PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गेस्ट हाउसका 'रुम' कि अपराधको अड्डा? बलात्कारदेखि तस्करीसम्मका 'केस'को देखियो 'कनेक्सन'



सविन ढकाल

गेस्ट हाउसका 'रुम' कि अपराधको अड्डा? बलात्कारदेखि तस्करीसम्मका 'केस'को देखियो 'कनेक्सन'
प्रतीकात्मक फोटो

काठमाडौं : गत पुस १२ र १३ गते गोंगबु मित्रनगरस्थित बसपार्क नजिकै रहेका होटेलभित्र एक महिला बलात्कृत भइन्। नौ जना पुरुषले उनको सामुहिक बलात्कार गरेको कुरा प्रहरीकहाँ पीडित पुगेपछि खुल्यो।

एकै दिन ९ जनाले तीन वटा लजमा लगेर उनको बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्यो। घटना भएको केही दिनपछि प्रहरीले अभियुक्तहरु समात्यो। घटनास्थल वरपर भएका सीसीटीभी फुटेज, पीडितले दिएको जानकारी र अन्य क्लु पछ्याउँदै प्रहरी अभियुक्तसम्म पुगेको थियो।

प्रहरीले यसपटक भने बलात्कारमा संलग्न युवालाई मात्र होइन, होटल संचालकलाई समेत पक्राउ गरेको छ। होटलभित्र भएका कतिपय अपराधमा होटेल संचालक मुछिने गरेका छैनन्। तर, यस घटनामा भने प्रहरीले तीनवटै होटेलका संचालकलाई मतियारको रुपमा अनुसन्धान गरेको थियो।

होटल संचालक द्रोणाचार्या पौडेल, जानुका घिमिरे पोखरेल र मञ्जु खरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई कारबाहीको भागिदार बनाउनुको कारण प्रहरीले ग्राहकको जानकारी पूर्ण रुपमा नराख्‍नु, शंका लागेपछि प्रहरीलाई खबर नगर्नु नै देखाएको छ।

'सबै होटेलभित्र अपराध संचालकलाई थाहा हुन्छ भन्ने हुँदैन। तर, एक जना महिलासँग त्यति धेरै मानिस आउँदा के हो भन्ने बुझ्न खोज्नुपर्थ्यो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरिले भने।

उक्त केसमा एउटा होटलमा ६ जना प्रवेश गरेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। कामको शिलशिलामा काठमाडौं आएकी सुर्खेतकी महिलामाथि बलत्कार भएको थियो। प्रहरीले २३ वर्षीय हिक्मत नेपाली, हस्त नेपाली, दीपक नेपाली, रतन नेपाली, शिवहरी बुढा, युवराज बडुवाल, सुरेश सेजुवाल, चन्द्र साउद र गोपाल कुमार शिरीषलाई पक्राउ गरेको थियो।

अभियुक्त भनिएका नौ जना नै वैदेशिक रोजगारीको शिलशिलामा काठमाडौंका आएका थिए। उनीहरु बसपार्क क्षेत्रको होटलमा नै बस्थे। यसरी समातिएका मध्ये कोही भिसा लागेर उड्ने तयारीमा त कोही वैदेशिक रोजगारीको प्रकृयमा रहेको एसएसपी गिरीले जानकारी दिए। यी सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। होटल सञ्चालकलाई ३/३ लाख रुपैयाँ धरौटी लिएर रिहा गरिएको छ।

नयाँ बसपार्कका अधिकांश होटल तथा लज वैदेशिक रोजगारीमा आउने-जानेहरु बस्नका बढी प्रयोग भएको देखिन्छ। देशका विभिन्न जिल्लाबाट आउन र जान बसपार्क नजिकै भएकाले पनि मानिसहरु यसै क्षेत्रका होटेललाई बासस्थानका रुपमा प्रयोग गर्छन्।

विभिन्न प्रकृतिका मानिसहरुको बसोबास हुने भएकाले पनि बसपार्क क्षेत्रका होटल अन्यभन्दा अपराधिक दृष्टिले जोखिमपूर्ण मानिन्छ। त्यसमा पनि होटेल संचालकले ग्राहकको विवरण पूर्ण रुपमा नराख्दा अपराध अनुसन्धानमा समस्या हुने गरेको प्रहरी अधिकृतहरु बताउँछन्।

समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन गृह मन्त्रालयले 'सीसीटीभी क्यामरा जडान तथा सञ्चालन कार्यविधि २०७२' प्रयोगमा ल्याएको छ। चार वर्षअघि नै सुरक्षा निकाय र अन्य सरकारी निकायसँगको छलफलपछि तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले यो कार्यविधि लागू गरेका थिए।

कार्यविधिमा सीसीटीभीबाट खिचेका दृश्य कम्तिमा ३ महिनासम्म सुरक्षित रहनेगरी राख्नुपर्ने उल्लेख छ। तर प्रायः होटलमा सीसीटीभी क्यामरा भेटिँदैन। भेटिएकामा पनि मापदण्डमा झैं तीन महिनासम्मको फुटेज सुरक्षित हुँदैन। नयाँ बसपार्क बलात्कार घटना पछि महानगरीय प्रहरील कार्यालय रानीपोखरीले १० दिनभित्र सबै होटेल तथा लजहरुमा सीसी क्यामरा जडान गर्न निर्देशन दिइसकेको छ।

तर, निर्देशन दिए पनि त्यसको अनुगमन तथा कार्यन्वयन कमजोर रहेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'सरकार आफ्नो निर्णय कार्यन्वयन गराउन र अनुगमन गर्न डराउँछ। कतै आन्दोलन वा कुनै विरोध गर्ने हुन् कि भन्ने डरमा कर्मचारी चुप बस्छन्,' पूर्व डीआईजी ठकुरीले भने।

किन हुन्छ होटलभित्र अपराध?

गत मंसिर १५ गते काठमाडौंको कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसमा दुई बालिका बलात्कृत भए। मकवानपुरबाट विभिन्न प्रलोभनमा पारेर काठमाडौं ल्याइएका १२ र १५ वर्षीय किशोरी गेस्ट हाउसको कोठाभित्रै बलात्कृत भएका थिए। उक्त प्रकरणमा सप्तरी घर भएका ४२ वर्षीय फटुली साहलाई प्रहरीले नियन्त्रणमा लियो।

बलात्कारका घटनामा मात्र होइन अन्य अपराधिक गतिबिधिमा समेत होटलको प्रयोग हुने गरेको पाइन्छ।  हत्यादेखि सुन तस्करीका घटनाका धेरै 'प्लट' होटलमा नै बसेर बनेको देखिन्छ। त्यस्तै, हतियारदेखि अबैध जडिबुटीको कारोबारसमेत होटलका बन्द कोठाबाट भएका छन्।

'मानिस अपराध गर्दा समाज र परिवारबाट लुक्न खोज्छ। कसैले नचिन्ने र थाहा नपाउने स्थानको खोजी गर्दा होटल रोजाइमा पर्छ। अरुले पहिचान नहोस् भनेर मानिसले होटललाई अपराध गर्ने र योजना बनाउने ठाउँ बनाउने गरेको हो,' पूर्व डीआईजी ठकुरीले भने।

नेपाललाई ट्रान्जिट बनाएर हुने लागू औषधको कारोबारमा झन् होटललाई नै मुख्य आधार बनाएको देखिन्छ। विदेशीहरुले लागूऔषध ल्याएर होटलमा नै राख्‍ने र त्यहीबाट कारोबार गर्ने गरेको फेला परेका छन्।

२०६८ सालदेखि अहिलेसम्म नेपाल प्रहरीले कोकिन कारोबारमा मात्र ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा ३० जना विदेशी नागरिक रहेका छन्। बोलिभिया, बेलारुस, आइभरिकोष्ट, ब्राजिल, भेनेजुएला, नामेबिया, साउथ अफ्रिकाका नागरिकहरू धेरै रहेका छन्। समातिएका यी सबैको कारोबारको आधार क्षेत्र होटल तथा लजहरु नै देखिन्छ। प्रहरीले १० वर्षको अवधिमा १ अर्ब ६० लाख रुपैयाँभन्दा बढीको कोकिन बरामद गरेको छ।

प्रहरीले यसरी विदेशी नागरिकालाई कोकिनसहित त्रिभुवन विमानस्थल भन्दा धेरै ठमेलका गेस्ट हाउसबाट पक्राउ गरेको देखिन्छ। विदेशबाट नेपाल ट्रान्जिट बनाएर आउँदा अधिकांशले ठमेलकै होटल रोज्ने गरेको छन्। ठमेल पर्यटकीय क्षेत्र भएकाले विदेशीको गतिविधिलाई लिएर कसैले शंका गर्दैनन्। त्यसैका आडमा अपराध गर्नेहरुले पनि कम जोखिमयुक्त यस्तो क्षेत्र रोज्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन्।

गत असारमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठामा रहेको च्याङक्हु खाचान होटेलमा छापा मार्‍यो। प्रहरी त्यहाँ पुग्दा अवैध रुपमा जुवाको सट्टेबाजी भइरहेको भेट्यो। चिनियाँ नागरिकले जुवा खेल्न प्रयोग गर्ने दुई वटा विद्युतीय टेबल नै प्रयोग गरेर मिनी क्यासिनोको रूपमा खेल चलाइरहेका थिए।

चार जना चिनियाँ नागरिकमात्र होटेलमा फेला परे। प्रहरीले होटेलको अन्य ठाउँ पनि सर्च गर्‍यो। दोस्रो तलामा अवैध सट्टेबाजीका सामाग्री मात्र भेटिएन, दुर्लभ वन्यजन्तुका अङ्ग र छालासमेत भेटिएको थियो। होटेल पाँच वर्षदेखि चिनियाँ नागरिक वेनलोङ सिले सञ्चालन गर्दै आएको खुलेको थियो। प्रहरीले सञ्चालक सी लाई भने पक्राउ गरेको छैन।

होटल आफैं अपराधको थलो भने होइन। सबै होटलका कोठाचोटामा अपराधका गतिविधि हुन्छन् भन्ने पनि हुँदैन। तर, केही होटल संचालकको लापरबाही, सरकारको अनुगमनमा उदासिनता र होटलमा सुरक्षा प्रविधि नअपनाउँदा भने अपराधी र अपराधको लागि क्रिडास्थल बन्ने जोखिम चाहिँ सधैं रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell