PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, आफ्नै तयारीमा उत्तर कोरिया, जापान र अमेरिकासँगको संवादमा दक्षिण



पहिलोपोस्ट

कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, आफ्नै तयारीमा उत्तर कोरिया, जापान र अमेरिकासँगको संवादमा दक्षिण

उत्तर कोरियाले यस सातामात्र मध्यम तथा लामो दुरीमा प्रहार गर्न सक्ने विष्फोटक क्षेप्यास्त्रको परीक्षण गरेको छ। सोमवार त्यहाँको सरकारी सञ्चार माध्यमले यसलाई पुष्टि गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ। 

ह्वासङ-१२ नाम दिइएको क्षेप्यास्त्र त्यहाँको एकेडमी अफ डिफेन्स साइन्स र सेकेन्ड इकोनोमिक कमिसर तथा अन्य सरकारी संस्थाको योजना मुताविक आइतवार परीक्षण गरिएको त्यहाँको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएको समाचारमा उल्लेख छ। 

उक्त मिसाइल मध्यम तथा लामो दुरीमा जमिनदेखि जमिनसम्म लक्षित गरी प्रहार गर्न सकिने बताइएको छ। यस परीक्षण क्षेप्यास्त्रको  उत्पादन, परिचालन र हतियार प्रणालीको सटिकताको मूल्याङ्कनका लागि भएको बताइएको छ। 

उसले परीक्षण छिमेकी देशको सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर गरिएको दाबी गरिएको छ। 

दक्षिण कोरियाको सैन्य स्रोतले उक्त क्षेप्यास्त्र उत्तर कोरियाको उत्तर पश्चिम जागाङ प्रान्तबाट परीक्षण गरिएको र ८०० किलोमिटरको उचाइमा र पश्चिम सागरमा खसेको बताएको छ। 

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले यस क्षेत्रको शान्तिमा खलल पुर्‍याउने भन्दै वासिङटनले आवश्यक परे सैन्य रुपमा समेत तयार रहेको जनाएको छ। 

उत्तर कोरियाको परीक्षणलाई लिएर दक्षिण कोरियाका उच्च आणविक दूतले अमेरिका र जापानका समकक्षीसँग आइतवार नै टेलिफोन वार्ता गरेका थिए। 

सियोलको विदेश मन्त्रालयले कोरियाली प्रयाद्वीपको शान्ति तथा सुरक्षा मामिला सम्बन्धि विशेष प्रतिनिधि नोह क्यु-डुकले अमेरिकी समक्षकक्षीसँग वार्ता गर्दै दक्षिण कोरिया-अमेरिकी गठबन्धनको स्वार्थ अनुरुप अगाडि बढ्ने समझदारी गरेका छन्। त्यस्तै, जापानी समकक्षीसँगको वार्तामा प्रायद्वीपको अवस्था नियन्त्रणमा राख्न सम्वाद तथा सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ। 

उत्तर कोरियासँग सम्वादका लागि पहल भइरहेको अवस्थामा पछिल्लो परीक्षणले उत्तर एक्लै अगाडि बढ्न चाहेको देखिने विश्लेषण गरेको भन्दै योन्हापले आलेख प्रकाशित गरेको छ। 

पछिल्लो परीक्षण बेइजिङ ओलम्पिक नजिकिँदै गर्दा भएको र विश्वको ध्यान केन्द्रित गर्न खोजेको देखिएको उल्लेख छ। 

त्यहाँका शासक किम जोङ उनका पिता किम जोङ इलको ८० औँ जन्म जयञ्ती र हजुवा किम इल-सङको ११० औं जन्मजयञ्तीको अवसरमा त्यहाँ राष्ट्रिय बिदा मनाइँदै छ। सोही अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षणलाई अगाडि बढाएको विश्लेषण गरिएको छ। 

यस परीक्षणले प्रायद्वीपमा शान्ति र संवाद अगाडि बढाउने दक्षिण कोरियाको प्रयासमा धक्का लागेको विश्लेषण योन्हापले गरेको छ। रुस र युक्रेन बिचको तनाव र बेइजिङको शीतकालीन ओलम्पिक आयोजनाको विषयमा बेइजिङ र पश्चिमा राष्ट्रबिच तनावका बिच दक्षिणले उत्तरसँग संवादको प्रयास गरे पनि यसमा धक्का लाग्नसक्ने उल्लेख छ। 

'त्यहाँको शासक पार्टीको गत वर्ष सम्पन्न ८ औं कंग्रेससँगै उत्तर हतियार विकासको आफ्नै समयक्रममा अगाडि बढिरहेको छ,' एक सुरक्षा विज्ञले योन्हापसँग नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, 'यस खालको गतिविधिका लागि त्यहाँको आन्तरिक मामिलाले काम गरेको छ।'

अमेरिकासँग आणविक वार्ता रोकिएको अवस्थामा उसले आणविक कार्यक्रमलाई अगाडि बढाइरहेको छ। 

गत वर्ष सम्पन्न त्यहाँको सत्तारुढ दल वर्कर्स पार्टीको कंग्रेसले रणनीतिक आणविक हतियारको विकासलाई जोड दिँदै सुरक्षित र सवल हतियार निर्माणमा जोड दिएको थियो। 

उत्तर कोरियाली कंग्रेसले गरेको निर्णय अनुसार आणविक कार्यक्रमलाई अगाडि बढाइरहेको छ। प्योङयाङले हतियारको परीक्षण गरेर आफ्नो राष्ट्रिय गौरवलाई अगाडि बढाउन चाहेको देखिएको छ। 

'प्योङयाङले महत्वपूर्ण राजनीतिक वर्षगाँठहरु मनाउने तयारीमा रहेको अवस्थामा राष्ट्रिय गौरवलाई समेत अगाडि बढाउन चाहन्छ,' इह्वा ओमन युनिभर्सिटीको इन्टरनेशनल स्टडिजका सह प्रध्यापक लैफ-इरिक एस्लेले भनेका छन्। 

त्यस्तै, आन्तरिक मामिलासँगै वाह्य मामिलाले पनि उत्तरको हतियार परीक्षणलाई ध्यान दिएको छ। जसमध्ये बेइजिङ ओलम्पिक पनि एक भएको बताइएको छ। 

यसै महिनामात्र उत्तरले चीनको सीमा नजिक क्षेप्याास्त्र परीक्षण गरेको थियो। यसको विषयमा बेइजिङले कुनै प्रतिक्रिया दिएको छैन। 

उत्तर कोरियाको यो कदम राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावविरुद्ध रहेको समेत उल्लेख छ। 

यता, उत्तरले आणविक क्षेप्यास्त्र परीक्षण गरेको अर्को दिन नै उत्तरका केही सरकारी अनलाइनहरु अवरुद्ध भएका छन्। 

सोमवार बिहानदेखि त्यहाँका केही सरकारी साइट अवरुद्ध भएका हुन्। जसमध्ये त्यहाँको मुख्य पत्रिका दी रोडोङ सिन्मुन र त्यहाँको परराष्ट्र मन्त्रालय प्रमुख रहेका छन्। केही साता अगाडि पनि त्यहाँका केही पनि यस्तै अवरुद्ध भएको थियो। 

यद्यपि, यी साइटहरु साइबर आक्रमणमा परेका हुन् वा स्थानीय रुपमै अवरुद्ध भएका हुन् भन्ने खुल्न नसकेको योन्हापले जनाएको छ। 

कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा त्यहाँको इन्टरनेट अवरुद्ध हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell