PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेपाल र मरिससको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरमा, प्रवेश शुल्क एक हजार र पाँच सय



पहिलोपोस्ट

नेपाल र मरिससको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरमा, प्रवेश शुल्क एक हजार र पाँच सय
फाइल फोटो

काठमाडौं : नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो।

मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्सकोसले लामो समयपछि खेल्न गइरहेको उल्लेख गर्दै नेपालसँगको प्रतिस्पर्धा कठिन हुने बताए। उनले भने, 'हामी ४५ दिनको ट्रेनिङपछि यहाँ आएका छौं। नेपालसँग खेल्न सहज हुने छैन।'

उनले पछिल्ला वर्षहरुमा नेपालले राम्रो प्रदर्शन गरिरहेको आफूले पाएको बताए। 'नेपालले माल्दिभ्समा गरेको प्रदर्शन (साफ च्याम्पियनसिप)मा गरेको प्रदर्शन हामीले हेर्‍यौं। उनीहरुको पेस राम्रो छ। मरिसस फुटबलको 'बेस्ट' दिने हाम्रो प्रयत्न हुनेछ।'

काठमाडौं उत्रिएपछि गरिएको कोभिड परीक्षणमा मरिसस टोलीका चार जनालाई कोभिड संक्रमण पुष्टि भएको थियो।

‘कोभिड संक्रमण भएका खेलाडी आइसोलेसनमा छन्। उनीहरु लगायत सबै खेलाडी महत्वपूर्ण छन्,’ उनले भने।

नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलाका गल्तीहरुलाई सुधारेर प्रस्तुत हुने बताए पनि कस्ता गल्ती भन्ने प्रश्नको स्पष्ट उत्तर दिन सकेनन्।

'वरीयताका हिसाबले हामी लगभग सँगसँगै छौं। तर, फिजिकल्ली उनीहरुसँग खेल्न कठिन हुने मलाई लाग्छ। हामी केही नयाँ खेलाडीलाई पनि यसपटक एक्सपोजर दिने सोचमा छौं, ताकि भविष्यमा राम्रो टिम बनाउन सकियोस,' उनले भने।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले खेलाडी शारीरिक र मानसिक रुपमा फिट भएको बताए।

नेपाल र मरिससबीचको दोस्रो खेल मंगलवार हुनेछ। नेपाल र मरिससबीच हुन गइरहेको मैत्रीपूर्ण खेलमा रंगशालाको क्षमताको एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। कोभिड १९ बाट सुरक्षाका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने एन्फाको तयारी छ। स्टेडियममा प्रवेशका लागि भिआईपीतर्फ एक हजार र सामान्य प्यारापिट तर्फ ५ सय रुपैया शुल्क एन्फाले तोकेको छ।

फिफा वरीयताका हिसाबले मरिसस नेपालभन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell