PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हरभजन सिंहलाई कपिल शर्माको त्यो काउन्टर जसले सबैलाई हसाउँछ



पहिलोपोस्ट

हरभजन सिंहलाई कपिल शर्माको त्यो काउन्टर जसले सबैलाई हसाउँछ

'स्ट्यान्ड अप कमेडियन' कपिल शर्मा हसाउँदा हसाउँदै कतिसम्म भावुक हुन सक्छन् थाहा पाउन मन छ भने तपाईँले हेर्नैपर्छ 'कपिल शर्मा : आ'म नट डन एट'। नेटफ्लिक्सको यस 'सो'मा कपिलले आफ्नो जीवनका उतार चढावबारे कहिले हसाउँदै त कहिले सोचमग्न बनाउने गरी विस्तार गरेका छन्।

डिप्रेसनको सिकार भएपछि उनलाई काउन्सिलिङ गर्ने काउन्सिलरले सोधेका प्रश्नमार्फत् आफ्नो जीवनका घटनालाई 'सो'मा कपिलले प्रस्तुत गरेका छन्। रियालिटी सो 'द कपिल शर्मा सो'भन्दा पृथक लाग्छ - नेटफ्लिक्सको यो कार्यक्रम।

मध्यम वर्गीय परिवारका कपिलले नेटफ्लिक्सको उक्त सो उनका पिताका नाममा समर्पित गरेका छन्। त्यही पितासँगका सम्बन्धबारे व्याख्या गर्दागर्दै उनले दर्शकलाई भावुक बनाउँछन्। उनकी आमा र पत्नी दर्शक दीर्घामा उनलाई सुनिरहेका हुन्छन्। त्यहाँ उनकी पत्नी पटकपटक आँखाबाट आँसु पुछिरहेको दृश्य देख्‍न सकिन्छ - कपिलले संघर्षको कथा सुनाइरहँदा।

त्यही क्रममा कपिलले सुनाउँछन् एउटा असफल - स्ट्यान्डअप कथा।

कपिलका अनुसार क्रिकेटर हरभजन सिंहले पहिलोपटक कपिललाई आइपिएल टिम मुम्बई इन्डियन्सका सामुन्ने प्रस्तुति दिन डाक्छन्। पहिलोपटक यस्तो मौका पाएका कपिल तत्कालै स्वीकार्छन् र पुग्छन्। त्यहाँ जम्मा १५ जनामात्र दर्शक हुन्छन् तर हाइ प्रोफाइल। सचिन तेन्दुल्कर, नीता अम्बानी, सनथ जयसूर्या, हरभजन आदि। 

कपिलका लागि त्यो दुर्भाग्यपूर्ण सो हुन पुगेको उनले स्वीकारेका छन्। किनकि उनले जति हँसाउन खोजे पनि दर्शक हाँसेनन्। दर्शक हाइ क्लासको हुनु र आफू मध्यम वर्गीय हुनुलाई उनले त्यो असफलताको कारण बताए। उनले सुनाएका सामान्य मानिसको जीवनका व्यङ्ग्य नीता अम्बानीका लागि अर्थ न बर्थको बन्न पुग्यो। सायद, उनले के भन्न खोजेको हो बुझिनन् होला। 

आफ्नो सो फ्लप भएको बुझेपछि कपिल त्यहाँबाट बाहिरिन खोजे। तर उनलाई डिनर लिएर मात्र फर्किन भन्दै रोकियो। उनी खाना खाँदै थिए। हरभजन सिंह उनीतिर आएर भने, 'तपाईँ टेलिभिजनमा त कमाल गर्नुहुन्छ तर लाइभमा... होइन?'

हरभजनको बोलीले नराम्ररी चिमोट्यो उनलाई। त्यसपछि उनी त्यहाँबाट बाहिरिए।

कपिलले त्यस दिनको बदला भने हरभजनसँग लिएरै छाडेको सुनाए। मुम्बई इन्डियनको खेल चलिरहँदा हरभजनले बलिङ गर्दा हरेक ओभरमा ३-४ वटा छक्का दिइरहेका थिए।

प्रतिस्पर्धा हेरिरहेका कपिलले हरभजनलाई म्यासेज लेखे - 'कहिलेकाहीँ खेलाडी नेटमा अभ्यास गर्दा राम्रो खेल्छन् तर लाइभमा... हैन?' 

त्यसो त यो 'सो'मा कपिलले शाहरुख खानको घरमा निम्तो बिना नै पार्टीमा गएको र रमाएको सन्दर्भ पनि रोचक हिसाबले सुनाएका छन्। कसरी कपिलको स्ट्यान्ड अप कमेडीमा उदय भयो र स्थापित भए बुझ्न चाहने हो भने नेटफ्लिक्सको यो सो रोचक हुनसक्छ। कपिलले सो'मा एउटा अंग्रेजी गीत पनि गाएका छन् - उनका पिताको स्मृतिमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell