PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेश जाँदा सजिलै लैजान सकिने सुनका गहना नेपाल फर्किँदा भने सजिलो छैन ल्याउन



सविन ढकाल

विदेश जाँदा सजिलै लैजान सकिने सुनका गहना नेपाल फर्किँदा भने सजिलो छैन ल्याउन

काठमाडौं : चार दिनअघि बस्नेत दम्पती अस्ट्रेलियाबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए। झन्डै साढे २ वर्षपछि उनीहरु नेपाल फर्किएका थिए। विमानस्थलमा रहेका भन्सार कार्यालयका कर्मचारीले उनीहरुलाई एकाएक रोके।

उनीहरुले शरीरमा लगाएको सुन नै उनीहरुलाई कर्मचारीले रोक्नुको कारण बन्यो। शरीरमा दुई जनाले यति धेरै सुन पहिरिएका थिए कि कर्मचारीले एकएक गरी खोल्न लगाए। हातदेखि गलासम्म लगाएका सबै सुनका गहना खोलियो। करिब ६० वर्ष उमेर नाघिसकेका दम्पतीलाई विमानस्थलमा जे गरियो - उनीहरुका लागि सैह्य थिएन। आफ्नो शरीरका गहना किन खोल्न लगाएको? प्रतिवादमा उत्रिए उनीहरु। तर, ड्युटीमा खटिएका कर्मचारीले के सुन्थे?

एकएक गर्दै शरीरमा भएका सुन खोल्न बाध्य भए बस्नेत दम्पती। हातको औंठीदेखि गलाको सिक्रीसम्म खोलेर तौल गरियो। २२ तोलाभन्दा बढी सुनका गहना रहेछ उनीहरुले लगाएको।

'धेरै समय भएको थियो। हाम्रो शरीरमा कति तोला सुन रहेछ भन्ने थाहा थिएन। पहिलेदेखि नै लगाइरहेका थियौं। तौल गर्दा पो २२ तोला बढी पो देखियो,' बस्नेत दम्पतीको जवाफ दियो।

यतिसम्म महोल ठिकै थियो। कर्मचारीको व्यवहारले उनीहरुलाई रुष्ट बनाएको मात्र थियो। तर जब कर्मचारीले सुन लैजान राजश्व तिर्नुपर्ने बताए बस्नेत दम्पती हच्किए।

'आफैँले लगाएको सुनमा पनि विदेशबाट आउँदा राजश्व तिर्नुपर्ने?'

उनीहरुले नेपालबाट दुईवर्ष अघि अष्ट्रेलिया जाँदा गहना लगाएरै गएको जिकिर गरे। तर, भन्सारका कर्मचारी उनीहरुको कुनै कुरा सुन्ने पक्षमा थिएनन्। भन्सार कार्यालयका कर्मचारीले उनीहरुले लगाएको सुन जफत गरे। बस्नेत दम्पतीमात्र होइन पछिल्लो समय यसरी विदेशबाट फर्किनेहरुले सरकारले तोके भन्दाबढी सुन ल्याएमा राजश्व तिर्नुपर्ने हुन्छ।

विदेश जाँदा भने जति तोला सुन लगाएर गए पनि कुनै रोकतोक हुँदैन। फर्किँदा भने सरकारले तोकेभन्दा बढी सुन ल्याउँदा राजश्व बुझाउनुपर्छ। यसरी राजश्व बुझाउनेहरुको एउटै प्रश्न हुन्छ - विदेशबाट आफैँले लगाएको गहना ल्याउन नदिने भए जाँदा पनि यति सुनमात्र लगाउन पाउने किन नभनेको त?

यसरी भन्सार कार्यालयले जफत गरेको सुन दुई महिना अर्थात् ६० दिनभित्र राजश्व तिरेर लैजानुपर्ने हुन्छ।

'धेरैजना मानिस आफ्नै सुन ल्याउँदा किन राजश्व तिर्नुपर्ने भन्नुहुन्छ। तर, सरकारको नियम नै यस्तो छ। हामीले त नियमको पालना गरेर काम गर्ने न हो,' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले भने।

विदेशबाट सुन ल्याउने घट्न थाले

विदेशबाट फर्किदाँ राजस्व तिरेर सरकारले तोकेअनुसार काँचो तथा सुनका गहनाहरु ल्याउन पाइन्छ। अहिले त्रिभुवन भन्सार कार्यालयले विदेशबाट हुने सुन तस्करीलाई कम गर्न भन्सार चेकिङ कडाइ गरेको छ। जसको कारण विदेशबाट फर्किदा सुनका गहना र काँचो सुन वैधानिक तरिकाबाट ल्याउनेमा पनि यसको असर पर्न थालेको छ। मंसिर महिनाको केही तीनसँग आएको सुनको परीणामको तुलनामा गर्दा विदेशबाट आउने सुनको परीणामसमेत घटेको देखिएको छ। अहिले दैनिक औसत २ केजी सुन विदेशबाट आउने गरेको छ। यो व्यक्तिले ल्याउने सुनको परिणाम हो। राष्ट्र बैकले भने दैनिक २० केजी सुन ल्याउन पाउँछ।

माघ १५ गते विभिन्न ५४ जना यात्रुहरुबाट २ केजी ५ सय ५४ ग्राम सुन आएको देखिएको छ। यसरी गहना बनाएर आएका सुनहरुको राजस्व बुझाएपछि मात्र भन्सार बाहिरिन दिन्छ।

'मंसिरको केही दिनमा तुलना गर्दा घटेको देखिन्छ। अहिले पनि दैनिक २ केजी भन्दा बढी आउने गरेको देखिएको छ। सबै सुन ल्याउनेहरुलाई राजस्वको दायरमा ल्याउन कडाई गरेका छौं,' भन्सार कार्यालयका प्रमुख भट्टराईले भने।

माघ १४ गते १ हजार २ सय ग्राम सुन राजस्व तिरेर भित्रिएको राजस्व कार्यालयको तथ्याङकले देखाएको छ। माघ १३ गते २ किलो १७ ग्राम सुन भित्रिएको थियो। त्यस्तै मंसिरको दोस्रो साता लगतार केही दिनसम्म १२ केजी भन्दा बढी सुन आएको देखिएको छ। २१ केजीसम्म सुन आएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए।

अहिले विदेशबाट अवैध रुपमा बरामद हुने सुनको परिमाण भने घटेको भन्सार कार्यालयको दाबी रहेको छ। तर सुनमा चाँदीको जलप लगाए पनि सुन तस्करीहरुले सुन ल्याउने गरेका छन्। केही दिन अघिमात्र भन्सारले सुनको बालामा चाँदीको जलप लगाएर ल्याएको ९३ ग्राम सुन बरामद गरेको थियो। यसरी अवैध तरिकाले सुन ल्याउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

'अबैध सुन बरामद अहिले कम देखिएको छ। सुरक्षा चेकिङमा समेत कडाई गरेका छौं,' त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।

के विदेशबाट सुन ल्याउनै पाइँदैन त?

भन्सार ऐन अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्। यस्तै, ऐनअनुसार ५० ग्रामभन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याए जफत हुन्छ। ५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति दश ग्राम १० हजार रुपैयाँका दरले तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याए त्यस्तो बढी परिमाण जफत गरिने नियममा रहेको छ। यसरी ल्याएको १ सय ग्राम सुनमा पहिलो ५० ग्राममा प्रति दश ग्राममा ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ। अर्थात १ सय ग्राम सुनमा १ लाख रुपैयाँ तिर्नुपर्छ।

तर, यस्तो सुन लुकाइछिपाइ गरेर ल्याएको खण्डमा जफत हुने र अन्य कानुनी कारवाहीसमेत भोग्नुपर्छ। त्यसैगरी व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एउटा भन्दा बढी ल्याएमा भन्सार महसुल लाग्छ। व्यक्तिगत प्रयोगको मोबाइल फोन एक वा सोभन्दा बढी भएमा भन्सार महसुल लाग्छ। मदिरा एक लिटरसम्म ल्याउन पाइन्छ, बढी भए जफत गरिने कानुनी व्यवस्था छ।

यस्तै, भन्सार विभागको अध्ययनमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले झुक्क्याएर विभिन्न डिभाइसमा सुन हालेर पठाउने गरेको पनि देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell