PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!



मुकुन्द घिमिरे

काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!

काठमाडौँ: नेपाल र मरिससबीच माघ १५ गते र १८ गते मैत्रीपूर्ण खेल हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिएर खेल खेलाउने तयारी अघि बढाएको छ।

अर्कोतर्फ नेपाल आइपुगेका मरिससका ४ जना खेलाडीलाई कोभिड संक्रमण भएको छ। मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि गरेको पीसीआर परीक्षणमा लोइक मिचेल, वाल्टर सेन्ट मार्टिन, हान्स पटाटे र केरल्सन एगाथेलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो। बिहीबार बिहान फेरि कोरोना परीक्षण हुने बताइएको छ।

अर्कोतर्फ नेपाली टोलीका एक अफिसियल पनि एक डिभिजन लिगको नवौँ चरण सकिएपछि परीक्षण गर्दा संक्रमित पाइएका थिए। शहीद स्मारक ए डिभिजन लिगका विभिन्न क्लबका खेलाडी पनि संक्रमित पाइएका थिए। राष्ट्रिय टोलीको परीक्षण र नतिजाबारे भने एन्फाले केही खुलाएको छैन। तर, लिगको नवौँ चरणको एउटा खेलमा च्यासलको टिम संक्रमणका कारण उपलब्ध नहुने भए पछि पुलिस र च्यासलबीचको खेल नै स्थगित भएको थियो भने राष्ट्रिय महिला लिग स्थगित भएको थियो।

अर्कोतर्फ नेपाल र मरिससबीच हुन गइरहेको मैत्रीपूर्ण खेलमा रंगशालाको क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिइने तयारी एन्फाको छ। कोभिड १९ बाट सुरक्षाका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने एन्फाले जनाएको हो। खेलका लागि अन्य सबै तयारी पुरा भएको एन्फाले जनाएको छ।

नेपाल र मरिसस माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल खेल्दैछन्। खेलका लागि मरिससको टोली सोमबार नेपाल आइपुगेको हो।

स्टेडियममा प्रवेशका लागि भिआइपीतर्फ एक हजार र सामान्य प्यारापिट तर्फ ५ सय रुपैया शुल्क एन्फाले तोकेको छ। खेल साँझ पौने पाँच बजेबाट सुरु हुनेछ। मरिसससँगको खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ।

फिफा वरीयताका हिसाबले मरिसस नेपालभन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल वरीयतामा १६९ औं स्थानमा छ।

पछिल्लो समय २०२० मा बंगबन्धु गोल्डकपमा सहभागी भएको मरिससको पछिल्ला प्रदर्शनहरु खासै उत्कृष्ट छैन। बंगबन्धु २०२० को समूह बी मा रहेको मरिससले बुरुन्डीसँग १-४ गोल अन्तरको पराजय र सेनेगलसँग २-२ को बराबरी खेलेको थियो। मरिसस जितको खडेरी तोड्न चाहन्छ।

अर्कोतर्फ पछिल्लो समय नेपालले घरेलु मैदानमा सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो। जसमा पहिलो पटक साफको उपविजेता बनेको थियो।

पछिल्लो समय कोरोना संक्रमणको दर पनि ह्वात्तै बढेको छ। बुधबार आठ हजार ४५४ संक्रमित थपिएका छन्। परीक्षणको ४० प्रतिशतभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ। 

महामारी फैलिँदै गर्दा सरकारले कडाइ गर्न थालेको छ। विद्यालय बन्द छन् भने सार्वजनिक यातायातमा जोर-विजोर लगाइएको छ।

त्यस्तै विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम गर्न प्रशासनको स्वीकृति लिनुपर्ने लगायतका मापदण्ड छन्। जसले जारी खेलकुदमा पनि प्रभाव पार्नेगरि मन्त्रिपरिषद् बैठकको निर्णयले प्रभाव पार्ने देखिन्छ। कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाइमात्र दर्शकले प्रतियोगिता हेर्न पाउने छन्। खेल आयोजकको खर्चमा उपस्थित दर्शकमध्ये 'र्‍यान्डमली' छनोट गरेर एक तिहाईको एन्टिजेन परीक्षण गर्नुपर्ने पनि निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell