- सुभाषचन्द्र देवकोटा -
कुनै बेला, सिद्धान्त, आदर्श र सेवा मूलबाटो थियो राजनीतिको। सिद्धान्त र आदर्शका लागि मान्छेहरू मर्न डराउँदैनथे। त्यसैले सिद्धान्त र आदर्शको जीवन बिताएका पुष्पलाल, वीपी, मदन भण्डारी, गणेशमान, मनमोहनलाई आज पनि श्रद्धाले सम्झिन्छन् मानिसहरु। त्यस्तै आदर्श र इमानको मृत्युवरण गर्ने गंगालाल, धर्मभक्त, दशरथचन्द, शुक्रराज, कृष्ण सेन र क्याप्टेन यज्ञबहादुर थापाहरू नेपालको आकासमा कहिल्यै नअस्ताउने नक्षत्र भएर चम्किरहेका छन्। हामी गर्व गर्छौ हाम्रा अग्रजप्रति, उनीहरुको त्याग, बलिदान र इमानप्रति।
तर, आज देशमा विचार र इमानको खडेरी छ। कुनै बेला विचार, आदर्श र इमानको पाठशालाका रुपमा चिनिएका राजनीतिक दल आफैँ इमानको खडेरीले मुर्झाएका छन्, चाउरिएका छन्।
नेपालमा कम्युनिस्टहरूको कथा पनि यसभन्दा फरक छैन। पुष्पलालको आदर्श, मदन भण्डारीको विचार, मनमोहन सादगी र हजारौं शहीदहरूको वलिदानको जगमाथि उभिएर आफ्नो व्यक्तित्व चम्काएका कम्युनिस्टहरूले आफैँ उभिएको जगमा आगो झोसेका छन्। रंगरोगन र व्यवहार सबै पूँजीवादी भए पनि पनि जनताको आँखामा छारो हाल्न आफूलाई असली कम्युनिस्ट भएको अभिनय गर्छन् नेताहरू। नेपाली राष्ट्रियतामाथि पटकपटक छेडखानी गरेर सत्ताको तर मारेकाहरु पनि आवरणमा राष्ट्रवादी भएकै देखाउँछन्।
देशमा गरिवी उस्तै छ, विभेद र हिंसाको पराकाष्टा रोकिएको छैन। तर, राजनीतिक दलका नेताहरू नै स्वास्थ्य, शिक्षाका ठूला व्यापारी छन्। उनीहरूले नै ठूला ठूला सिन्डिकेट चलाएका छन्। नेताहरू पाल्ने, पार्टी चलाउने हैसियत उनीहरू नै राख्दछन्। राजनीतिक नियुक्ति कसलाई गर्ने भन्ने पनि उनीहरू नै तय गर्छन्। आफ्नो व्यापारलाई ध्यान दिएर नीति नियम बनाउँछन्। यसरी व्यापारी र सिन्डिकेटवाला कार्यकर्ताको वैशाखी टेकेर पार्टी चल्ने भएपछि जनताले दुःख नपाए कसले पाउने? बेरोजगार युवाहरु विदेशतिर लर्को नलागे को लाग्ने?
जनताले ३० वर्षे पञ्चायती शासन भोगे। करिब २० वर्ष बहुदलीय प्रजातन्त्रको कुशासन पनि भोगे। र, अहिले झन्डै डेढ दशक यता संघीय गणतन्त्रको बेहाल, बेथिति बेहोर्दै छन्। जुन जोगी आए पनि कानै चिरिएको भने झै सत्तामा बस्नेहरू फेरिए, जनताले जीवनको भोगाइमा फरक अनुभूति भएन। जनताको जीवनमा सुखको घाम झुल्किएको छैन। हैसियतमा कुनै परिवर्तन आएको छैन। तर, तिनै जनताको नाउँमा राजनीति गर्ने भन्ने राजनीति दलका खेलाडीको भने रातारात हैसियत बदलिएको छ। हेर्दाहेर्दै नवसामन्तमा रूपान्तरण भएका छन् नेताहरु।
नेपाली कम्युनिस्टले आफ्नो मौलिक बाटो बिर्सिएका छन्। सामान्य जनता सर्वहारामा परिणत हुँदै जाँदा सत्ताको राजनीति गर्ने कम्युनिस्टहरू भने धनकुवेर भएका छन्। कुनै बेला जनसंस्कृतिको कुरा गर्नेहरू सामन्ती संस्कृतिका महापण्डित भएका छन्। मन्दिर पुगेर भजन गाउँदै शान्ति-स्वस्ती गर्न थालेका छन्। जनताका लागि राजनीति गर्ने नाउँमा राजनीतिका 'गतिला' ब्यापारी बनेका छन्। अग्रजहरुको त्याग र वलिदानको पवित्र जगमाथि आफ्नो राजनीति चम्काएकाहरू आज त्यही आफू उभिएको पवित्रत जगमाथि स्वार्थको आगो झोसिरहेका छन्।
सिद्धान्त र इमानबाट स्खलित भएका नेपाली कम्युनिस्टहरू आग्रह र इर्श्याको अहालमा चुर्लुम्म डुबेका छन्। आत्मकेन्द्रित, स्वार्थी र कपटी भएका छन् उनीहरु। त्यही आग्रह र इर्श्यालाई सिद्धान्तको जलप लगाएर आफू अनुकूल व्याख्या गर्ने जाली मार्क्सवादी भएका छन्।
कार्यक्रम केन्द्रित हुनुपर्ने कम्युनिस्टहरू व्यक्ति केन्द्रित र व्यक्तिवादी भएका छन्। नेताको बोलीलाई देवाणी मानेर उनीहरू कै वरिपरि प्रदक्षिणा गर्नेहरूको भीड बढेको छ। परिणामः आदर्श र इमानका कुरा गर्ने कम्युनिस्ट कार्यकर्ता अब बेचल्तीका टक्का भएका छन्। अब निष्ठा र इमानका पारखीलाई बेदखल गर्नु, नेताहरूको स्तुती गाउने भाटगिरी नै नेपाली कम्युनिस्ट आन्दोनको मौलिक सिद्धान्त बनेको छ।
सिद्धान्त र आदर्शका मानकहरुलाई रद्धीको टोकरीमा फ्याँकेपछि कम्युनिस्ट आन्दोलन कार्यक्रम र दृष्टिविहीन भएको छ र नेताहरूको व्यक्तिगत मनोकांक्षामा चलेको छ। नेता स्वार्थको लगाम लगाएर दौडेको छ। बैचारिक मियो विहीन बनेको कम्युनिस्ट आन्दोलन विचार भन्दा नेताको हैकममा चल्न थालेपछि आर्दशका लागि जेलनेल भोगेका इमानी कार्यकर्ता सीमान्तकृत बनेका छन्। नेताहरुको अर्दली हुन पाउँदा गर्वले छाती फुलाउने कार्यकर्ता तथा नेताले नै आन्दोलनको मूलधार कब्जा गरेपछि नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो मौलिकता पूरै गुमाएको छ। कम्युनिस्ट आन्दोलनको राप, ताप, ओज सेलाएको छ।
विभेदमा पारिएका समुदायहरुको उत्थान र राष्ट्रियता नेपाली कम्युनिस्ट आन्दोलन उद्भवको जग थियो। त्यही जगमा उभिएर नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भयो र परिवर्तनको संवाहक पनि बन्यो। विभेदबाट मुक्ति र राष्ट्रियताको जगेर्नाको सपना बोक्ने कैयौं कार्यकर्ता आन्दोलनका क्रममा मारिए। अंगभंग भए, जेलनेलको यातना सहे। र, कैयौं अझै पनि बेपत्ता नै छन्। तर दुर्भाग्य, खोला तर्यो, लौरो बिर्सियो भनेजस्तै सत्ताको खेलमा लागेपछि आन्दोलन र युद्धको बेला गरेको वाचा र प्रतिवद्धता नेताले बिर्सिए। आफ्नो राजनीति उन्नयनको जग नै ध्वस्त पारे। आफ्ना लागि सुखको स्वर्ग बनाउन दत्तचित्त भएका नेताले विचार र आदर्शलाई रछ्यानमा मिल्काए। राष्ट्रियता बिर्सिए। विभेदमा परेकाको मुक्तिका सपनाको मानमर्दन गरे। देश बदल्ने कसम खाएर कम्युनिस्ट भएकाले देश र जनताको अवस्था परिवर्तन गर्न त सकेनन् तर आफैँ भने बदलिए। हैसित परिवर्तन गरे - राजनीतिक, आर्थिक र सामाजिक पनि।
कम्युनिस्ट आन्दोलनमा थुप्रै नेता आए। गुट उपगुट पनि बने। तर गुट उपगुट जे जति भए पनि नेपाली कम्युनिस्ट नेताहरुको मनोविज्ञान सबैको एकैखाले छ। मनसाय र नियत पनि उस्तै मिल्दो। जनताको सपनामाथि राज गर्नु! कुरा गर्दा कम्युनिस्टहरु सामुहिकता र वर्गीयताको कुरा गर्छन्। निजत्वको विरोध। तर जब नाफा नोक्सानको कुरा आउँछ, सामुहिकता, वर्गीयताको कुरा सबै बिर्सिन्छन्। निजी स्वार्थमा रमाउन थाल्छन्। परिवार, श्रीमती, छोराछोरीको वरिपरि घुम्छन्। नियुक्ति, बढुवा, सरुवा र ठेक्कापट्टामा समेत छानीछानी आफ्ना मान्छे भर्छन्। त्यहाँ न कतै विचारको कुरा देखिन्छ न संगठन र पद्दतीकै।
पूँजीवादको चर्को विरोध गर्ने कुनै जमानाका कम्युनिस्ट आज आफैँ पूँजीवादी भएका छन्। शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षाको निजीकरणको विरोध गर्ने अभियन्ता आज आफैँ स्कुल, स्वास्थ्य लगायत व्यापारिक प्रतिष्ठानका मालिक बनेका छन्। ठूला व्यापारिक घरानामा रूपान्तरित भएका छन्। पैसाले राजनीतिलाई औंलामा नचाउन सक्ने भएका छन्। जनताको नाममा राजनीति गरेको भन्न रुचाउने कम्युनिस्टहरु अहिले महलमा बस्छन् र राजसी जीवन बिताउँछन्। आनीबानी, खानपान र बोली व्यवहार श्री ३ जंग बहादुर राणाको नक्कल गर्छन्। तर, पनि भोका र नाङ्गा जनताको हितमा गुड्डी हाँक्न छाड्दैनन्। शहीदहरुको फोटा बैठक कोठामा टाँसेर गुन लगाएको सम्झिन्छन्। न शहीदका टुहुरा छोराछोरीका आँशुले उनीहरुलाई पोल्छ। न शहीदका सपनाले उनीहरुलाई दुख्छ।
निजी सम्पत्तिका लोभीहरु कम्युनिस्ट पार्टीका नेता हुन सक्दैनन् भनेर चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले भनिरहेको बेला नेपालका कम्युनिस्टहरु भने धन सम्पत्ति जोड्न मरिहत्ते गरेर लागेका छन्। सबै इमान जमान, आदर्श र विचारलाई रछ्यानमा फालेर दायाँबायाँ नहेरी दौडिरहेका छन्।
सबैलाई थाहा छ, नेपालका कम्युनिस्टहरूले बाटो बिराएकै छन्। जनताको मन दुखाएर गरिने राजनीतिले भलो गर्दैन भन्ने कुरा हाम्रा महान कम्युनिस्टहरूले बुझ्नै पर्दछ। अन्यथा इतिहासले कसैलाई माफी दिने छैन। चेतना भया।