PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?



विधुर ढकाल

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख चार हजार ६५१ जनसंख्या रहेको भक्तपुरमा यसबीच जनसंख्या चार लाख ३० हजार ४०८ पुगेको छ।

त्यस्तै रुपन्देही जिल्लामा २.३० प्रतिशतले जनसंख्या वृद्धि भएको छ। रुपन्देही जिल्लामा २०६८ मा ८ लाख ८० हजार १९६ रहेको जनसंख्या १० वर्षमा बढेर ११ लाख १८ हजार ९७५ पुगेको छ। त्यस्तै चितवनको जनसंख्या पनि २.१० प्रतिशतले बढेको छ। चितवनमा पाँच लाख ७९ हजार ९८४ जनसंख्या रहेको चितवनमा २०७८ सालसम्म आइपुग्दा जनसंख्या सात लाख २२ हजार १६८ पुगेको छ।

बाँके जिल्लाको जनसंख्या १० वर्षमा १.९७ प्रतिशतले बढेको छ। त्यहाँ २०६८ को जनगणनामा चार लाख ९१ हजार ३१३ रहेको जनसंख्या १० वर्षमा बढेर ६ लाख ३ हजार ३९३ पुगेको छ। सुनसरीमा १.९४ प्रतिशतले जनसंख्या बढेको छ।

१० वर्ष अगाडिको तुलनामा ३२ जिल्लामा जनसंख्या घटेको तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले देखाएको छ। २०६८ सालको जनगणनामा २७ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक (घटेको) थियो।

सबैभन्दा कम जनसंख्या वृद्धिदर रामेछाप जिल्लामा देखिएको छ। रामेछापमा जनसंख्या वृद्धिदर ऋणात्मक १.६ प्रतिशत रहेको छ।

हिमाली जिल्लामध्ये मुगुमा जनसंख्या वृद्धिदर सबैभन्दा बढी देखिएको छ। त्यहाँ १.८० प्रतिशतले जनसंख्या बढेको छ।

त्यस्तै ४५ वटा जिल्लाको जनसंख्या वृद्धिदर धनात्मक(बढेको) रहेको छ। २०६८ सालको जनगणनापछि १० वर्षको अवधिमा ४५ वटा जिल्लामा जनसंख्या बढेको देखाएको छ।

पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार हाल प्रति वर्गकिलोमिटर जनघनत्व १९८ रहेको छ। २०६८ सालमा जनघनत्व १८० थियो।

२०६८ को जनगणनाअनुसार तराईमा जनघनत्व ३९२ प्रतिवर्गकिलोमिटर रहेकोमा हाल ४६१ पुगेको छ। भने हिमाली क्षेत्रको जनघनत्व भने स्थिर रहेको छ। हिमाली क्षेत्रमा २०६८ सालमा ३४ प्रति वर्गकिलोमिटर रहेकोमा २०७८ मा पनि ३४ नै रहेको छ।

त्यस्तै पहाडमा २०६८ सालमा १८६ प्रति वर्गकिलोमिटर रहेकोमा हाल १९२ रहेको छ। तराइमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा सबैभन्दा बढी जनघनत्व रहेको छ।  ६३६ रहेको छ। जुन वाग्मती प्रदेशको भन्दा दोब्बर हो। त्यस्तै वाग्मतीमा ३०० प्रतिवर्ग किलोमिटर रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा २३० रहेको जनघनत्व प्रदेश १ मा १९२ र सूदुरपश्चिममा १३६ रहेको छ। त्यही गण्डकी प्रदेशमा ११६ हुँदा कर्णाली प्रदेशमा सबैभन्दा कम ६१ प्रतिवर्ग किलोमिटर रहेको छ।

जनगणनताको प्रारम्भिक तथ्यांकअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रति वर्गकिलोमिटर र मनाङमा प्रति वर्गकिलोमिटर ३ जना रहेका छन्। जनसंख्या वृद्धिदरको २० औं स्थानमा रहेको काठमाडौंमा जनघनत्व भने अघिल्लो जनगणना भन्दा बढी छ। २०६८ को जनगणनामा काठमाडौंको जनघनत्व ४ हजार ४१६ रहेकोमा २०६८ को प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंको जनसंख्या पाँच हजार १०८ रहेको छ। त्यस्तै भक्तपुरको जनघनत्व प्रतिवर्गकिलोमिटर तीन हजार ६१७ र ललितपुरमा एक हजार ४२४ रहेको छ।

त्यस्तै रुपन्देही जनघनत्वको आधारमा चौथो जिल्ला बनेको छ। त्यहाँ ८२३ जनघनत्व छ। त्यस्तै सुनसरीमा ७४३ रहेको छ। मनाङमा सबैभन्दा कम तीन रहँदा मुस्ताङमा चार, डोल्पामा ५, हुम्लामा १० र मुगुमा १९ जना प्रतिवर्गकिलोमिटर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell