PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

म्यानमारमा जुन्ता सरकार टिकाउन 'बुद्ध' को सहारा : मिन आङ कसरी भए 'बौद्ध धर्मका रक्षक'?



पहिलोपोस्ट

म्यानमारमा जुन्ता सरकार टिकाउन 'बुद्ध' को सहारा : मिन आङ कसरी भए 'बौद्ध धर्मका रक्षक'?
भिक्षु भामो सयाडउसँग भेट्दै मिन आङ। तस्विर :GNLM

म्यानमारमा गत वर्ष भएको 'कू' को नेतृत्व गरेका सैन्य प्रमुख मिन आङ ह्लिङ अहिले आफूलाई 'बुद्ध धर्मको रक्षक' का रुपमा स्थापित गराउन लागि परेका छन्।

जननिर्वाचित सरकारलाई अपदस्त गर्दै 'कू' गरेपछि उनी नेतृत्वको सैनिकले पहिला बुद्ध धर्मको मूल्य मान्यता विपरीत काम गर्‍यो। उनीहरु हत्या हिंसामा उत्रिए। जसका कारण हालसम्म करिब १ हजार ५ सय मानिसको मृत्यु भइसकेको छ।

हाल भने उनै मिन आङ म्यानमारमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बनाउन लागिपरेका छन्। तर, सेनाविरुद्ध संघर्ष गरिरहेका बौद्ध धर्मावलम्बीको एक समूह भने मिन आङको कदमलाई 'देखावटी' भनिरहेका छन्।

'तिनीहरुको बुद्ध धर्म फेक शो हो। उनीहरु बौद्ध धर्मावलम्बी कहलिन लायक छैनन्। हामी मानिसलाई मार्दैनौं। उनीहरु अहिले जे गरिरहेका छन् त्यो बद्धिज्मको विपरीत हो,' कू विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका ३० वर्षीय भिक्षु अग्गा वान्थाले भने।

उनका अनुसार अहिले मिन आङ नेतृत्वको जुन्ता सरकारले देशमा पकड जमाउनमात्र आफूलाई बौद्ध धर्मावलम्बीका रुपमा प्रस्तुत गरिरहेका छन्।

६० वर्षभन्दा बढी समय सेनाको अधिनमा चलेको म्यानमारमा करिब ९० प्रतिशत बौद्ध धर्मावलम्बी छन्। मिन आङले म्‍यानमारमा आफ्नो 'लिगेसी' कायम राख्न र बौद्ध धर्मावलम्बीसँगको सम्बन्ध सुधार्न विभिन्न प्रयास गरिरहेका छन्। त्यसको अर्थ बौद्ध धर्मावलम्बी नागरिकसँग नजिकिनु भने होइन। मिन आङ 'कू' को विरुद्ध लगातारको विरोध भइरहँदा समेत 'हाइ प्रोफाइल' भिक्षु र बुद्ध धर्मसँगप्रति समर्पित व्यक्तिहरुसँग राम्रो हिमचिम बढाइरहेका छन्।

गत वर्षको अक्टोबरमा चिन राज्यको थान्तलाङमा सेनाले कारवाही गर्दा सयौं घर नष्ट भएको थियो। साथै, हजारौं व्यक्ति पलायन हुन बाध्य भएका थिए। त्यसको केहीदिनपछि मिन आङले म्यानमारको दोस्रो ठूलो शहर मनडाले पुगे। त्यहाँ पुगेर उनी दान धर्म कार्यमा संलग्न भए। उनले त्यहाँ सरकारले नियुक्त गरेको संघ महानायक कमिटीका प्रमुख भामो सयाडउलाई भेटेका थिए। उक्त कमिटीले म्यानमार र विदेशमा बौद्ध धर्मसँग सम्बन्धित कार्यहरु हेर्ने गर्छ।

देश नै जुन्ता सरकारको विरोधमा ओर्लिरहँदा सरकारी संचार माध्यममा भने दैनिकजसो सैन्य नेतृत्व र 'हाइ प्रोफाइल' भिक्षुसँग भेटेको खबर आइरहन्छ। यस्तो भेटघाटको मुख्य उद्धेश्य भनेको विरोधका बिच म्यानमारमा सरकारको समर्थनमा जनमत जुटाउनु हो। जुस पछिल्लो समय सफल पनि देखिएको छ। अमेरिकाको इन्सटिच्युट अफ पिसले गत महिना प्रकाशित गरेको एक रिपोर्ट अनुसार पछिल्लो समय 'कू'पछि सैन्य समर्थन सार्वजनिक रुपमा चार गुणाले बढेको छ।

'सेना धर्मलाई देखाएर समर्थन जुटाउन निकै बाठो छ। यदि तिमी भिक्षु हो भने समाजमा त्यो निकै प्रतिष्ठित कुरा हो। त्यसैले सेना उनीहरुको प्रयोग गरेर भ्रम फैलाइरहेको छ,' म्यानमारमा विभिन्न राजनीतिक विचारहरुलाई एकसाथ ल्याउने अभियानमा लागिरहेका साइ थेट नाङ ओले भने।

'उनले गर्नसक्ने काम धेरै छन्। तर, मिन आङ प्रख्यात भिक्षुहरुसँग भेटघाटमा व्यस्त छन्,' उनले भने।

गत सेप्टेम्बरमा सैनिक सरकारले कट्टरपन्थ राष्ट्रवाद विचार राख्ने भिक्षु असिन विराथुलाई रिहा गरेका थिए। उनी मुस्लिमविरुद्ध अभिव्यक्ति दिएर बेलाबेलामा चर्चामा आइरहन्छन्।

सेना विराथुसँग दुरी काया गरेको देखाएपनि मुस्लिमप्रति उनको 'हार्डलाइन' विचारको भने समर्थनमा छ। उसो त रोहिङ्गा नरसंहारको घटनाले म्यानमारको सेना र विशेष गरी मिन आङमाथि प्रश्न उठी नै रहन्छ।

इन्टरनेशनल क्राइसिस ग्रुपका म्यानमार सल्लाहार रिचार्ड होर्से सैनिक नेतृत्वप्रति लक्षित गर्दै भन्छन्, 'उनीहरुको धेरै साथी छैन। सबैजनाले उनीहरुलाई घृणा गरिरहेको अवस्थामा उनीहरु आफूले सक्ने मान्छेहरुसँग सम्बन्ध बढाइरहेका छन्।'

जुन्ता सरकारले 'बुद्ध राष्ट्रवाद' लाई विदेशमा समेत प्रचार गर्ने काम गरिरहेको छ। मिन आङपछि सेकेन्ड इन कमान्डमा रहेका जनरल सो विन सेप्टम्बरमा रसिया जाँदा विवादित भिक्षु सितागु सयाडउसँगै गएका थिए। यसरी भिक्षुलाई सँगै लिएर हिँडदा 'धार्मिक समर्थन' रहेको देखाउन सेनाले खोजेको होर्सेको विश्लेषण छ। सितागुले सेनाले गरेको रोहिङ्गा नरसंहारको वचाउमा अभिव्यक्ति दिएका थिए।

'गैर बुद्धिस्तहरु मानव होइनन्। उनीहरुलाई मार्नु जायज हो,' सितागुले भनेका थिए।

अहिले सेना धेरै बौद्ध धर्मावलम्बी नरहेको क्षेत्रमा केन्द्रित रहेको बताइन्छ। चिन राज्यमा भएको सैनिक कारवाही त्यसैको उपज भएको साइ उ बताउँछन्। चिन राज्यमा करिब ८५ प्रतिशत जनसंख्या इसाई र कयाह मान्छन्।

अहिले जुन्ता सरकारको विरुद्ध आन्दोलनमा रहेको सशस्त्र समूह 'पिपल्स डिफेन्स फोर्स (पीडीएफ)' ले भिक्षुहरुको हत्या गरिरहेको भन्दै प्रचार सरकारी मिडियाबाट भइरहेको छ। यसरी सैन्य सरकारले 'बुद्धिस्त सेन्टिमेन्ट' बटुल्न बौद्ध धर्मवालम्बीहरुलाई 'आतंकवादी समूह'ले जानीजानी निशाना बनाइरहेको भन्दै प्रचारप्रसार गरिरहेको छ। 'कू'पछि सैनिक नियन्त्रणमा रहेकी आङ सान सूचीलाई पनि सेनाले 'बौद्ध धर्मको अपर्याप्त समर्थन' गर्ने व्यक्तिको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

यसको उद्देश्य सूचीको उनको प्रतिबन्धित पार्टीबाट जनताको समर्थन हटाउनु भएको होर्से बताउँछन्। सेनाले सूचीको पार्टीको सरकार रहेको बेला म्यानमारमा बुद्ध भक्तहरु निकै दु:खित् भएको देखाउन समेत खोजिरहेको उनको दाबी छ।

सेनाको यही 'पोपागान्डा'लाई म्यानमारकै 'हार्डलाइनर' भिक्षु र बौद्ध संघहरुको समर्थन छ।

तर, सरकारको विरुद्धको आन्दोलनमा रहेका केही भिक्षुहरु भने जनता मारेर शासन गर्नेको समर्थनमा नरहने बताइरहेका छन्।

'सडकमा हामीले प्रतिकार गरे उनीहरुले गोली चलाउने छन्। भाग्य नभए हामी पक्राउ पर्नेछौं। यो बौद्ध धर्मवालम्बीले गर्ने काम होइन। त्यसैले हामी प्रदर्शन जारी राख्छौं,' अग्गा वान्थाले भने।

अलजजिराबाट भावनुवाद। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell