काठमाडौं : गत पुस १ गते दुई हातले सजिलैसँग उठाउन सक्ने कार्टुनको बक्स त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा चीनबाट आयो। कार्टुनको बाहिरपट्टि लेखिएको थियो 'इलेक्ट्रिक पर्स'। अन्य सामान झैँ भन्सारको ड्युटीमा खटिएका एक नायव सुब्बाले कार्टुनलाई ध्यान दिएर हेरे।
तर, उनलाई यो कार्टुन सामान्य भने लागेन। इलेक्ट्रिक पर्स लेखिएकाले उनले आयातित वस्तु संदेहपूर्ण रहेको आँकलन गरे। विमानस्थल कार्यालय प्रमुख महेश भट्टराईलाई तत्कालै फोन गर्नुको कारण त्यही संदेह थियो। उनले शङ्कास्पद बस्तुका बारेमा जनाकारी गराए। प्रमुख भट्टराईले उक्त डिभासको कार्टुन कसैलाई नदिई अलग्गै राख्न निर्देशन दिए। त्यसपछि भन्सार प्रमुख भट्टराई सामान भएको ठाउँमा पुगे।
एनएनजीनस्याङ क्लोजिङ कम्पनीको नाम लेखिएको थियो कार्टुन खोलेर बक्स हेर्दा। ती सुब्बाले उक्त सामान क्रिप्टोकरेन्सीको उपकरण हुनसक्ने सङ्केत गरे। त्यसपछि प्रमुख भट्टराई झनैं झस्किए। त्यसपछि नेपाल राष्ट्रबैङ्क, मातहतको मन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत खबर गर्यो। कार्यालयमा एकाएक चर्चाको विषय बन्यो उक्त बक्स।
कार्टुन खोलेर हेर्दा अन्य साना ३० वटा प्याकेटहरु थिए। तिनको बाहिर पट्टि साफ्पाल एस वान लेखिएको थियो। त्यसको तलतिर सानो अक्षरमा लेखिएको थियो - 'क्रिप्टोकरेन्सि हार्डवेयर वालेट'। भन्सारका नायव सुब्काको शंकालाई त्यहाँ प्रिन्टेड शब्दले पुष्टि गर्दै लगेको थियो। राष्ट्र बैङ्क नेपालमा क्रिप्टोको कारोबारबारे जानकार थियो। र, उसले त्यसलाई अवैध कारोबार भन्दै आएको थियो। अब भन्सारमा आइपुगेका सामानको अनुसन्धान कसले गर्ने त? सबैको एउटै सुझाव – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)।
पुस २ गते भन्सार कार्यालयले सामानका बारेमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गर्यो। बरामद भएको सामान अनुसन्धानका लागि पठाइयो।
सीआईबीले एक साता लामो समयसम्म अनुसन्धान गर्यो त्यसमाथि। केन्द्रीय अनुसन्धान ब्युरो पनि देशभित्र विदेशी नागरिक सहितले क्रिप्टोकरेन्सी कारोबार गरिरहेको सूचनाबाट बाहिर थिएन। त्यसपछि हात लागेको यस्तो डिभाइसले झनै अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो।
पुस ११ गते सीआईबीले भन्सार कार्यालयलाई अनुसन्धान सकेर पत्राचार गर्यो। पत्रमा बरामद भएको सामग्री क्रिप्टोकरेन्सीमा प्रयोग हुने डिभाइस भएको उल्लेख गर्यो। सीआईवीले पठाएको पत्रमा प्राइभेट 'कि' भण्डार गर्ने डिभाइस भएको तर भण्डार नभएको उल्लेख गरिएको थियो।
'यो क्रिप्टोमा प्रयोग हुने डाटाहरू सुरक्षित राख्न प्रयोग हुने डिभाइस भएको हाम्रो अनुसन्धानमा देखिएको थियो,' केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी धीरजप्रताप सिंहले भने।
भन्सारमा आइपुगेको सामान नेपालमा प्रतिबन्धित भएको खुल्यो। त्यसपछि भन्सार कार्यालयले जफत गरेर नष्ट गर्ने प्रक्रिया अगाडि बढाएको छ।
को थिए किप्टोको डिभाइस मगाउने?
भन्सारमा आइपुगेको सामानको मूल्य भने सामान्य नै थियो। एउटा पिसको दुई डलरमात्र। अर्थात्, सबै गरी ६० डलर। आजको विनिमय दर अनुसार ७ हजार २ सय रुपैयाँ मात्र। बिलमा लेखिएको मूल्य सामान्य नै भए पनि यसपछाडि हुने गतिविधिको मूल्य भने चर्को।
यो सामान लिन को आउला? सबैको चासोको विषय बनेको थियो। सामान भित्रिएको केही समयपछि एक व्यक्ति भन्सार कार्यालय पुगे - त्यसलाई लिनका लागि। अन्दाजी ५० वर्षीय महिला सामान लिन पुगेकी थिइन्।
सामान लिन पुगेकी महिलाको नाम थियो – सञ्जु न्यौपाने। काठमाडौंको कोटेश्वर ठेगाना। उनीमाथि सामान्य सोधपुछ भयो। तर, उनलाई के सामान आउँदैछ भन्ने समेत हेक्का रहेनछ। सामान छुटाउन गएकी महिलाको पृष्ठभूमि समेत सोधखोज भयो। तर, भन्सार कार्यालयले र सीआईबी दुवै विश्वस्त भएनन् - त्यो सामान उनै महिलाले झिकाएकी हुन् भन्नेमा।
आफन्तले अस्ट्रेलियाबाट सामान पठाएको बताइन् तिनै महिलाले। कुनै आपराधिक पृष्ठभूमि नदेखिएपछि महिलालाई हाजिरी जमानीमा छाडियो।
यसरी क्रिप्टोको वालेट नै भित्रिनुले पुष्टि गर्छ - नेपालमा क्रिप्टोकरेन्सीको कारोबार कडै रुपमा अगाडि बढिसकेको छ।
मङ्गलवारमात्र चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ यसैसँग जोडिएको विषयमा। कैलालीका दिनेश खड्का अहिले यस क्षेत्रसँग चासो राख्नेहरु बिच चर्चित छन्।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दा ग्लोबल आईएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिएको छ जुसको कनेक्सन क्रिप्टोसँग छ। खड्काले उनकी महिला साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेको भेटिएको छ। यस्तै खड्काकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार भएको भेटिएको विभागले जनाएको छ। यस्तै, खड्काका बुबा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो। राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरिएको थियो। राजन भट्टराईले हालसम्म ९ सय ७५ जना ब्यक्तिसँग १ हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ। मंसिरदेखि पुससम्म २ लाख ६० हजारको कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको खुलेको थियो।
विदेशबाट आएको सामाग्रीले नेपालमा व्यवस्थित तरिकाले क्रिप्टोकरेन्सीको कारोबार जारी छ भन्ने थप पुष्टि गरेको छ। भन्सारमा एक नायव सुब्बाले शंकाले नहेरेको भए सायद यो कुनै ग्याजेटसका रुपमा बाहिरिसकेको हुन्थ्यो। त्यतिमात्र होइन, यसअघि बारम्बार आयात भइसकेको पनि हुनसक्छ।
'हाम्रो नासुले शङ्का गर्दा आपराधिक गतिविधिमा प्रयोग हुने सामाग्री जफत गर्न सफल भएका हौं। यो समाग्री हामी नष्ट गर्छौं,' त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने।
सामान्य व्यक्तिको नाममा सामान आयात भए पनि त्यो कसले प्रयोगका लागि ल्याइरहेको थियो? ती महिलाले कसलाई लगिदिन्थिन् - उक्त सामग्री? ती महिलाबाट प्रहरी निचोडमा पुग्ला त?