PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

गण्डकीमा राष्ट्रियसभा निर्वाचन : संक्रमित मतदातालाई बेग्लै बुथ, तर मतपत्र खसाल्न एकै स्थानमा



पहिलोपोस्ट

गण्डकीमा राष्ट्रियसभा निर्वाचन : संक्रमित मतदातालाई बेग्लै बुथ, तर मतपत्र खसाल्न एकै स्थानमा

पोखरा : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा आज मतदान जारी छ। राष्ट्रिय सभामा गण्डकीबाट रिक्त तीन पदका लागि छ जना चुनावी मैदानमा होमिएका छन्। कोरोना महामारीकै बिच आज प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा मतदान जारी छ।

आज बिहान ९ बजेदेखि ३ बजेसम्म भइरहेको मतदानमा निर्वाचन कार्यालयले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै निर्वाचन गर्ने बताएको थियो। तर, मतदान केन्द्रको दृश्य भने फरक छ।

निर्वाचन कार्यालयले कोरोना संक्रमित मतदातालाई समेत बेग्लै मतदान गर्ने बुथको व्यवस्था गरेको छ। कार्यालयले कोरोना संक्रमित मतदातालाई बेग्लै बुथको व्यवस्था गरे पनि मतपत्र खसाल्नका लागि एकै स्थानमा भने पुग्नुपर्छ।

यता, कोरोना संक्रमित मतदाता पनि कोरोनालाई हेलचेक्र्याइ गर्दै मतदान स्थलमा प्रवेश गरिरहेका थिए। यतिबेला गण्डकीका सांसददेखि केही पालिका अध्यक्षमा कोरोना पोजिटिभ देखिएको छ। उनै मतदाता मतदान स्थलमा हिँडिरहेका थिए।

‘कोरोना पोजिटिभ भएका मतदाताले पनि ख्याल गर्नुपर्ने कुरा हो कार्यालय व्यवस्थित बन्न सकेन,’ मतदान केन्द्रमा भेटिएका एक मतदाताले भने।

निर्वाचन कार्यालयले मतदान स्थलमा हेल्थ डेस्क र एन्टिजेन परीक्षणका डेस्क राखेको छ। स्वास्थ्य मापदण्ड पालना गराउन खोज्दाखोज्दै पनि निर्वाचन कार्यालय नै यसमा कमजोर देखिन्छ।

यस विषयमा निर्वाचन कार्यालय गण्डकीका प्रमुख होमनाथ पराजुलीले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने कोसिस भएको बताए।

‘हामीले हाम्रो तर्फबाट सबै गरेका छौँ हेल्थ डेस्क राखेका छौँ, संक्रमित मतदातालाई छुट्टै बुथ बनाएका छौँ, अब कोही एक/दुई जना पालना नगर्दै गफ गर्नुहुन्छ भने त्यो उहाँहरुको व्यक्तिगत कुरा हो,’ प्रमुख पराजुलीले भने।

अहिले कोरोनालाई सामान्य रुघाखोकीका रुपमा लिएका हुनाले पनि मापदण्ड पालनाका विषयमा केहीले वास्ता नगरेको उनले तर्क राखे। निर्वाचन कार्यालयकै अर्का एक कर्मचारी भने संक्रमितले त्यसरी हेलचेक्र्याइँ गर्दा गुनासो गरेका थिए।

‘कोरोनालाई सबैले सामान्य रुघाखोकी मानेपनि थोरै ख्याल गर्नुपर्थ्यो, के गर्नु यस्तै छ सबै घुलमिल भएकै छन्,’ ती कर्मचारीले भने।

गण्डकीबाट रिक्त पदका लागि प्रतिपक्षी नेकपा (एमाले) र गठबन्धन मैदानमा छ। प्रतिपक्षीका तर्फबाट पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ अर्जुनप्रसाद सुनाम चुनावी मैदानमा छन्।

यता, सत्तारुढ गठबन्धनबाट महिलातर्फ गोरखाकी कमला पन्त, सुरेश आलेमगर र भुवन सुनार मैदानमा छन्। ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन्। मतदानका लागि आज दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell