काठमाडौं : मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीभित्र दुई वटा शव फेला परेको छ। उखुबारीभित्र गाडीको अवस्थामा दुई वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन बिसिले जानकारी दिए।
'उखु काट्ने क्रममा नयाँ माटो देखेर शंका लागेर खन्दा शव भेटिएको हो,' एसपी बिसिले भने।
एसपी बिसिले दिएको जानकारीअनुसार दुई वटै शव पुरुषको भएको खुलेको छ। करिब दुई बिघामा लगाइएको उखुबारीको बिच भागमा ४/५ फिट गहिरो पारेर गाडिएको अवस्थामा शव भेटिएको हो। एउटा शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा अर्को शव गाडिएको अवस्थामा भेटिएको हो।
'शवको प्रकृति हेर्दा करिब एक महिना अगाडि नै गाडिएको हुनसक्ने अनुमान हो। थप पोस्टमार्टमपछि खुल्ने छ,' एसपी बिसीले भने।
घटनाको अनुसन्धान गर्न प्रहरीले सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको छ।