PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

आत्म प्रशंसामा रत्तिएका नेताहरु हो! शहीदको पवित्र सपना दूषित नपार



पहिलोपोस्ट

आत्म प्रशंसामा रत्तिएका नेताहरु हो! शहीदको पवित्र सपना दूषित नपार

  • सुभाषचन्द्र देवकोटा -

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

भूपी शेरचनको यो कविताले शहीद र देशको वास्तविकताको सटिक चित्रण गरेको छ। शहीद भनेका देशका यथार्थ सत्य हुन्, देशका जीवन र गति हुन्। शहीद दिवस हामी तीनै शहीदको कुरा गरिरहेका छौं। शहीदक वीर गाथा गाइरहेका छौं। शहीद दिवसको पुनित अवसरमा शहीदहरु प्रति हार्दिक श्रद्धान्जली।

शहीदको अजम्बरी सपना देशको अस्तित्वको आधार हो। शहीदको सपनामा उभिएको देश, शहीदको वीर गाथासँगै बौरिएको देश कहिल्यै टुहुरो हुँदैन। किन भने शहीदको सपना, वीरगाथा युग चेतनाको आवाज हो र यो सँगै देश चुलिएको हुन्छ। त्यसैले हामी गौरव गर्छौ, सम्मान गर्छौ हाम्रा अम्बरी युग नायकप्रति।

एउटा ज्युँदो देश शहीदका सपानासँगै बाँच्छ, उभिन्छ र गतिशील बन्छ। हो हामी, तिनै शहीदको गतिशील सपना पोखिएको माटोमा उभिएर तिनै शहीदको रगतलाई अञ्जुलीमा उठाएर शहीदकै गाथा तुनिरहेका छौं। देशभक्तिको गीत गाइरहेका छौं।

निरङ्कुश राणा शासनको बर्बरता र स्वेत आतंकको कहालीलाग्दो दिनको बिरुद्ध विद्रोह र चेतनाको विगुल फुक्दा हत्या गरिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दहरु अजम्बरी शहीद हुन्। जनताको स्वतन्त्रता र स्वाभिमानका लागि जीवन वलिदान गरेका तिनै शहीदहरुको सपना र वलिदानको जगमाथि उभिएर स्वतन्त्रताको पखेटा फटफटाई रहेका छौं। जीवन यात्राको गोरेटो कोरिरहेका छौं। यथार्थमा शहीद हाम्रा धर्मकर्मका गंगा जमुना हुन्।

यथार्थमा शहीदहरु हाम्रा जीवनका लयहरु हुन्। हाम्रो स्वाभिमानका अग्ला सगरमाथाहरु हुन्। न्याय समानता र भातृत्वका प्रतीक हुन्। देशको आकाशमा उदाउने रातो सूर्य शहीदहरु कै रगत हो। त्यसैले शहीदहरु जीवनका रंङहरु हुन्। कहिल्यै नओइलाउने मखमली फूलहरु हुन्।

शहीदको त्याग जगमाथि हुर्किएको स्वतन्त्रता हाम्रा लागि प्राणभन्दा प्यारो छ। शहीदको सपनासँगै गतिशील अग्रगमनको यात्रा हाम्रो लागि स्तुत्य छ। हाम्रो जीवनको हरेक यात्रा र उत्सव यिनै शहीदको बलिदानका परिणाम हुन्। हामी नतमस्तक छौं हाम्र यजेय शहीदहरु प्रति। हामी सलाम गर्छौ, हाम्रो देशको धरोहरप्रति। हामी जयजयकार गर्छौ हाम्रो अजम्बरी सपनाका नायकहरु प्रति।

शहीद देशका धरोहर र पहिचानका अजेय किल्ला हुन्, समृद्धि सपनाका स्रष्टा हुन्। शहीद हाम्रा साझा संस्कृति, साझा पहिचान र सह अस्तित्वका द्योतक हुन्। तर, विडम्बना आज शहीदको यो आलोकमाथि, मर्यादा र पहिचानमाथि राजनीतिको कालो बादल लागेको छ। शहीदको पवित्र योगदान, समर्पणलाई पैसासँग मोलतोल गरेर अवमूल्यन गरिएको छ। सिर्फ केही धूर्त राजनीतिज्ञ र पैसाखोरको स्वार्थका लागि शहीदको मर्यादा भंग गरिएको छ।

जनताको स्वाभिमान र स्वतन्त्रताको लागि तानाशाहीहरुको किल्लामा धावा बोलेर हाँसीहाँसी मृत्युवरण गरेका गंगालाल र धर्मभक्तजस्ता शहीदहरुको पङ्तिमा सीर्फ पैसाको लेनदेनमा दुर्घटनाका मृतकहरुलाई समेत राख्‍ने राजनीतिका दलालहरुको अक्षम्य हर्कतले वास्तविक शहीदको पहिचान र मर्यादा उल्लंघन गरेको छ। यसले राजनीतिलाई नै दुषित बनाएको छ, राष्ट्रको स्वाभिमानलाई कलंकित बनाएको छ। हामी हात उठाएर भन्छौं, अझ चर्को स्वरमा भन्छौं, सक्छौ शहीदको सम्मान गर, सक्दैनौं शहीदको मर्यादामाथि खेलवाड गरेर आफ्नो स्वार्थको रोटी नसेक।

नेपालको राजनीतिक इतिहासमा राजनीतिक स्वतन्त्रता र स्वाभिमानका लागि थुप्रै शहीदहरुले रगत बगाएका छन्। जीवनको आहुती दिएका छन्। यसको सिलसिला लामो छ। आधिकारिक रुपबाट गोरखाका लखन थापालाई प्रथम शहीद मानिएको छ। जसलाई राणा शासकको विरोध गरेवापत् १९३३ सालमा गोर्खाको उनकै गाउँ मनकामनामा झुन्ड्याएर मारिएको थियो। त्यस्तै, राणाहरुको जहानीया शासनको सर्वसत्तावाद विरुद्धको आन्दोलमा अगुवाई गर्दा १९९७ साल १० देखि माघ १४ गतेसम्म काठमाडौंको विभिन्न ठाँउमा लगेर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरुलाई तात्कालीन राणा शासकहरुले झुण्ड्याएर र गोली हानेर हत्या गरेका थिए। यसरी १९९७ सालदेखि २०६२/०६३ सम्म आइपुग्दा देशको लोकतान्त्रिक आन्दोलन र अभियानका क्रममा थुप्रै नेपाली आमाका असल सपुतहरुले सहादत प्राप्त गरेका छन्। यिनै शहीदहरुको स्मरणमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।

शहीदहरु देशका प्रतिष्ठा हुन्, देशका धरोहर हुन्। देश उनीहरुकै सपनामा सजीव र गतिशील बनेको हुन्छ। शहीद देश विकास र उन्नयनका द्रष्टा पनि हुन्। जनताका मन र दिलका आवाज हुन्। तर, आज शहीदको यस्तो प्रतिष्ठा र अजम्बरी सपनामाथि छेडखान भइरहेको छ। राजनीति खेलिएको छ। विभेद, अन्याय र अत्याचारको आन्दोलनमा शहीद भएका शहीदहरु स्वयम् विभेदको सिकार भइरहेका छन्। राजनीतिक छुवाछुत जस्तो असभ्यताको मारमा हाम्रा शहीदहरु परिरहेका छन्।

दिनैपिच्छे आफ्ना नेताहरुको जन्मदिन मनाउने बानी परेकाहरुका लागि शहीद दिवस वर्षको एक पटक मनाइने औपचारितामा सीमित पारिएको छ। शहीदका आफन्त र परिवारको दु:ख तथा पीडामा सिन्को नभाच्ने राजनीतिक दल आफ्ना नेता र कार्यकताका नाममा खोलिएका प्रतिष्ठानको लागि राज्यको ढुकुटीबाट करोडौं रुपैया खर्च गरिरहेका छन्। कार्यकता पाल्ने, गुट उपगुट चलाउने गरिरहेका छन्। विडम्बना, अब राजनीतिक पार्टीका नेता शहीदको सपनाका कुरा गर्न छोडेका छन्। शहीदको योगदान र त्यागको बखान गर्न छोडेर आफ्नै रामचरित्र सुनाउन थालेका छन्।

शहीदहरुको अपमान गर्ने छुट कसैलाई छैन। त्यसैले शहीदको पवित्रतामाथि तिम्रा स्वार्थको हात नचलाउ। हामी आवाज ठूलो पारेर भनिरहेका छौं। तिमीलाई शहीदको सपनामाथि खेल्ने कुनै अधिकार छैन। शहीदको पवित्र सपनालार्इ दूषित नपार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell