
अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डी पउलले चिलीमा अर्जेन्टिनाको फुटबल टोलीमाथि दुर्व्यवहार भएको आरोप लगाएका छन्। विश्वकप छनोट अन्तर्गतको खेल खेल्न चिली पुगेको अर्जेन्टिनी टोली विमानबाट ओर्लिएसँगै कडाइ गरेको र बाथरुम समेत प्रयोग गर्न नदिएको आरोप उनले लगाएका छन्।
'हामी प्लेनबाट ओर्लिएपछि उनीहरुले बाथरुम जानसमेत अनुमति दिएनन्। उनीहरुले एयर कन्डिसन काटे र त्यहाँको बसाईमा साइरनको आवाज आइरह्यो,' उनले भनेका छन्, 'म यो ठीक या बेठीक भनिरहेको छैन तर एक अर्जेन्टिनीका रुपमा जब कुनै टोली हाम्रो देशमा आउने छ। हामीले उनीहरुलाई सहज वातावरण दिनुपर्नेछ। र, मैदानमा खेल जित्नुपर्नेछ।'
अर्जेन्टिनाको रोमाञ्चक जित
चिलीस्थित स्टेडियो जोरोसमा सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको थियो। कोभिड १९ संक्रमणका कारण प्रशिक्षक लियोनल स्कालिनी र कप्तान लियोनल मेस्सीबिनै चिली पुगेको अर्जेन्टिनी टोलीले घरेलु मैदानमा चिलीलाई हराएको हो।
खेलको नवौं मिनेटमै रोड्रिगो डी पउलको पासमा एन्जेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर, २० औं मिनेटमा चिलीका लागि मार्सेलिनो नुनेजको पासमा बेन बेरेटोन डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले फेरि अग्रता बनायो। यसपटक लौटरो मार्टिनेजले गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा अर्जेन्टिनाले २-१ ले खेल आफ्नो पक्षमा पार्यो।
आज बिहाननै सम्पन्न अन्य खेलहरुमा ब्राजिल र इक्वेडर १-१ को बराबरीमा रोकिँदा उरुग्वेले पाराग्वेमाथि १-० गोलअन्तरले जित निकालेको थियो।
छनोटको शीर्ष दुईमा रहेका ब्राजिल र अर्जेन्टिन विश्वकपमा छनोट भइसकेका छन्। समान १४ खेलबाट शीर्षस्थानमा रहेको ब्राजिलको ३६ अंक छ भने दोस्रो स्थानको अर्जेन्टिनाको ३२ अंक छ।