अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष जनवरी ६ मा क्यापिट हिलमा भएको दंगाका आरोपितलाई माफी दिने बताएका छन्। शनिवार टेक्सासमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले आफू पुन: राष्ट्रपतिमा निर्वाचित भए उनीहरु माथि निष्पक्ष व्यवहार गर्ने बताएको सीएनएनको अनलाइन संस्करणले जनाएको छ।
'यदि चुनावमा लडेँ र मैले जितेँ भने हामीले जनवरी ६ का व्यक्तिहरुलाई निष्पक्ष व्यहार गर्नेछौँ,' उनले भने, 'आवश्यक पर्छ भने उनीहरुलाई क्षमा दिनेछौँ। उनीहरुलाई अहिले विभेदपूर्ण व्यवहार भइरहेको छ।'
जनवरी ६ मा अमेरिकी संसद क्यापिटल हिलमा ट्रम्प समर्थकहरुले आक्रमण गरेका थिए। २०२० को निर्वाचन परिणामको विरोधमा उनीहरुले संसद भवनमा आक्रमण गरी क्षति पुर्याएका थिए।
पछिल्लो विवरण अनुसार त्यहाँको न्यायिक निकायले त्यस घटनामा संलग्न ७ सय २५ जनालाई पक्राउ गरेको छ भने १ सय ६५ जनालाई विभिन्न कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ। त्यस्तै ७० जनालाई कारवाही गरिएको छ।
ट्रम्पले उनीहरुमाथि अभियोग लगाइनु वा जेल सजाय सुनाइनु अपमानपूर्ण रहेको बताएका छन्।
यद्यपि, उनले २०२४ को निर्वाचनमा उम्मेदवार हुने वा नहुने भन्ने स्पष्ट भने नखुलाएको समाचारमा उल्लेख छ। 'हामीले फेरि ह्वाइट हाउसलाई फर्काउने छौँ,' उनले भनेका छन्।
न्यूयोर्कका न्यायाधीवक्ताहरुले आफ्नो व्यवसायका बारेमा छानविन गरे न्यूयोर्कमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने चेतावनी समेत उनले दिए।