PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा
फाइल फोटो: एन्फा

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै ६ पटकको विजेता मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खेलको दशौं मिनेटमा युद्ध शाहीले पेनाल्टी क्षेत्र भित्र हेण्डबल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। जसमा विमल रानाले गरेको प्रहार गोलपोस्टमाथिबाट गएको थियो। निर्धारित ९० मिनेटको समयसम्म पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो तर अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न सकेनन्। र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा मनाङले ४-३ गोलअन्तरले जित निकाल्यो।

पेनाल्टी सुटआउटमा आर्मीका विवेक बस्नेत, जर्जप्रिन्स कार्की र भरत खवासले गोल गर्दा युद्ध शाही र दीपक गुरुङ चुकेका थिए। मनाङका फ्र्याङक्लिन तल्ला, शिव गुरुङ, रुपेश केसी र ओलावाले अफीजले गोल गर्दा विश्व अधिकारी चुकेका थिए।

फाइनलमा मनाङले विभागीय टोली एपीएफको सामना गर्नेछ। पहिलो सेमिफाइनलको खेलमा शहीद स्मारक ए डिभिजन लिगको लिडर मछिन्द्र क्लबलाई हराउँदै एपीएफले फाइनलको यात्रा तय गरेको थियो।

फाइनल खेल शनिवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell