
काठमाडौँ: नेपालले मरिससविरुद्धको मैत्रीपूर्ण पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। विमल घर्ती मगरको गोलमा नेपालले मरिससमाथि १-० गोलअन्तरले जित निकाल्यो। नेपालसँगको पराजयपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोलीले आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।
'टफ म्याच भयो। नेपालको राम्रो म्याच भयो। हाम्रो खेलाडीले राम्रो खेले,' उनले भने, 'हामीले अढाइ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौँ। यसका लागि ४५ दिनको तयारी गरेका थियो। सायद राम्रो खेल खेल्यौं आज।'
उनले आजको खेलमा महत्वपूर्ण चार जना खेलाडीबिनै उत्रिएको भन्दै आगामी खेलमा उनीहरुलाई मैदानमा उतार्दा अझ खेल राम्रो हुने विश्वास प्रकट गरे।
'हाम्रा केही खेलाडी दोस्रो म्याचमा उत्रनेछन्। उनीहरुको उपस्थितिले खेल फरक पार्न सक्नेछ,' उनले भने, 'नेपालले पनि केही राम्रा अवसर बनाएको थियो। केही परिवर्तन हुन सक्छ। ४ जना मुख्य खेलाडीले आज खेलेनन्। अर्को म्याचमा खेल्नेछन्।'
काठमाडौं उत्रनसाथ मरिससका चार जना खेलाडीमा कोभिड संक्रमण पुष्टि भएको थियो।