PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?



लक्ष्मी बलायर

ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?
Photo : Getty Images

विश्वभर कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै वैज्ञानिकहरु यसको अनुसन्धानमा लागेका छन्। हाल वैज्ञानिकहरुले 'BA.2' नाम दिएको ओमोक्रनको 'सब भेरियन्ट' पनि ४० भन्दा बढी देशमा पाइएको छ। भारतमा पनि 'सब भेरियन्ट' तीव्र गतिमा फैलिरहेको छ। डेल्टाभन्दा  संक्रामक भनिएको ओमोक्रनको '‌ओरिजिनल भर्सन' भन्दा नयाँ 'सब भेरियन्ट' थप संक्रामक भएको पाइएको छ। तर, यसले गम्भीर असर गरेको भने पाइएको छैन। ओमोक्रनको 'सब भेरियन्ट'बारे भने वैज्ञानिकहरु अझै अध्ययनमा छन्।

ओमोक्रन भेरियन्टका लक्षणहरु यसअघिका लक्षण भन्दा फरक देखिएका छन्। सामान्य रुघा खोकी, टाउको दुखाई पनि ओमोक्रनको लक्षण हो। यससँगै आँखा दुख्ने र चिलाउने पनि ओमोक्रन भेरियन्टकै लक्षण हो जसबारेमा धेरै वैज्ञानिक अध्ययन भएको छैन। भेरियन्टहरुको 'म्यूटेसन'ले नयाँ नयाँ लक्षणहरु देखिएको र आँखामा कोरोनाको असर त्यसैको प्रभाव परेको बताइन्छ।

यसअघि उच्च ज्वरो, खोकीका साथै स्वाद र बस्ना हराउनुलाई कोभिड १९ को सूचक मानिएको थियो। अहिले भने आँखा दुख्ने समस्या थाहा नपाउने गरि संक्रमितहरुमा देखिएको बताइन्छ। संक्रमण देखिएको दुई महिनापछि सम्म ओमोक्रन भेरियन्टले संक्रमितको आँखामा असर गर्ने देखिएको छ। संक्रमणका कारण आँखामा 'कन्जक्टिभाइटिस' (पिंक आइ) समस्या देखिएको छ।

भारतीय अनुसन्धानकर्ताहरुले पनि कोभिड १९ का बिरामीमा आँखाको समस्या देखिएको बताएका छन्। आँखामा पानी आउने र चिलाउने जस्ता समस्याहरू देखिएका छन्।

नेपालमा पनि तीव्र रुपमा 'ओमोक्रन' भेरियन्ट फैलिरहेको छ। र, बाहिर झै यहाँ पनि संक्रमितमा आँखाको समस्या देखिन सुरु भएको छ।

नेत्र रोग विशेषज्ञ डा. सैलेश प्रधान नेपालमा पनि ओमोक्रन संक्रमितहरुमा आँखा दुख्ने र चिलाउने लक्षण देखिएको बताउँछन्। विश्वमा यो भेरियन्टका कारण आँखामा समस्या देखिएको भन्दै नेपालमा पनि आँखा चिलाउने र दुख्नेलाई अहिले सामान्य रुपमा लिन नहुने उनले बताए।

पाटन कम्युनिटी आइ केयर सेन्टरमा कार्यरत प्रधानले संक्रमितले आँखामा समस्या देखिएको अवस्थामा लापरवाही गरेको खण्डमा आँखामा निकै असर गर्ने बताए। उनले पनि यसले 'कन्जक्टिभाइटिस' हुन सक्ने बताए।

'यो भाइरल इन्फेक्सन हो। भाइरल इन्फेक्सनमा कन्जक्टिभाइटिस हुन्छ। ओमोक्रन हुँदाआँखा पोल्ने, चिलाउने, कचिरा आउने र आँशु आउने लक्षणहरु देखा पर्न सक्छन्। आँखाको संक्रमण बिस्तारै बढ्दै गएर कोर्निया इन्फेक्सन हुनसक्छ। यदी कोर्निया इन्फेसन बिगेको अवस्थामा दृष्टिविहिन हुने सम्भावना निकै हुन्छ।' उनले भने।

जाडो मौसममा 'कोल्ड एलर्जी' र रुघाखोकी सामान्य हुने भएकाले ओमोक्रन नै हो भनेर छुट्याउन भने गाह्रो हुने उनी बताउँछन्। ओमोक्रन हुँदा त्यससँगै संक्रमितमा आँखा दुख्ने,चिलाउने र सुन्निजे सुरुवाती भन्दा मध्यतिर देखिने उनले भने।

उनले हाल संक्रमितहरुलाई आँखामा समस्या हुँदा हेरचाह गर्न समेत सुझाव दिएका छन्।

डा. प्रधान भन्छन्,' संक्रमण देखिएको अवस्थामा लापरवाही गर्न हुँदैन। लापरवाही गर्दा आँखा बिग्रिन सक्छ। एकदम चिलाउँदा आँखाको परीक्षण गरेर एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell