१ अर्ब ४० करोड जनसंख्या रहेको भारत विश्व फुटबलको हिसाबले हेर्दा 'अन्डर अचिभर' मुलुक नै हो। दक्षिण एसियाली मुलुक भारतले विश्वस्तरमा आफ्नो वर्चस्व बनाउन नसक्नुको एउटा मुख्य कारण मध्येको एक हो - फुटबलको घरेलु संरचना।
पछिल्लो दशकमा भारतमा दुईवटा मुख्य लिग देखिन्छन् : आई - लिग र इण्डियन सुपर लिग। सन् २०१४ मा अनअफिसियल रुपमा दुई महिनासम्म चलेको सुपर लिग अहिले भारतीय फुटबललाई 'रिसेप' गर्न लागि परेको छ। अहिले यो एसिया र विश्वको फुटबलका निकायले चिन्ने त्यस्तो लिग बनेको छ जसले 'भ्यूअरसिप'को हिसाबले युरोपका लिगहरुलाई पनि टक्कर दिनसक्छ।
तर, यो भारतको एकमात्र लिग सुपर लिग चाहिँ होइन। यस बिचमा सँगसँगै आई लिग पनि अस्तित्वमा रह्यो। पुरानो लिग भएर पनि आई लिग आईएसएलको संरचनागत र आर्थिक तागतसँग सँधै पछि परिरह्यो।
लगानीका हिसाबले एकदमै मजबुत आईएसएलले विदेशी लगानी पनि त्यत्तिकै तान्यो र फाइदा पनि दिलायो। तर, आई लिग तुलनात्मक रुपमा थोरै स्रोत साधनका बाबजुद स्थानीयलाई फुटबलमा जोड्न सक्रिय रहिरह्यो। शताब्दीभन्दा लामो इतिहास बोकेका मोहन बगान र इस्ट बेङ्गोलदेखि आफ्नो क्षेत्रको राम्रो प्रतिनिधित्व गरिरहेका मनिपुर मिजोरम कश्मिरसम्म आई लिगमा आवद्ध थिए। आई लिगमा रेलिगेसन भएर दोस्रो डिभिजनमा झर्नुपर्ने जोखिम हुँदा आईएसएल सुरक्षित थियो।
नेपाल हाल शहीद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिगको शैलीमा नै आई लिग र आईएसएलको विकास भएको थियो। नेपालमा लामो इतिहास बोकेको शहीद स्मारक लिग मुख्य लिगका रुपमा छ भने कर्पोरेटको ठूलो लगानी रहेको नेपाल सुपर लिगले पहिलो संस्करण पूरा गरेर दोस्रो संस्करणको मिति घोषणा गरिसकेको छ।
दुईवटा लिग भएपछि भारतमा सँगसँगै दुई लिग चलाउन नमिल्ने भन्दै मर्जरका लागि भारतीय फुटबल संघमा दबाव बढ्यो। सन् २०१९ मा आइपुग्दा सबै समस्या समाधान गर्न नसके भारतीय फुटबल संघलाई प्रतिबन्ध लगाउने चेतावनी एसियन फुटबल कन्फिडरेसनले दियो। यसका लागि एउटा भारतीय फुटबल संघले फरक रोडम्याप तयार गरेको छ जसअन्तर्गत आई लिगका केही क्लबहरु आईएसएलमा छन्। अगामी दुई वर्षपछि आईएसएलबाट रेलिगेट भएर आई लिग पुग्ने तथा आई लिगबाट प्रोमोसन भएर आईएसएल पुग्ने रोडम्याप तय भएको छ।
+++
सन् १९९६ मा भारतीय फुटबल संघले राष्ट्रिय फुटबल लिग (एनएफएल) राष्ट्रिय स्तरको फुटबल लिग सुरु गर्यो। १० सिजनसम्म चलेको एनएफएलले कमजोर संरचना, फुटबलमा व्यावसायीकरणको अभाव र गभर्निङ बडीभित्रको भ्रस्टाचारका कारण ठूलो प्रभाव छाड्न सकेन।
सन् २००७ मा एनएफएलमा सुधार गर्दा संघले आई लिगलाई माथिल्लो श्रेणीको लिगका रुपमा अघि सार्यो। पूर्ववर्ती ढाँचाको तुलनामा आई लिगले चाँडै गति पनि लियो र चर्चा पनि कमायो। तर, क्रिकेटलाई धर्मका रुपमा लिइने देशमा त्यो पर्याप्त हुन सकिरहेको थिएन। धेरै मानिसहरुको चासो फुटबलमा मोड्नु चानचुने कुरा पनि थिएन। जी नेटवर्क टिभीले ब्रोडकास्ट अधिकार लिएपछि दर्शकको भ्युअरसिपमा केही सुधार त आयो तर खेलस्तरमा सुधार नहुँदा आई लिग सुरु भएको अर्को वर्षबाटै दर्शकको फ्यानबेस कमजोर हुन थाल्यो।
सन् २०१० मा जी टिभीसँगको प्रसारण अधिकार भंग भएपछि संघले आईएमजी रिलायन्ससँग १०० मिलियन पाउन्डमा १५ वर्षका लागि सम्झौता गर्यो। जसअन्तर्गत कम्पनीले प्रायोजक, विज्ञापन, प्रसारण लगायतका सबै अधिकार प्राप्त गर्यो। यो एउटा फुटबल लिगलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर थियो।
सँगसँगै भारतमा क्रिकेटको 'सिटी बेस्ड' फ्रेन्चाइज इण्डियन प्रिमियर लिग चर्चामा थियो। प्रोमोसन या रेलिगेसनविनाको यो लिगले छोटो समयमै भारतमा तीब्र रुपमा फ्यानबेस बनाउँदै गएको थियो।
सन् २०१४ को अक्टोबरमा इण्डियन सुपर लिगले ग्रीन सिग्नल पायो। त्यसपछि सुरु भयो फुटबलका ग्लोबल स्टारलाई भारत भित्र्याउने होडबाजी। एलेसान्ड्रो डी पिएरो, लुइस ग्रासिया, डेभिड ट्रेजेगुइट, मार्को मटेराजी, रोबर्ट पिअरेसजस्त विश्वस्तरीय खेलाडीले भारतमा खेले। त्यस्तै, भारतीय खेलाडीलाई आई लिगका क्लबबाट 'लोन'मा तानियो। पहिलो सिजनमै आईएसएलको दर्शकको उपस्थिति विश्वको चौथो धेरैमा पर्यो।
सन् २०१७ र १८ को सिजनसम्म आइपुग्दा आई लिग र आईएसएल वर्षको दुई फरक समयमा आयोजना हुने गर्दथ्यो। आई लिग जनवरीदेखि मे र आईएसएल अक्टोबरदेखि डिसेम्बरसम्म चल्ने गर्दथ्यो।
२०१७ मा भारतले फिफा यू-१७ विश्वकप आयोजना गरेपछि दुवै लिग नोभेम्बरदेखि अप्रिलको बिचमा गर्नुपर्ने अवस्था आइलाग्यो। यसले गर्दा आर्थिक रुपले समृद्ध आईएसएलले उत्कृष्ट भारतीय खेलाडीहरुलाई 'पर्मानेन्ट कन्ट्र्याक्ट' दिएर राख्न थाले। जसको मार आई लिगका क्लबहरुलाई पर्यो। उनीहरु आफ्ना स्टार खेलाडीविनै मैदान उत्रनुपर्ने अवस्थामा पुगे। त्यसमाथि एएफसी क्वालिफायर्समा आईएसएलको च्याम्पियनलाई पठाउने निर्णय भएपछि विवाद थप चुलिएको थियो नै त्यसमाथि मारमा थपियो आई लिग।
सन् २०१७ मा आई लिग क्लब बेङ्ग्लुरु एफसीले आईएसएलमा जाने निर्णय गर्यो। सन् २०१५/१६ एएफसी कपको फाइनलसम्म पुगेको बेङ्ग्लुरुको उदय सर्वाधिक सफल क्लबका रुपमा भयो। आईएसएलमा गएर लगातार दुई वर्ष च्याम्पियन बन्यो बेङ्ग्लुरु।
पछिल्लो घटनाक्रमले कोलकाताका फुटबल शक्ति आई लिगका मोहन बगान र इस्ट बेङ्गललाई पनि घच्घचायो। ठूलो फ्यानबेस भएका यी दुई क्लब बिच खेल हुँदा १ लाखभन्दा बढी दर्शकको उपस्थिति हुने गरेको थियो। अझ आईएसएलको फ्रेन्चाइज एट्लेटिको डी कोलकाता (एटीके)को खेल बहिस्कार गरे समर्थकहरुले। अर्कातर्फ मोहन बगान र इस्ट बेङ्गल त्यस वर्ष कानुनी कारणले आईएसएलमा प्रवेश गर्न सकेनन्।
पछिल्ला दशकमा भारतको पूर्वोत्तर भारतका खेलाडीले भारतीय फुटबल टिममा महत्वपूर्ण योगदान दिँदै आएका छन्। मणिपुर, मेघालय, नागाल्याण्ड र मिजोरमले भारतीय राष्ट्रिय टोलीमा महत्वपूर्ण योगदान दिँदै आएका छन् भने मेघालयको सिलोङ लाजोङ र मिजोरमको ऐजवाल एफसीका सबैभन्दा धेरै 'प्यासोनेट' फ्यानबेस छ। यी डर्बीहरु उपस्थित हुने दर्शकको संख्याले आई लिगको महत्वलाई अझ स्पस्ट पार्छ।
आईएसएल लिग सुरु भएसँगै भारतीय फुटबल संघले यी दुई लिगमा कुनै पनि तलमाथि नभएको दाबी गरिरहे पनि आईएसएलको दबदबा देखिँदै आयो। दुई लिगमध्ये एक लिग रोज्नुपर्ने बाध्यतामा खेलाडी पर्न थालेपछि समृद्ध आईएसएलले भारतीय र विदेशी स्टार खेलाडी भित्र्याउन लागि परिरह्यो। मोहन बगान इस्ट बेङ्गलजस्ता समृद्ध क्लबहरु पनि आईएसएलसँग प्रतिस्पर्धा गर्न नसकेपछि बिस्तारै आई लिग छाडेर आईएसएलमा पुगे।
आईएसएललाई माथि पुर्याउने अर्को महत्वपूर्ण पक्ष रह्यो ब्रोडकास्टिङ। आईएसएलको साँझ ८ बजे प्रत्यक्ष प्रसारण चल्दा आई लिगका खेलहरु मध्य दिउँसो निर्धारित थिए। त्यसमा पनि ९१ मध्ये ५० वटामात्र आई लिगका खेलहरु प्रत्यक्ष प्रसारण हुँदा दर्शकलाई तान्न आईएसएल सफल भयो।
यता दुईवटा लिगको दबाव भारतीय फुटबल संघलाई परिरहेको थियो। फिफा र एएफसीको एउटा समितिले सन् २०१९/२० सम्म एकीकृत राष्ट्रिय लिग गराउन नसके भारतीय क्लबलाई कन्टिनेन्टल प्रतिस्पर्धाहरुमा सहभागी हुन नदिने चेतावनी दियो। त्यसपछि दबावमा आएको भारतीय फुटबल संघ आई लिग र आईएसएललाई मिलाएर लैजाने योजनामा अघि बढ्यो जुन सहज पटक्कै थिएन।
+++
भारतीय फुटबल संघका महासचिव कौशल दासले अघिल्लो महिनामात्र आई लिगको च्याम्पियन टोलीले आईएसएल खेल्ने बताए।
उनले सन् २०१९ मा बनाइएको रोडम्याप अनुसार नै भारतीय फुटबल अघि बढ्ने बताए। यसरी आईएसएल भारतीय फुटबलको टप टायरमा रहँदा आई लिगको २०२२/२३ को च्याम्पियन आईएसएलमा 'बढुवा' हुने संघले जनाएको छ। अब दुई वर्षपछिबाट आई लिगबाट आईएसएलमा प्रोमोसन र आईएसएलबाट आईलिगमा रेलिगेसन हुनेगरी सुपर लिगलाई संघले अघि बढाएको छ।
'हामीले २०२३/२४ को सिजनबाट लागू हुने गरी एउटा रोडम्याप बनाएका छौं जसअनुसार यस सिजनको (२०२२/२३) को आई लिगको च्याम्पियनले अर्कोवर्ष आईएसएल खेल्नेछ। आईएसएलमा टिमको संख्या बढाइने छ,' उनले भनेका छन्, 'यो प्रकृया दुई सिजन कार्यन्वयन हुनेछ। त्यसपछि प्रष्ट रुपमा रेलिगेसन (आईएसएलबाट आईलिग) र प्रोमोसन (आईलिगबाट आईएसएल) हुनेछ। यो योजनामा आईएसएल, आई लिग, फुटबल संघ, एएफसीलगायत सबै सरोकारवालाले सहमति जनाएका छन्।'
आई लिगको च्याम्पियनले आईएसएलमा स्थान बनाउने बताइरहँदा लाइसेन्सको क्राइटेरिया पूरा गर्नु अझ ठूलो चुनौती हुने देखिन्छ। दासले कोभिड महामारीका कारण क्लबका लागि अफ्ठ्यारो अवस्था हुने भए पनि 'रोडम्याप' कडाइका साथ पालना गरिने बताए।
'कोभिड १९ ले ठूलो धक्का दिएको छ। समस्याहरू छन्, हामीले बुझेका छौं। पूर्व च्याम्पियन चेन्नई सिटीजस्तो टोलीले आई लिग खेल्न जारी राख्न सकेको छैन। एससी ईस्ट बङ्गालले आईएसएलमा खेल्दा केही समस्याहरू भोगेका हामीलाई थाहा छ,' उनले भने, 'तर यतिबेला हामीले सबै सरोकारवालासँग सहमति गरेको 'रोडम्याप' कायम छ। हामी त्यो योजनासँग पूर्णरूपमा छौं। योजनाबाट विचलित हुनुपर्ने कुनै कारण छैन।'