PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

गण्डकीका कानुन मन्त्रीकै अगाडि नै वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुखमाथि हातपात



रिना थापा

गण्डकीका कानुन मन्त्रीकै अगाडि नै वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुखमाथि हातपात

पोखरा : गण्डकी प्रदेशको वन वातावरण तथा जनसंख्या मन्त्रालय अन्तर्गत पर्ने वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख रामकाजी श्रेष्ठमाथि हातपात भएको छ।

टोलको ढलानको सामान्य विषयमा विवाद हुँदा बुद्ध मार्ग टोल विकास समितीका कोषाध्यक्ष नारायण श्रेष्ठले रामकाजीमाथि हातपात गरेका हुन्। रामकाजी सोही टोलका स्थानीय बासिन्दा हुन्।

श्रेष्ठले प्रदेशका कानुन मन्त्री विन्दु कुमार थापाकै अगाडि रामकाजी माथी हातपात गरेका हुन्। श्रेष्ठले हातपात गरेपछि मन्त्री थापा सो स्थानबाट निस्किएका थिए।

रामकाजीले मन्त्री थापालाई ढलान गरेको लेभल नमिलेको भन्दै गुनासो गरिरहेका थिए। कुराकानी चल्दै गर्दा टोल विकास समितिका कोषाध्यक्ष मन्त्री र रामकाजीको बिचमा गएर उभिएका थिए।

रामकाजीका अनुसार मन्त्री थापालाई ढलान बारे गुनासो गरेपछि श्रेष्ठले उनीमाथी हातपात गरेका हुन्।

'ढलानको लेभल मिलेन केही ठाउँमा बिग्रेको छ भनेर सुनाउँदै गर्दा उहाँ आएर 'तँ , तँ' गर्दै जान्ने हुन्ने भन्दै हान्नुभयो। कानुन मन्त्रीकै अघि कानुनको वास्ता भएन,' उनले भने ।

आफुमाथि हातपात भइसकेपछि मन्त्री थापा लुसुक्क हिँडेको भन्दै रामकाजीले गुनासो पनि पोखेका छन्। उनले भोलि प्रहरीमा उजुरी दिने तयारी समेत गरेका छन्। आजको घटना बारे भने उनले प्रहरीमा खबर गरिसकेको बताए। 

यता, कोषाध्यक्ष श्रेष्ठले भने झगडाको सुरुवात रामकाजीबाटै भएकाले बताए। उनले हातपात गरेको भने स्वीकारे।

'टोलको कोषाध्यक्ष भएपछि मैले मन्त्री सामु बिर्फिङ गर्दै थिएँ। उसले पहिल्यैदेखि काम मिलेन भन्दै दुईतीन घण्टादेखी काम रोकेको थियो त्यसपछि मात्र धकेलेको हो,' श्रेष्ठले भने।

पोखरा महानगरपालिका वडा ८ मा रहेको बुद्ध मार्ग बाटो ढलान गर्नका लागि महानगरबाट २५ लाख बजेट परेको थियो। सोही मार्गमा अघिल्लो वर्ष सांसद विकास कोषबाटपनि नालाका लागि २५ लाख बजेट परेको थियो। ४२० मिटर सडकमा ढलान गर्न बजेट परेको हो।

बाटो ढलान कार्य आज बिहानदेखी सुरु भएको थियो। प्रदेशका कानुन मन्त्री विन्दुकुमार थापा व्यक्तिगत कामका लागि सोही स्थान पुगेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell