PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मती सरकारद्वारा रक्त सञ्चार कार्यविधि स्विकृत : अब विपन्न बिरामीले रगत लिँदा कुनै शुल्क नलाग्ने



निशा गुरुङ

वाग्मती सरकारद्वारा रक्त सञ्चार कार्यविधि स्विकृत : अब विपन्न बिरामीले रगत लिँदा कुनै शुल्क नलाग्ने

हेटौंडा : वाग्मती प्रदेशमा उपचारका क्रममा अब विपन्न नागरिकले रगत लिँदा कुनै शुल्क तिर्नु नपर्ने भएको छ। वाग्मती प्रदेश सरकारको सोमवारको मन्त्रिपरिषद् बैठकबाट ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ पारित भएसँगै रगतमा कुनै शुल्क नलाग्ने भएको हो।

रगतका लागि विपन्न वर्गका बिरामीले ब्लड ब्याग, परीक्षणलगायत शीर्षकमा  शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउन यो कार्यविधि ल्याएको वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए।

'कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। अब राजपत्रमा छिट्टै प्रकाशन हुनेछ,' मन्त्री लामाले भने, 'यो कार्यविधिवबाट विपन्न वर्गले रगतमा भोग्दै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ।'

एक जना विपन्न नागरिकले एक आर्थिक वर्षमा बढीमा १० वटासम्म ब्लड ब्याग सेट र रक्तपरिक्षणसहित रक्तसंचार सेवा निःशुल्क पाउने कार्यविधिमा उल्लेख छ। डायलासिस गराईरहनु पर्नेजस्ता बिरामीका लागि रगत तथा रक्ततत्वसहित बढीमा १० वटासम्म थप ब्लड व्याग सेट र रक्त परिक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त हुने कार्यविधिमा उल्लेख छ। कार्यविधिमा दुर्घटना, विपद लगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने उल्लेख छ।

यस्तो सेवा लिनका लागि केही आधार भने चाहिने वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कार्यविधिमै यसबारे प्रष्ट पारिएको मन्त्रालयले जनायो। कार्यविधि अनुसार रक्तसंचार सेला लिँदा रक्तसंचार सेवा प्रदायक संस्थामा विपन्न भएको स्वःघोषणा पत्र वा विपन्न परिचय पत्र, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसंचारसहित उपचार गराइरहेको वा उपचार गर्ने अस्पतालको सिफारिस पत्रको प्रतिलिपि उपलव्ध गराउनुपर्ने छ। दुर्घटना, विपद् लगायतका आकस्मिक अवस्थाका व्यक्तिको हकमा उपचारका लागि खटिएका चिकित्सकको सिफारिस आवश्यक पर्दछ।

बिरामीले लिने रक्तसञ्चारसम्बन्धी सेवाको शोध भर्ना स्वास्थ्य मन्त्रालयले गर्ने गरी कार्यविधि तयार पारिएको मन्त्री लामाले बताए। 'मानवतासँग जोडिएको कुरा भएकोले मन्त्रिपरिषद्ले पनि चाँडै पास गरिदिएको छ,' मन्त्री लामाले भने, ‘अब यस कार्यविधिबाट विपन्न नागरिक र आकस्मिक उपचारमा रक्तसञ्चार सेवा निःशुल्क गर्दा रकम अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुनुपर्ने अवस्थाका नागरिक लाभान्वित हुनेछन्।’

वाग्मती प्रदेशसभामा प्रदेश सांसद नरोत्तम वैद्यले यसबारे दुई वर्ष अघिदेखि निरन्तर आवाज उठाउँदै आएका थिए। सरकारको यो निर्णयसँगै वाग्मती प्रदेशका बीर, पाटन जस्ता व्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाइटीमा रहेको ब्लड बैंकबाट निःशुल्क रक्त संचार सेवा उपलव्ध हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell