PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा १० करोड ग्राहक थपिने घोषणा गरेका नेटफ्लिक्सका 'बोस' अहिले किन निराश?



पहिलोपोस्ट

भारतमा १० करोड ग्राहक थपिने घोषणा गरेका नेटफ्लिक्सका 'बोस' अहिले किन निराश?
Photo : timesnext.com

फेब्रुअरी २०१८ मा नेटफ्लिक्सका सीईओ रीड हेस्टिङ्स दिल्लीमा आयोजित व्यापार सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनमा उनले भनेका थिए, 'स्ट्रिमिंग जगतको सर्वश्रेष्ठ प्ल्याटफर्म नेटफ्लिक्समा भारतबाट १० करोड ग्राहक बढ्नेछन्। यो काम नेटफ्लिक्सको विस्तारसँगै इन्टरनेट सस्तो भएकाले सम्भव हुनेछ।'

तर, तीन वर्षपछि रीड भारतलाई लिएर उत्साहित छैनन्। पछिल्लो साता उनले 'इन्भेस्टर कल'का क्रममा भारतमा नेटफ्लिक्सको व्यापार कमजोर रहेको बताएका छन्।

'सबै ठुलो बजारमा नेटफ्लिक्स तीव्र रुपमा अघि बढिरहेको छ। जो निकै राम्रो कुरा हो। तर, हामीलाई निराश बनाउने कुरा पनि छ। भारतमा सोचेजस्तो बजार फस्टाउन सकेको छैन।'

मिडिया पार्टनर्स एसिया नाम गरेको एक मिडिया कन्सल्टेन्सीका अनुसार ६ वर्षअघि भारतमा सुरु भएको नेटफ्लिक्सको बजार २ अर्ब डलरको छ। यो स्ट्रिमिङ प्लयाटफर्मको करिब १० करोड 'सब्सक्राइब' हुने प्रक्षेपण कम्पनीको छ तर, पैसा तिरेर भने करिब ५५ लाखले नेटफिल्कस 'सब्सक्राइब' गरेका छन्। तर पनि यो संख्या भारतमा रहेका अन्य ओटीटी प्याल्टफर्मभन्दा कम हो। भारतमा डिज्नी प्लस हटस्टारको ४.६ करोड र अमेजन प्राइमको भिडियोमा १.९ करोड सब्सक्राइबर छन्।

'सेक्रेड गेम्स' बाट चुलिएको चर्चा

भारतमा नेटफ्लिक्स सन् २०१८ बाट चर्चामा आएको हो। सो वर्ष रिलिज भएको सिरिज 'सेक्रेड गेम्स' ले भारतमा तहल्का मच्चाएको थियो। ग्याङस्टारको कथामा आधारित थ्रिलर सिरिजमा बलिउड निर्माताहरुको लगानी र अभिनेता सैफ अली खानको अभिनय छ।

'द इकोनोमिस्ट' म्यागेजिनले नेटफ्लिक्सको पहिलो ओरिजिनल सिरिजले भारतमा हिन्दी सिनेमाको पुरानो प्रतिभा, हलिउडको मूल्य र सिलिकन भ्यालीको अर्बौं रुपैयाँको नयाँ मिश्रणको भविष्य रहेको प्रमाणित गरेको दाबी गरेको थियो। तर, वास्तवमा यो कुरा प्रमाणित भने हुन सकेको छैन।

भारतको मनोरञ्जन बजार व्यापक छ। २० करोडभन्दा बढी घरहरूमा टेलिभिजन सेटहरू छन्। चार डलरभन्दा कम मुल्यमा भारतमा टिभीमा धेरै च्यानलहरू हेर्न सकिन्छ। धेरैजसो भारतीय उपभोक्ताहरू मनोरञ्जनका लागि चलचित्र, खेलकुद र समाचार हेर्न रुचाउँछन्।

पछिल्लो समय भारतमा सत्य घटनामा आधारित शोहरु हेर्नेको संख्या बढ्न थालेको छ। उदाहरणका लागि स्टक ट्रेन्डिङमा आधारित थ्रिलर 'स्कैम १९९२'। सोनी लिभमा प्रसारण भएको सिरिजले निकै चर्चा कमाएको थियो।

एक्सनले भरिएको र अश्लील शब्द बोलिएको डार्क हार्टल्याण्ड थ्रिलरहरूले पनि मानिसहरूको ध्यान तानिरहेका छन्। तर यी थ्रिलरहरु प्रायः भारतीयहरु परिवारसँग बसेर हेर्दैनन्। 'एबन्डेन्टिया इन्टरटेनमेन्ट'का सीईओ विक्रम मल्होत्रा भन्छन्, 'दर्शकहरु पैसा र समय खर्च गरेर राम्रो सामग्री हेर्न चाहन्छन्।'

मुल्य घटे पनि बढेन प्रयोगकर्ता

नेटफ्लिक्सले भारतमा प्रयोगकर्तालाई आकर्षित गर्न धेरै प्रयास गरेको देखिन्छ। कम्पनीले आफ्नो 'सब्सक्रिप्सन प्लान' को मुल्य ६० प्रतिशतसम्म कटौती गरेर प्रयोगकर्ता बढाउने प्रयास गरेको थियो। जस अनुसार नेटफिल्कसले भारतमा महिनाको सब्सक्रिप्सन मुल्य मात्रै १४९ रुपैयाँ भारतीय रुपैयाँ कायम गरेको थियो। यसबाहेक नेटफिल्कसले भारतमा ५० भन्दा धेरै फिल्म बनाउन ४० करोड डलरभन्दा बढी खर्च गरिसकेको छ। जसमा ३० भन्दा बढी हिन्दी भाषाका फिल्महरु र शोहरु रहेका छन्।

यतिको लगानीमा फिल्म बने पनि अधिकांश फिल्मले सोचेजस्तो सफलता भने हात पार्न नसकेको बताउँछन् 'इन्डस्ट्री एक्सपर्ट'हरु। पछिल्लो वर्ष हिन्दी भाषाको सबैभन्दा बढि हेरिएको टप १५ शोको सूचीमा नेटफ्लिक्सको एउटा सिरिज मात्र परेको थियो। जुन सिरिज हो ‘कोटा फ्याक्ट्री’।

त्यसैगरि रियालिटी डेटिङ सिरिज 'इन्डियन म्याचमेकिंग' र 'डिकपल्ड'को समेत चर्चा भएको थियो। नेटफ्लिक्स अझै पनि स्क्विड गेम, मनि हाइस्ट जस्ता विदेशी कथाहरूसँग धेरै जोडिएको देखिन्छ। 'द इन्डियन एक्सप्रेस पत्रिका’ की फिल्म समीक्षक शुभ्रा गुप्ता भन्छिन् 'नेटफ्लिक्सलाई धनीहरूको प्रयोग गर्ने सेवाको रूपमा चिनिन्छ। यसलाई अझै पनि विदेशी प्ल्याटफर्मका रूपमा हेर्न चलन छ।'

प्रतिद्वन्द्वी कम्पनीको बढ्दो व्यापार

प्रतिद्वन्द्वी स्ट्रिमिंग सेवा प्रदायकहरुले भारतमा नेटफ्लिक्सलाई पछाडि पारेको छ। डिज्नी प्लसले विशेषगरि विभिन्न खेलको प्रसारण गर्ने योजना अन्तर्गत काम गरिरहेको छ। विश्वको सबैभन्दा ठुलो क्रिकेट बजारमा डिज्नीसँग ठुला डिजिटल प्रसारणको अधिकार छ। जसमा भारतीय ‘प्रिमियर लीग आईपीएल’ पनि समे पर्छ।

त्यसैगरी, प्राइम भिडियोले १० भारतीय भाषामा सामाग्री कार्यक्रमहरु प्रसारण गर्छ। वेब सिरिज ‘फेमिली म्यान’ पछिल्लो वर्ष धेरै हेरिएको हिन्दी सिरिजमा परेको थियो। यसका साथै ‘मिर्जापुर’हिट मानिन्छ।

आरम्याक्स मिडियाका सीईओ शैलेश कपुर भन्छन्,'भारतीय भाषाको लगभग ४० प्रतिशत ब्लकबस्टर फिल्म प्राइम भिडियोको स्वामित्वमा छ। प्राइमले आफ्ना उपभोक्तालाई एउटा सेवाको लागि भुक्तान गर्दा अन्य आठ साना स्ट्रिमिङ सेवाहरूको सुविधा लिने अनुमति दिन्छ।

उद्योग विशेषज्ञहरू भन्छन् कि नेटफ्लिक्सले आफ्नो अन्तर्राष्ट्रिय 'प्लेबुक'लाई अपनाउँदै भारतमा आफ्नो विश्वव्यापी सफलता दोहोर्‍याउन लाखौं डलर खर्च गरेको छ। कम्पनीले बलिउड स्टुडियो र निर्माताहरूसँग शो र फिल्महरूको लागि साझेदारी गरेको छ।

'नेटफ्लिक्सले आफ्नो ओरिजिनल कन्टेन्टहरुको बारेमा थप विश्लेषण गर्नुपर्छ। साथै उपभोक्ताहरूलाई ताजा सामग्री दिने कुरा पनि सुनिश्चित हुर्नुपर्छ,' मिडिया पार्टनर्स एसियाका उपाध्यक्ष मिहिर शाहले भने।

सन् २०१६ मा भारतीय बजारमा आएपछि कम्पनीले स्ट्रिम गरेका सामाग्रीप्रति नेटफ्लिक्स सन्तृष्ट छ। आफूहरुले नाटकका साथै विभिन्न फिक्सन तथा नन-फिक्सन कथाहरु दिएर मनोरञ्जन दिएको उक्त कम्पनीका प्रवताको भनाई छ।

मौलिक कथामा जोड दिन आवश्यक

भारतमा नेटफ्लिक्सले आफ्नो छाप छोड्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ। भारतको स्थानीय र मौलिक कथाहरुमा कम्पनीले लगानी गरिरहेको प्रवक्ता बताउँछन्। साथै, प्रान्तीय भाषाका सामाग्रीमा समेत नेटफिल्क्सले लगानी गर्न सुरु गरेको छ। पछिल्लो महिना नेटफ्लिक्समा मलयालय भाषाको सुपरहिरो फिल्म ‘मित्रल मुरली’ रिलिज भएको थियो। एक समीक्षकले उक्त फिल्मले मार्वल सुपरहिरो फिल्मलाई टक्कर दिन सक्ने बताएका छन्।

स्ट्रिमिङ उद्योगसँग सरोकार राख्नेहरुको अनुमान कि छ भारतमा स्ट्रिमिंग बजार २०२६ सालसम्म दोब्बर हुन्छ। तर करोडौ उपभोक्ता बनाउन भने नेटफ्लिक्सले 'कन्टेन्ट' मा नै ध्यान दिन जरुरी हुन्छ। नेटफ्लिक्सलाई अझै पनि 'स्थानीय' बनेर टिक्न आवश्यक छ। तर, यो सजिलो भने छैन।

भारतमा पहिले देखि नै ७५ भन्दा बढी स्ट्रिमिंग सेवा प्रदायक छन्। जसमा थोरै मात्र हिट छन् भने बढी फ्लप नै छन्। शैलेश कपुर भन्छन् 'पछिल्लो वर्ष स्ट्रिमिंग सेवामा रिलिज भएका २२५ शोमा ५० हिन्दी भाषामा थिए। तर १५ देखि २० मात्रै सफल भए। हर कोही धेरै कन्टेन्ट दिन र नयाँ प्रयोगमा लागिरहेका छन्। तर भारतमा बजार भने जटिल छ।’

बीबीसी हिन्दीबाट भावानुवाद। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell