
हेटौड : राष्ट्रिय सभा निर्वाचन सकिएको एक घन्टा नबित्दै मत गणना सुरु भएको छ। वाग्मती प्रदेशको मतगणना ४ नबज्दै सुरु भएको हो।
हेटौँडा-९ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट शुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सकिएको थियो।
निर्वाचनको मतदान मा १०६ प्रदेशसभा सदस्य तथा २ सय ३७ जनप्रतिनिधि गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। विवेकशील साझाका ३ जना वाग्मती प्रदेश सभा सदस्य भने मतदानमा सहभागी भएनन्।
वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य महिला र अन्यतर्फ गरी २ पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ।
सत्तारुढ गठबन्धनका दुई जना, नेकपा (एमाले)को तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका थिए। गठबन्धनका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्।
विपक्षी दल एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेद्वार रहेका छन्।