PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

खोप अभियानको एक वर्ष : १ करोड ३८ लाखले लगाए पूर्ण मात्रा, भेरोसेलको अभाव हुँदा बुस्टर डोज अर्कै



पहिलोपोस्ट

खोप अभियानको एक वर्ष : १ करोड ३८ लाखले लगाए पूर्ण मात्रा, भेरोसेलको अभाव हुँदा बुस्टर डोज अर्कै

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरसँग जुध्दै गर्दा एक वर्ष अघि नेपालमा खोप अभियान सुरु भएको थियो। एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोनसन एन्ड जोन्सन, मोर्डना र फाइजर खोपहरु प्रयोगमा आए। विश्वका गरिब राष्ट्रहरुले खोप पाउन निकै सकस गरिरहेको बेला नेपालमा भने हाल विश्वमा चल्तीमा रहेको सबै खोपहरु आइपुग्यो। निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोनाको तेस्रो लहरसँग जुधिरहेको नेपालमा लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षमा ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप नेपाल भित्रिएको छ। विभिन्न विधिबाट नेपाल ल्याइएका यी खोप मध्ये माघ १४ गतेसम्म ३ करोड ६लाख ४ हजार १५२ मात्रा खोप प्रयोगमा आइसकेको छ।   

१८ वर्ष माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ। ८३ प्रतिशतले भने एक मात्रा खोप लगाइसकेका छन्। मन्त्रालयका अनुसार लक्षित जनसंख्यामध्ये हालसम्म १ करोड ३८ लाख ३३ हजार ६२९ जनाले खोपको पूर्ण मात्रा लगाइसक्दा १ करोड ६४ लाख ६४ हजार ५१४ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्।

यस्तै, १२ वर्षदेखि १७ वर्षका १८ लाख ७२ हजार ६७० जना बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २१८ बालबालिकाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

ओमोक्रन भेरियन्टको जोखिम कम गर्न सरकारले ६० वर्षभन्दा माथिका र अग्रपंक्तिमा काम गरिरहेकाहरुलाई खोपको 'बुस्टर डोज' समेत दिन सुरु गरिसकेको छ। हालसम्म करिब तीन लाखले बुस्टर डोज लगाइसकेको मन्त्रालयले जनाएको छ।    

नेपालमा हालसम्म सबैभन्दा बढी खोप चीनमा उत्पादित भेरोसेल आयात गरिएको छ। १ करोड ९१ लाख भन्दा बढी मात्रा भेसोरेल खोप ल्याइएकोमा अधिकांश खोप प्रयोग भइसकेको छ। जसकारण अहिले यो खोपको भण्डारण निकै कम रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोभिसिल्ड/अस्ट्राजेनेकाको १ करोड १ लाख १३ हजार ६० मात्रा खोप, जोनसन एन्ड जोनसनको ३४ लाख ६७ हजार २५० मात्रा र मोडर्नाको ३४ लाख ५१ हजार ८०० मात्रा खोप नेपालमा ल्याएर भण्डारण गरिसकिएको छ। फाइजर खोपको कुल भण्डारण संख्या भने अहिले मन्त्रालयसँग छैन।

अहिले भने सबै खोप गरेर करिब ७३ लाख खोप मात्र 'स्टक'मा रहेको बताइन्छ। यी मध्ये भेरोसेल खोप करिब ६ लाख मात्रामा 'सटक' रहेको मन्त्रालयले जनाएको छ।

सरकारले बुस्टर डोज सुरु गरेसँगै भेरोसेल खोपको माग बढेको छ। तर, निकै कम संख्यामा यो खोप रहेकोले पहिलो र दोस्रो डोज भेरोसेल लगाएकालाई 'कोभिसिल्ड वा अस्ट्राजेनेका' खोप दिने निर्णय सरकारले गरेको छ।

यस्तै, पहिलो मात्रा भेरोसेल लगाएकाहरुलाई दोस्रो मात्रा दिन पनि सोही खोप नभए 'कोभिसिल्ड वा अस्ट्राजेनेका' दिने निर्णय गरिएको छ। यस्तै, विदेशमा जुनसुकै खोपको पहिलो मात्रा लगाएर हाल नेपालमा रहेकाहरुलाई दोस्रो मात्रा पनि 'कोभिसिल्ड वा अस्ट्राजेनेका' नै दिने भएको छ। नेपालमा हाल 'कोभिसिल्ड वा अस्ट्रेजेनेका' को करिब ३५ लाख खोप 'स्टक'मा रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell