
काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ जनामा कोरोना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण देखिएको हो।
१५ हजार ७३६ जनाको आरटी-पीसीआर परीक्षणबाट ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा कोरोना संक्रमण पहिचान भएको हो। परीक्षण गरिएका नमुनामध्ये ३६.७६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमणको संख्या हिजोकै अनुपातमा रहेको छ। हिजो २० हजार ३५९ जनामा परीक्षण गर्दा ८ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएका छन्।