PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव



प्रकाश भण्डारी

राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग एकता र अन्य स्थानमा एक्लै प्रतिस्पर्धामा उत्रियो। मतभारका आधारमा गठबन्धनका उम्मेद्वारहरुले जित्ने सम्भावना बलियो छ।

बुधवार सात वटा प्रदेशका आठ मतदानस्थल र १४ केन्द्रमा निर्वाचन सम्पन्न भयो। बिहान ९ बजेदेखि नै प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदान केन्द्र पुगेका थिए। सबै ठाउँमा शान्तिपूर्ण रुपमा भने निर्वाचन हुन सकेन ।

मधेशमा मारामार

राष्ट्रिय सभाको निर्वाचन सुरु हुनासाथ मधेश प्रदेश चर्चाको केन्द्रमा रह्यो। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप भएपछि मधेश प्रदेशमा सामान्य ढंगले निर्वाचन हुन पाएन। आफ्नो राजनीतिक उपस्थिति देखाउन सीके राउतका कार्यकर्ता ढुंगामुडा गर्दै चुनाव भाड्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थिए। जनकपुरधामको महेन्द्रनारायण निधि प्रतिष्ठान नजिकै राउतका कार्यकर्ता टायर बालेर बिहानैदेखि प्रदर्शनमा उत्रेका थिए। प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो। प्रदर्शका क्रममा जनमत पार्टीका कार्यकर्ताले हरिवन नगरपालिका सर्लाहीका उपमेयर रेणुका पौडेल सवार गाडीमा तोडफोड गरे।

अन्यत्र गठबन्धन नगरेको एमालेले मधेश प्रदेशमा भने लोसपासँग गठबन्धन गरेको छ। एमालेका उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव उम्मेद्वार छन्। माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका तर्फबाट अन्यतर्फ मोहम्मद खालिद सिद्धिकीलाई गठबन्धनले अघि सारेको थियो।

'मलाई सिकाउने?' भन्दै सांसदले समाते अधिकृतको कठालो!

जसरी मधेश प्रदेशको निर्वाचनमा झडपको विषयले चर्चा पायो, त्यसैगरी वाग्मतीमा पनि मत हाल्न पुगेका प्रदेश सांसद र निर्वाचन अधिकृत बिच धक्कामुक्की चल्यो। नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समातेकी थिइन्। अधिकृत श्रेष्ठले मतदान गरेको फोटो नखिच्न भनेपछि लफडा सुरु भएको थियो। सांसद्हरुले नै बनाएको कानुन भएकाले उल्लंघन नगर्न श्रेष्ठले सम्झाएका थिए।

वाग्मतीमा अर्को रमाइलो दृश्य के पनि देखियो भने मतदानमा मुख्यमन्त्री पनि छाता ओडेर सहभागी हुनुपर्‍यो। पानी परेपछि छाता ओडेरै मतदाताहरु लाइनमा उभिएका थिए।

वागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रणनीति पनि बदलाव आएको देखियो। सुरुमा मतदान नै नगर्ने जनाएको राप्रपाले एकाएक मतदानमा सहभागिता जनायो। २ प्रदेश सभा सदस्य र २ स्थानीय तहका जनप्रतिनिधि राप्रपाका वाग्मतीमा मतदाता थिए। वाग्मतीमा एमालेबाट नीरकुमारी कुँवर (निरु दर्लामी) र गोपाल शाक्य उम्मेद्वार छन् भने गठबन्धनबाट कृष्णप्रसाद पौडेल र गोमा तिमिल्सिना उम्मेद्वार छन्। नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले पनि उम्मेद्वारी दिएका थिए।

संक्रमित मतदातालाई छुट्टै व्यवस्था

निर्वाचन आयोगले कोभिड-१९ संक्रमणको दर बढेको भए पनि निर्वाचन तालिकामा हेरफेर नहुने बताएको थियो। स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न सकिने निर्वाचन आयोगले आँकलन गरेको थियो।

गण्डकी प्रदेशमा भने मतदानका लागि संक्रमितलाई छुट्टै मतदानको व्यवस्था थियो। निर्वाचन कार्यालयको भवनमा भएको मतदानमा निर्वाचन कार्यालयले कोरोना संक्रमित मतदातालाई बेग्लै मतदान गर्ने बुथको व्यवस्था गरेको थियो। कार्यालयले कोरोना संक्रमित मतदातालाई बेग्लै बुथको व्यवस्था गरे पनि मतपत्र खसाल्नका लागि एकै स्थानमा पग्नुपर्ने बाध्यता थियो। गण्डकीबाट रिक्त पदका लागि प्रतिपक्षी एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल र दलिततर्फ अर्जुनप्रसाद सुनाम चुनावी मैदानमा छन्। गठबन्धनका तर्फबाट कमला पन्त, सुरेश आलेमगर र भुवन सुनार चुनावी मैदानमा छन्। ३ पदका लागि गण्डकीमा राष्ट्रिय सभाको निर्वाचन भएको हो।

यता, लुम्बिनी प्रदेशमा पनि गण्डकीमा जस्तै संक्रमितलाई अलग्गै मतदान गर्ने व्यवस्था गरिएको थियो। गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा छन्। एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन्।

प्रदेश १, सुदूर र कर्णालीमा शान्तिपूर्ण मतदान

मधेश प्रदेश र वाग्मतीमा घम्साघम्सी हुँदा प्रदेश नम्बर एक, सदूर पश्चिम र कर्णालीमा भने शान्तिपूर्ण रुपमा नै निर्वाचन भयो। प्रदेश १ मा एकीकृत समाजवादीले सरकार चलाइरहेको छ भने सुदूरमा नेकपा माओवादी केन्द्र र कर्णालीमा कांग्रेसका मुख्यमन्त्री छन्।

प्रदेश एक राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर सुरुदेखि नै चर्चामा छ। त्यहाँ एमालेले राप्रपासँग गठबन्धन गरेर गठबन्धन गरेर केही मत चोर्न सके जित निकाल्ने आँकलन थियो। एमाले र राप्रपाबिच गठबन्धन भने भएन। त्यसैले, प्रदेश १ मा पनि गठबन्धन नै बलियो देखिएको छ।

सुदूर पश्चिम प्रदेश सभामा एकीकृत समाजवादी र स्थानीय तहमा नेपाली कांग्रेस बलियो छ। त्यसैले, सुदूरमा पनि गठबन्धनलाई सहज छ। यता कर्णालीमा एमालेभन्दा गठबन्धनको मतभार झण्डै दोब्बर छ। एमालेको कूल मतभार १ हजार ४ सय ३४ रहँदा गठबन्धनसँग २ हजार ८ सय ९८ मतभार छ।

(सुमित मिश्र, निशा गुरुङ, रीना थापा, रमेश पराजुली र एम बमको सहयोगमा )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell