
काठमाडौं : संघीयतासँगै नेपालमा शहरी जनसंख्या बढेको छ।
२०७८ को प्रारम्भीक जनगणना अनुसार ६६.०८ प्रतिशत शहरी जनसंख्या रहेको देखिएको छ। तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार हाल १ करोड ९२ लाख ९१ हजार ३१ जना शहरमा रहेको उल्लेख छ।
त्यस्तै ग्रामिण जनसंख्या ९९ लाख १ हजार ४४९ रहेको तथ्यांकमा उल्लेख छ। जुन कुल जनसंख्याको ३३.९२ प्रतिशत रहेको छ।
नेपाल सरकारले घोषणा गरेका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण तथ्यांक विभागले गरेको छ।
२०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोले सोही अनुसार शहरी जनसंख्याको विश्लेषण गरिएको थियो।
जसअनुसार राष्ट्रिय जनगणना २०६८ मा १७.०७ प्रतिशत शहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामिण जनसंख्या रहेको थियो।
संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामिण जनसंख्या ३६.८१ प्रतिशत पुगेको थियो।