PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतीय मन्त्रीले न्यूयोर्क टाइम्सलाई किन भने 'सुपारी मिडिया'?, नेपाली राजदूतसमेत जोडिएको पेगासस चर्चामा



पहिलोपोस्ट

भारतीय मन्त्रीले न्यूयोर्क टाइम्सलाई किन भने 'सुपारी मिडिया'?, नेपाली राजदूतसमेत जोडिएको पेगासस चर्चामा

इजरायली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को चर्चा भारतमा फेरि चुलिएको छ। शुक्रवार द न्यूयोर्क टाइम्सले भारतले सन् २०१७ मा इजरायलसँगको हतियार खरिद गर्ने सम्झौता अनुसार नरेन्द्र मोदी सरकारले पेगासस खरिद गरेको उल्लेख गरेको थियो। त्यसपछि भारतमा मोदी सरकारमाथि फेरि प्रश्न उठ्न थालेको हो।

इजरायली कम्पनी एनएसओ ग्रुपले विभिन्न राष्ट्रहका सरकारलाई पेगासस स्पाइवेयर बिक्री गर्दै आएको छ। सरकारी निकायदेखि सेनाले समेत यो सफ्टवेयर प्रयोग गर्दै आएको छ।

सन् २०२१ को जुलाईमा कम्पनीको 'क्लाइन्ट' मध्येबाट करिब ५० हजार नम्बरको 'डाटा लिक' भएको थियो। विभिन्न राष्ट्रका राष्ट्र प्रमुखदेखि मन्त्री, राजदूत, पत्रकार, सामाजिक अभियन्ता, व्यावसायीहरुको फोन ट्यापिङ गरि सूचनाहरु निकालिएको घटना सार्वजनिक भएपछि विश्वभर सफ्टवेयरको विषयमा प्रश्न उठेको थियो।

इजरायाली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को सहयोगले भारतमा समेत फोन ह्याक गरी सूचनाहरु लिइएको खबर सार्वजनिक भएको थियो। डाटा लिक भएकोमा ३०० भन्दा बढी नम्बर भारतीय थियो।

भारतमा यही सफ्टवेयरको प्रयोगबाट भारतका लागि तत्कालिन नेपाली राजदूत निलम्बर आचार्यसहित सयौं व्यक्तिको फोन ट्यापिङ गरेर सूचना निकालेको सार्वजनिक भएको थियो। त्यसबेला नै भारतले उक्त सफ्टवेयर किनेको हुनसक्ने आंकलन गरिएको थियो। तर, भारतको रक्षा मन्त्रालयले भने उक्त सफ्टवेयरबारे केही जानकारी नभएको जनाएको थियो।

भारतका साथै फ्रान्स, मेक्सिको, मोरक्को र इराकमा पनि यो स्पाइवेयरको प्रयोग भएको सार्वजनिक भएको थियो।

न्यूयोर्क टाइम्सले इजरायलसँग दुई बिलियन डलरको सम्झौता अनुसार हातहतियारसहित 'इन्टेलेजेन्स टुल'हरु खरिद गरेको जनाएको छ। उक्त सम्झौतामा पेगासस र मिसाइलहरु समेत रहेको जनाइएको छ। मोदी सत्तामा आएपछि इजरायलसँग सम्बन्ध सुमधुर बनाउने क्रममा यो सम्झौता भएको न्यूयोर्क टाइम्समा उल्लेख छ। सन् २०१७ मा मोदीको इजरायल भ्रमण र त्यसपछि तत्कालीन इजरायली प्रधानमन्त्री बेनजामिन नेतान्याहुको भारत भ्रमण सम्झौताकै उपज भएको दाबी गरिएको छ। संयुक्त राष्ट्रसंघमा पनि भारतले प्यालेस्टाइन विरुद्ध इजरायलको नै साथ दिएको थियो।

न्यूयोर्क टाइम्सले पेगासस खरिद गरेको समाचार प्रकाशन गरेपछि मोदी सरकार 'डिफेन्सिभ' भएको छ। मोदी सरकारमा राज्यमन्त्री रहेका पूर्व सेना प्रमुख बिके सिंहले भने न्यूयोर्क टाइम्सलाई विश्वास गर्न नसक्ने बताएका छन्। समाचारको खण्डन गर्दै उनले न्यूयोर्क टाइम्सलाई 'सुपारी मिडिया'को संज्ञा दिएका छन्।

न्यूयोर्क टाइम्सको समाचार प्रकाशन पछि भारतको विपक्षी दलहरुले मोदी सरकारको विरोध गर्न सुरु गरेका छन्।

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारले प्रजातान्त्रिक संस्था, राजनीतिज्ञ र जनताको जासुसी गर्न पेगासस किनेको बताएका छन्। मोदी सरकारले राज्यविरुद्धको अपराध गरेको उनको आरोप थियो। यस्तै, अन्य विपक्षी दलहरुले समेत मोदी सरकारले जवाफ दिनुपर्ने माग राखेका छन्।  

भारतमा उक्त सफ्टवेयरको प्रयोग बारेमा कुरा उठेपछि गत वर्ष त्यसको अनुसन्धानका लागि कमिटी समेत बनेको थियो। उक्त कमिटीले यही वर्ष जनवरी २ मा पेगासस सफ्टवेयरबाट आफ्नो डिभाइसमा असर परेको जस्तो लाग्ने व्यक्तिहरुलाई सूचना दिन आह्वान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell