मतदानमै सहभागी बन्न अर्को जिल्ला जानुपरेको यो नौलो संयोग भने होइन। २०७४ सालमा डोटी जिल्लाको सिलगढीमा सम्पन्न सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा पनि काखमा १० महिनाको छोरी बोकेर मतदानमा सहभागी हुने विष्ट एक्ली मतदाता थिइन्। संयोगले अहिले भइरहेको निर्वाचनमा पनि ९ महिनाको छोरा काखमा बोकेर उनी मतदानमा सहभागी बनिन्। उनी उपाध्यक्षमा निर्वाचित हुने बेला स्थानीय तहको निर्वाचनमा पनि छोरीलाई काखमै लिएर चुनावमा होमिएकी थिइन्।

राष्ट्रिय सभाका लागि मतदान गरिसकेपछि विष्टले एउटा राम्रो पात्र विजय होस् भनेर आफूले महामारी र सन्तान बोक्न सकसलाई सहज रूपमै लिएर यहाँ आएको बताइन्। एमालेबाट निर्वाचित उपाध्यक्ष विष्टले भनिन्, ‘राजनीतिमा सङ्घर्ष त आवश्यक हुन्छन् नै। अझ त्यसमा पनि पुरुष भन्दा महिलालाई झन् अप्ठ्यारो छ। तर पनि राम्रो पात्र विजयी बनुन्, भनेर मतदानमा सहभागी बनेकी हुँ।’ 

स्थानीय तहको कार्यसम्पादनमा महिलालाई न्यायिक निरूपणको समेत जिम्मेवारी दिइएको हुनाले सन्तान बोकेर नै काम गर्न थप असजिलो हुने भए पनि त्यसलाई सहजै लिने गरेको उनले बताइन्। 

‘राजनीतिमा महिलाको सङ्ख्यात्मक मात्र हैन अब गुणात्मक सहभागिताको आवश्यकता छ। त्यसैले पुरुष भन्दा बढी सङ्घर्ष गरेर भए पनि हामीले त्यसलाई स्थापित गर्नुपर्ने छ,’ उनले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell