काठमाडौँः गोङ्गबुमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
अदालतको आदेश अनुसार उनीहरूलाई केन्द्रीय कारागार सुन्धरा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीले २३ वर्षीय हिक्मत नेपाली, हस्त नेपाली, दीपक नेपाली, रतन नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, सुरेश सेजुवाल, चन्द्र साउद र गोपाल कुमार शिरीषलाई पक्राउ गरी मुद्दा चलाइएको थियो। ९ जना नै वैदेशिक रोजगारीमा जाने सिलसिलामा काठमाडौँका आएका थिए।
प्रहरीले तीन गेस्ट हाउसका सञ्चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। होटेल सञ्चालक द्रोणाचार्य पौडेल, जानुका घिमिरे पोखरेल र मञ्जु खरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सञ्चालकलाई भने जनही ३ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश गरेको छ।
पुस १२ गते र १३ गते सुर्खेतकी ३४ वर्षीय महिलालाई गोङ्गबुको मित्र नगरमा रहेका तीन गेस्ट हाउसमा सामूहिक बलात्कार भएको थियो।