PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

केशर महल पुगेर शिक्षा मन्त्रीले भने : निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं



पहिलोपोस्ट

केशर महल पुगेर शिक्षा मन्त्रीले भने : निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रालय मातहत रहेको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।

आईतवार केशर महलको निरिक्षण गर्दै उनले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्। उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरिक्षण गरेको बताए।

'केशर महल ऐतिहासिक स्थान हो। भूकम्पले भवनमा क्षति भइसकेपछि यो भवन बन्ने प्रक्रियामा छ। यहाँ भएका भौतिक वस्तुहरु खासगरी पुरातत्वसँग सम्बन्धित वस्तुहरुको सुरक्षा र संरक्षणको कुराका साथै पुराना पुस्तकहरुको संरक्षण गर्ने कुरा मन्त्रालय मातहत पर्छ,' उनले भने, 'मन्त्रालय मातहतका निकायहरुले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमीन दिन खोजेको हो कि भन्नेबारे हाम्रो ध्यानाकर्षण भएको छ। कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यसप्रकारको भौतिक सम्पत्तिहरु प्रयोग गर्न दिइने छैन।'

उनले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने पनि बताउनु भयो ।

उनले केशर महल ६ महिना भित्र पुनर्निर्माण हुने समेत बताए।

'कन्ट्रयाक्टरहरुले हामी अब ६ महिनाभित्र करिव कम्प्लिट गर्छौं। तीन महिनामा एउटा भाग हामी सक्छौँ,' उनले भने। उनले कन्ट्रयाक्टरलाई काम छिटो सकाउन प्रशासनिक वा बजेटको आवश्यकता परेमा मन्त्रालयलाई खबर गर्न भनेको समेत बताए।

केशरमहल ३४ रोपनी,दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ। त्यहाँ स्थित 'गार्डेन अफ ड्रिम' आठ रोपनी क्षेत्रफलमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell