
काठमाडौं : नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल शनिवार दशरथ रंगशालामा हुँदैछ। नेपालसँग खेल्नका लागि आएको मरिससको राष्ट्रिय टोलीले काठमाडौंमा अभ्यास पनि गरिसकेको छ। लामो समययता अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको मरिससको राम्रो प्रदर्शन गर्ने विश्वासमा रहेको मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले बताए।
‘हामीलाई थाहा छ नेपाल राम्रो टिम हो। राष्ट्रिय म्याच नखेलेको अढाइ वर्ष भयो। ट्रेनिङ डिसेम्बरबाट गरेको हो। हामीसँग ४५ दिन थियो। हामी राम्रो म्याचको एक्सपेक्ट गर्छौँ’, उनले भने, ‘हामी हाम्रो बेस्ट दिनेछौँ। अफ्रिकन नेसन्सका लागि क्वालिफाइ हुनुछ। त्यसका लागि राम्रो तयारी हुने विश्वास छ। केही नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीका लागि खेल्दैछन्।’
काठमाडौं उत्रिएपछि गरिएको कोभिड परीक्षणमा चारजना मरिससका टोलीका सदस्यलाई कोभिड संक्रमण पुष्टि भएको थियो।
‘कोभिड संक्रमण भएका खेलाडी आईसोलेसनमा छन्। उनीहरु लगायत सबै खेलाडी महत्वपूर्ण छन्,’ उनले भने।
यता, नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने प्रिम्याच कन्फ्रेन्समा अनुपस्थित रहे। नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलाका गल्तीहरुलाई सुधारेर प्रस्तुत हुने बताए पनि कस्ता गल्ती भन्ने प्रश्नको स्पष्ट उत्तर दिन सकेनन्।
‘मरिससको गेमका लागि तयार छौँ। पहिलाको गल्ति सुधारेर राम्रो प्रदर्शन दिने आश गरेका छौँ। सबैभन्दा ठूलो कुरा एसियन कपको क्वालिफायर्स हो। नयाँ खेलाडीले अहिले ग्रोथ गराउन सके विस्तारै राष्ट्रिय टोलि बलियो बन्छ कि भन्ने कुरा हो’, श्रेष्ठले भने, ‘मरिसस वरीयताका हिसाबले हामी जस्तै हो। फिजिकल्ली बलियो छ।’
नेपाली टोलीका कप्तान किरण चेम्जोङले इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग मैत्रीपूर्ण खेल खेल्न गइरहेको भन्दै आफूहरु जितको लक्ष्य लिएर मैदान उत्रने बताए।
‘इतिहासमै पहिलो पटक अफ्रिकासँग खेल्न गइरहेका छौँ। खेलडी पनि लिग खेलेर आएकाले मेन्टल्ली र फिजिकल्ली फिट देखेको छु। मैत्रीपूर्ण म्याच हो भन्दैमा जे पनि गर्न मिल्दैन। रिजल्ट पनि चाहिन्छ। यसबाट केही सिक्ने र अनुभव बटुल्ने अवसर पाउने छौँ', कप्तान चेम्जोङले भने, ‘जित्नका लागि खेल्ने हो। लामो ग्याप पनि छैन। जित्नका लागि खेल्छौँ।’
अलमुताइरीले खेलहरुका लागि ठूलो संख्यामा खेलाडी छानेको बारे चेम्जोङले भने: कोभिड पोजेटिभ आउँछ कि भनेर पनि ३४ जनाको स्क्वाड गराएको हुन्छ। यो कोचको ट्याक्टिस होला।