PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नेपाल प्रहरीमा तीन एआईजी थप्‍ने तयारी



पहिलोपोस्ट

नेपाल प्रहरीमा तीन एआईजी थप्‍ने तयारी

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ।

अर्थ मन्त्रालयले पनि एआईजी थप गर्ने प्रस्तावमा स्वकृति दिइसकेको स्रोतले जानकारी दिएको छ। त्यस्तै, सशस्त्र प्रहरीमा पनि एक जना एआईजी थप गर्ने तयारी भइरहेको हो।

हाल नेपाल प्रहरीमा प्राविधिक सहित ६ जना एआईजीको दरबन्दी छ। हाल एआईजीमा हरिबहादुर पाल, प्रधुम्‍न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिक तर्फ डा आशा सिंह छन्।

एआईजी थप गरेपछि हाल प्रहरीभित्र रहेका विभाग र ब्युरोमा डीआईजीको ठाउँमा एआईजी राख्ने तयारी भइरहेको छ। तीन वटा दरबन्दी थप भए नेपाल प्रहरीमा एआईजीको सङ्ख्या ९ हुनेछ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआईजी पुगेको रेकर्ड छ।

दरबन्दी थप हुने भएसँगै एआइजी बढुवामा दौडधुप पनि सुरु भइसकेको छ। एआइजी बढुवामा डीआईजी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, ईश्वरबाबु कार्की लगायत १२ भन्दा बढी आकांक्षी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell