PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?

काठमाडौँ: कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त हुने भएको छ। उक्त पद रिक्त भएसँगै उनको स्थानमा को आउला, चासोको विषय बनेको छ।

फागुन २१ गतेबाट पौडेलले राष्ट्रियसभामा कार्यभार सम्हालेसँगै मुख्यसचिवबाट बिदा हुने कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यालयबाट उनको बिदाईसँगै कांग्रेसमा मुख्य सचिवको पद रिक्त रहनेछ।

को बन्ला नयाँ मुख्य सचिव?

मुख्य सचिवको अनुपस्थितिमा डा. प्रदीप पराजुलीले अहिले कार्यवाहक मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। २८ वर्षदेखि कांग्रेसको सेवा गर्दै आएकाले मुख्य सचिवमा दाबी रहने पराजुलीले बताए।

'२८ वर्षदेखि सेवा गर्दै आएको हो। अहिले कार्यवाहक मुख्य सचिव पनि हुँ। यसरी हेर्दा पाउनुपर्ने हो,' पराजुलीले पहिलोपोस्टसँग भने।

केन्द्रीय कार्यालयमा सक्रिय भएर लागेका पराजुली नेता प्रकाशमान सिंह निकट मानिन्छन्। पछिल्लोपटक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रकाशमानको 'टिम अप' राम्रै रहेकोले पराजुलीको सम्भावना राम्रै रहेको बताइन्छ। यद्यपि मुख्य सचिव तोक्ने काम सभापतिको तजबिज भएकोले को हुने भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन।

पार्टी कार्यालयमा पराजुलीपछि खटिने सचिवहरुको नाममा सूचना अधिकारी केशव रिजाल हुन्। रिजाल केन्द्रीय निर्वाचन समितिमा समेत सचिव रहेर सक्रिय रहेका थिए। अधिवक्तासमेत रहेका रिजाल देउवा निकट हुन्। मुख्य सचिवमा उनको नाम पनि चर्चामा रहेको छ। यसै गरी प्रकाश शर्मा र प्रेम केसी पनि सक्रिय रहँदै आएका सचिव हुन्।

पार्टीको मुख्य सचिव खोजी भए पनि देउवाले अहिले नै नियुक्ति गर्ने हतारो नगरेको बालुवाटार स्रोतले जनाएको छ।

'मुख्य सचिव नियुक्ति सभापतिको तजबिजको कुरा हो,' स्रोतले भन्यो, 'अहिलेका मुख्य सचिवको कार्यभार राष्ट्रियसभामा प्रारम्भ हुनसाथ नयाँ मुख्य सचिवको खोजी हुन्छ होला।'

बालुवाटार स्रोतले नयाँ मुख्य सचिव अहिले भएका सचिवहरुबाट भन्दा पनि बाहिरबाटै नियुक्त गर्ने दाबी गरे। 'कसलाई नियुक्त गर्ने भन्ने कुरा सभापतिको अधिकारको कुरा हो। सायद मुख्य सचिव अहिलेको सचिवहरुबाट छानिँदैन,' स्रोतले दाबी गर्‍यो।

मुख्य सचिव नियुक्तिबारे कांग्रेसको नियमावली  २०७६ मा उल्लेख गरिएको छ। नियमावलीको नियम ४६ को उपनियम १ को (ग) मा यससम्बन्धी व्यवस्था गरिएको छ।

नियमावलीले नियुक्तिलाई सभापतिको अधिकारका रुपमा दिएको छ। सभापतिले चाहेसम्म कार्यसम्पादन गर्न पाउने व्यवस्था छ। केन्द्रीय कार्यालयको प्रशासनिक प्रमुखको रूपमा मुख्य सचिवको अधिकार रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell