PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित



पी बी खड्का

सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित
फाइल फोटो

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका-४ स्थित लोकबहादुर दर्लामीको घर जंगलको छेवैमा छ। दर्लामी खसीबाख्रा पालेरै जीविका चलाउँथे। खेतीपातीसँगै उनको खोरमा १०/१२ वटा खसीबाख्रा सधैँजसो हुन्थ्यो। गएको साउनयता भने दर्लामीको खोर खाली छ।

कारण बाघको आतंक। साउनको अन्तिम साता घर नजिकै रहेको खोरमा बाघ पसेर खोर नै उनको रित्याईदियो।

‘खसीबाख्रा पालेर घर व्यवहार चलाउने हो। बाघ नै पसेर खोर नै रित्तो बनायो’, दर्लामीले भने, ‘के गर्नु फेरि पालौँ भने त्यस्तै हुने हो की, नपालौँ घर व्यवहार कसरी चलाउने?’

दर्लामीको खोर रित्त्याएजस्तै गाउँमा एक/दुई वटा पालेकाहरुको पनि बाख्रा रहन पाएका छैनन्। सोही ठाउँका दीपबहादुर खड्काको बाख्रा पनि बाघले आक्रमण गर्‍यो।

‘अहिले बाख्रा, पाठा पाल्न पनि नसकिने भयो, खोरभित्रै पसेर मार्ने गर्छ’, उनले भने, ‘राति त राति नै थियो, दिउँसै बाघले न जंगल जानु छ, न घरमा बाख्रापाठा पाल्नु छ, बाघले सताएको छ।’

उनका अनुसार गाउँमा बाख्रापाठा मात्रै नभएर घरमा पालेका कुकुरसमेत नरहेको बताए। वडा नम्बर ४ मा मात्रै २७ बढी बाख्रा र ३ वटा कुकुर बाघले मारेको उनले बताए। गाउँ नजिकै रहेको बनमा बाघ बस्ने हुँदा समुदायमा बढी क्षति गर्ने गरेको उनको भनाइ छ।

‘नजिकै वन हुँदा बासस्थान नै बनाएर बसेको हुनुपर्छ’, अड्कल काड्दै उनले भने, ‘दिउँसो जंगल बस्ने, राति गाउँ पस्ने गर्छ, नजिकै भएकाले पनि दिनदिनै क्षति गर्न लाग्यो।’

खड्काले स्थानीय समुदायले वडा, नगरपालिका र बन कार्यालयसँग समेत बाघ नियन्त्रणका लागि अनुरोध गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरे।

‘समुदायमा दिनदिनै हानीनोक्सानी पुर्‍याउन लागेपछि हामीले वडा कार्यालय, नगरपालिका र बन कार्यालयमा गएर खवर गर्‍यौँ, तर अहिलेसम्म कसैले वास्ता गरेनन्,’ खड्काले गुनासो गरे।

त्यस्तै, गएराति मात्रै लेकबेशी नगरपालिकै वडा नम्बर ६ सात्त्तलेमा खोरभित्रको बाख्रा, पाठालाई आक्रमण गरेको स्थानीय डम्बर घर्तीले बताए।

‘मंगलवार रातिमात्रै हो खोरभित्रको बाख्रालाई बाघले आक्रमण गरेर घाइते बनायो’, उनले भने, ‘आजभोलि गाउँमा गाई, गोरु, सुंगुर, बाख्रा, पाठा मार्ने, घाइते बनाउने गरेर सधैँ क्षति गरेको छ।’

सरकारी निकायले ध्यान नदिएको भन्दै तत्काल आवश्यक कदम चाल्न उनले आग्रह गरे।

‘प्रत्येक दिन जनताले पालेको पशुपन्छी मारेको घटना हुँदा पनि सरकारी निकायले किन ध्यान दिएको छैन?’, प्रश्न गर्दै उनले भने, ‘अझै पनि सरकारी निकायले ध्यान नदिए भोलि मानवीय क्षति नहोला भन्न सकिन्न।’

लेकबेशी नगर क्षेत्रमा सय बढीको हाराहारीमा पशुपन्छीको क्षति गरेको स्थानीयको अनुमान छ। बाघले छिटफुट क्षति गरेको गुनासो आएलगत्तै नगरपालिकाले डिभिजन बन कार्यालयसँग आवश्यक समन्वय गरिरहेको लेकबेशी नगरपालिका प्रमुख गगनसिं सुनारको भनाइ छ।

‘बाघले क्षति गर्‍यो भनेर गुनासो नआएको त होइन, तर हामीले पनि डिभिजन बन कार्यालयसँग आवश्यक समन्वय गरिरहेका छौँ, कसरी क्षति कम गर्न सकिन्छ भनेर,’ उनले भने।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले घटना आफूसम्म जानकारी नआएको र तत्काल आफू मातहतकाे स्थानीय पालिकामा रहेकाे युनिट रेन्जर पाेप्टमा बुझ्ने बताए। यदि, घरमै क्षति गरेकाे भए नागरिकलाई क्षतिपूर्ति दिइने र बाघ हाे या चितुवा पहिचान गरेर नियन्त्रणका लागि तत्काल टाेली परिचालन गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell